|
कामिनी राजभण्डारी

काठमाडौं : मन्त्रिपरिषद्को मंगलबार राति बसेको बैठकले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

राजभण्डारीलाई यसअघि सरकारले स्पष्टीकरण समेत सोधेको थियो भने उनलाई टेलिकम सुधारका कार्ययोजना प्रस्तुत गर्न भनेको थियो। जसबाट प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट नभएपछि उनी पदबाट बर्खास्त गरिएकी हुन्। उनलाई यसअघि विभिन्न प्रश्नावली दिएर जवाफ माग गरिएको थियो।

मन्त्री बाँस्कोटाले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा. डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा. शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोक्नुका साथै मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ।

साथै बैठकले बोनस (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.