यो उडानको सुरक्षित अवतरण हुन्छ : प्रचण्ड

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र यसको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले मौरीले झैँ उडान भरिरहेको दाबी गरेका छन्। उनले यस उडानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै ओलीले नेकपा नेतृत्वको सरकारको उडान सुशासन र विकासको उडान भएको बताएका छन्। उनले यसलाई मौरीको जस्तै उडानको उपमा दिएका थिए।

पार्टी प्रवेश गर्नेहरूलाई सम्बोधन गर्दै ओलीले भने, 'हामी सुशासनतर्फको, विकासतर्फको उडान गर्न लागेका छौँ।' ओलीले थपे, 'उड्न त उड्ने हो तर जसरी पनि उडेर हुँदैन, मौरीका साथमा लाग्यो भने फूलमा पुगिन्छ। झिँगाका साथमा लाग्यो भने फोहोरको डंगुरमा पुगिन्छ। तपाईहरू मौरीका साथमा लाग्नुभएको छ फूलमै पुग्नुहुन्छ।'

ओलीले अब नेकपा केही अघिको भन्दा थप बलियो र शक्तिशाली भएको बताए। उनले युवाहरूको पार्टी प्रवेशले आफू र पार्टी उत्साहित भएको र पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूलाई सही दिशामा लैजाने बताए। उनले युवाहरूको प्रवेशले पार्टी गतिशिल भएको आफूलाई लागेको बताए। उनले नेपाली कांग्रेसलाई बलियो बनाउने र स्थापित गर्ने गणेशमान सिंहले र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा छोड्न बाध्य पारिएकाले युवाहरूको उक्त पार्टीमा भविष्य र सही उडान भर्ने नेतृत्व नभएको बताए। उनले युवाहरू कांग्रेस छोडेर नेकपा प्रवेश गर्नु सही छनोट भएको बताए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेकपा लोकतन्त्र र राष्ट्रियताको रक्षा तथा भौगोलिक अखण्डताका एवं सामुदायिक सद्भाव कायम गरेर सबैलाई अधिकार सम्पन्न बनाउन लाग्ने बताए।

कांग्रेसले भ्रम छर्‍यो

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन्। उनले कांग्रेसलाई झूठको खेती नगर्न र जनतालाई भ्रममा नपार्न आग्रह गरेका छन्।

यसअघिको संसदले निर्माण गरेको अपराध संहिता, जुन भदौ १ गतेदेखि लागु हुँदैछ, लाई लिएर नेपाली कांग्रेसले जनतामा भ्रम फैलाएको भन्दै आक्रोश व्यक्त गरे। उनले कानुन निर्माणमा आफ्नो पार्टीको मात्र सहभागिता नभएको बताए। उनले भने, 'कानुन निर्माणको सम्बन्धमा हल्ला गरेको छ, पोहोर बनेका कानुनका बारेमा अनेक भ्रम फिँजाएको छ।'

ओलीले भदौ १ गतेदेखि लागु हुने अपराध संहिता लगायतका नयाँ कानुनहरू अघिल्लो संसदमा कांग्रेसका सांसदहरूले छलफलमा सहभागी भएर पारित गरेको बताए। उनले अहिले त्यसको विरोध गरेर भ्रम फिजाइएको बताए। उनले भने, 'त्यो पास गर्नुमा जति नेकपाका सांसदहरूको हात छ त्यत्तिकै कांग्रेसको पनि हात छ।'

ओलीले भने, 'अस्पतालमा बिरामीको मृत्यु भयो भने डाक्टरलाई जेल हाल्ने कानुन ल्याइयो भनेर भ्रम फिजाएको छ।' उनले यस्ता भ्रम फैलाएर अन्योल सिर्जना गर्न खोजिएको बताए। उनले नेकपा र सरकार यस्ता भ्रम चिरेर अगाडि बढ्ने बताए।

नयाँ कानुनलाई लिएर डाक्टहरूले भदौ १ गतेदेखि बिरामी नजाच्ने घोषणा गरेका छन्। नयाँ कानुनलाई लिएर सार्वजनिक रुपमा विभिन्न टिकाटिप्पणी भएपछि प्रधानमन्त्री ओलीलको यो अभिव्यक्ति आएको हो।

यो उडानको सुरक्षित अवतरण हुन्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र वर्तमान सरकार देशको आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको बताएका छन्। उनले नयाँ संकल्पसहित समृद्धिको सपना देखेर नेकपा नेतत्वको दुई तिहाईको सरकार अगाडि बढेको बताए।

उनले भने, 'अहिले हामी समृद्धिको उडान भर्दैछौँ, यो अझै उडिसकेको छैन। उड्ने तयारीमा छ, तपाईहरू ढुक्क हुनुस्, यो उड्छ र सुरक्षित ढंगले अवतरण गर्छ।'

उनले नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश सही समय र सही निर्णय भएको बताए। उनले कांग्रेसको किल्ला मानिएको ओखलढुंगाबाट अधिकांश युवाहरू नेकपा प्रवेश गर्नु उक्त इतिहासलाई कम्युनिस्ट आन्दोलनसँग जोड्नु भएको बताए।

उनले भने, 'झापा र रोल्पालाई नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिकको रुपमा लिएका छौँ। रोल्पा र झापा दुवै कम्युनिस्ट आन्दोलन, सामाजिक न्यायको आन्दोलन थिए र ती अहिले एकतावद्ध भएर नयाँ इतिहास तय गर्ने लक्ष्यमा छन्।' उनले थपे, 'कांग्रेसको इतिहास ओखलढुंगाबाट भएको थियो अहिले त्यो नेकपामा जोडिएको छ।' उनले कांग्रेसका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेर देशमा नयाँ सन्देश प्रवाह भएको बताए। सुशासन र समृद्धिको चाँजोपाँजो मिलाउने तयारीमा रहेको अवस्थामा युवाहरू पार्टी प्रवेश गर्नुले देशभर भ्रम फैलाउने शक्तिलाई नयाँ सन्देश भएको प्रचण्डको भनाइ थियो।

अध्यक्ष प्रचण्डले समृद्धिको दिशामा मुलुक अगाडि बढेको बेलामा देशभित्रका र विदेशी शक्तिहरू त्यसलाई असफलता पार्नका लागि लागिपरेको बताए। उनले ती प्रयासहरू असफल पार्न सबै मिलेर अगाडि बढ्नुपर्ने र मुलुकलाई अगाडि बढाउनुपर्ने बताए।

नेकपाको मुख्यालय धुम्बराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा मुख्यतः ओखलढुंगाबाट नेपाली कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। त्यस्तै, काठमाडौं र ललितपुरबाट विभिन्न व्यक्तिहरू नेकपा प्रवेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.