|

एसियन खेलकुद प्रतियोगिता (एसियाड)को १८औँ  संस्करणमा नेपाली फुटबल टोलीलाई अाइतबार आफ्नो खराब रेकर्ड सुधार्ने अन्तिम मौका रहेको छ। जारी संस्करणमा लगातार दुई हार ब्यहोरेको नेपाल समूह ‘डी’को अन्तिम चरणको खेलमा पाकिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दैछ। त्यस्तै, अन्य खेलमा नेपालले आइतबार तेक्वान्दो, कुस्ती, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्ने अफिसियल रीम रानाभाटले जानकारी दिएका छन्। 

गोलको मौका 

विपक्षी पोस्टमा पहिलो सहभागितापछि गोलविहीन रहेको नेपाली फुटबल टिमले उक्त खडेरी टार्न पाकिस्तानविरुद्ध मैदान उत्रिँदै छ। सन् १९८२ को नवौं एसियाडमा भारतको नयाँ दिल्लीमा कुवेतविरुद्ध एक गोल गरेयता नेपालले एसियाडमा गोल गर्न सकेको छैन। त्यसैले गोल र जित दुबै उपलब्धि एकै पटक प्राप्त गर्न अाइतबारको खेललाई राम्रो मौकाका रुपमा पनि हेरिएको छ।

अघिल्लो चरण अपेक्षा

यसपटक छ समूहबाट उत्कृष्ट तेस्रो बन्ने चार टिमले अघिल्लो चरणमा मौका बनाउन सक्ने भएकाले नेपालको सम्भावना कायम छ। पहिलो दुई खेलमा जापानसँग १–० तथा भियतनामसँग २–० को हार बेहोरेको नेपालको अघिल्लो चरण गणितीय सम्भावनालाई यथार्थमा परिणत गर्न पाकिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्ने छ। समूहबाट जापान र भियतनामले अर्को चरण स्थान पक्का गरिसकेका छन्। उनीहरुबीचको प्रतिष्पर्धा भने समूह विजेताका लागि हुने छ। 

एसियाडमा नेपाली फुटबल टिमको नतिजा

सन् १९८२, नयाँ दिल्ली : इराक ३–०, बर्मा ३–०, कुबेत ३–१

सन् १९८६, सोल : जापान ५–०, कुवेत ५–०, बंगलादेश १–०, इरान ६–०

सन् १९९४, हिरोसिमा : दक्षिण कोरिया ११–०, कुवेत ८–०, ओमान १–०

सन् १९९८, बैंकक : जापान ५–०, भारत १–०

सन् २०१४, इन्चोन : इराक ४–०, कुवेत ४–०, जापान ५–०

सन् २०१८, जाकर्ता : जापान १–०, भियतनाम २–०

आजका खेल

एसियाडअन्तर्गत आइतबारदेखि विभिन्न खेल सुरु हुँदै छन्। प्रतियोगिताको दोस्रो दिन नेपाली ब्याडमिन्टन टोलीले पाकिस्तानको सामना गर्दैछ। महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। यस इभेन्टमा चीन, चाइनिज ताइपेइ तथा भारतले सीधै क्वार्टरफाइनल स्थान सुरक्षित गरिसकेका छन्। यी चारै राष्ट्रले बाई पाएका हुन्। पुरुष टिम इभेन्टमा १३ राष्ट्रले भाग लिएका छन्। प्रतियोगितामा नेपाली टिम इभेन्ट् दशौँ वरियतामा छ।

नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन्। यस्तै, महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ। नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन्। फेन्सिङतर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन्।

यस्तै, पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.