|

कैलाली : व्यक्ति एक, व्यक्तित्व अनेकका रूपमा चिनिन्छन् प्रदेश ७ का सभामुख अर्जुनबहादुर थपा। एक दशक ग्रामीण विद्यालयमा ‘हेड’सर रहेका थापा अहिले प्रदेश ७ को प्रदेशसभाको 'हेड' भएका छन्। अहिले सभामुख थापाको चिनारी सभामुखमा सीमित छैन। उनी कुशल लेखकका रूपमा पनि परिचित छन्। बाल्यकालदेखि नै नाटक लेखन र मंचनमा लागेका थापा राजनीतिमा प्रवेश गरेपछि लेखनमा प्रवेश गरेका हुन्। 

लेखन सुरुवात

२०५६ सालको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभामा २८१ मतले पराजित भए थापा। त्यसपछि उनलाई शिक्षा विभागको जिम्मेवारी दियो तत्कालीन नेकपा एमालेको जिल्ला कमिटीले। नेता, कार्यकर्तालाई प्रशिक्षण दिन उनी गाउँगाउँसम्म पुग्थे।  कुन विषयमा कार्यकर्तालाई जानकारी गराउने भन्नेबारे कुनै सामग्री थिएन। उनले त्यो बेला सोचे, अब आफैँ सामग्री बनाउँछु। त्यसपछि सुरु भयो थापाको लेखन यात्रा

थापाले त्योभन्दा अघि पनि पुस्तकको पाण्डुलिपि तयार गरिसकेका थिए। प्रकाशन भने गरेका थिएनन्। तर २०५६ सालपछि पुस्तक नछापी नहुने भयो। ‘प्रशिक्षण दिँदै गर्दा सैद्धान्तिक पक्षहरूका विषयमा धेरै कुराहरू भए, मैले पटक पटक एउटै कुरा भनिरहनु भन्दा लेखेर वितरण गर्छु भन्ने सोचेँ, लेख्न थालेँ, लेख्दालेख्दै पुस्तक तयार भयो’, थापाले भने।

थापाले २०६० सालमा 'कम्युनिस्ट आन्दोलनको एक झलक (विश्व–नेपाल –बझाङ)' प्रकाशन गरे। पुस्तकमा उनले विश्व परिवेशमा रहेको कम्युनिस्ट आन्दोलनलाई नेपालसँग तुलना गर्दै समीक्षा गरेका छन्। लेखन सुरु गरेको तीन वर्षमा पुस्तक तयार गरेको उनी बताउँछन्। ‘एक वर्ष मलाई लेख्न लाग्यो, त्यति नै समय फेरि आफैँले हेरेँ, पाण्डुलिपि नेता भीम रावललाई पठाएँ। उहाँले तीन महिनापछि केही सुधार गरेर मलाई पठाइदिनुभयो अनि प्रकाशन गरेँ’, थापाले भने।

पहिलो पुस्तक प्रकाशनको नौ वर्षपछि थापाले दोस्रो पुस्तक प्रकाशन गरेका हुन्। २०६९ सालमा उनले ‘मार्क्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद’ पुस्तक प्रकाशन गरे। 

‘तत्कालीन माओवादी जनयुद्धमा मलाई १० दिन अपहरण गरे। त्यही बेला मैले माओवादी नीतिलाई नजिकबाट चिन्न पाएँ। माओवादीको मार्क्सवाद र एमालेको जनताको बहुदलीय जनवादबीचको अन्तरसम्बन्ध प्रष्ट हुने गरी अर्काे पुस्तक लेख्न मन लाग्यो’, थापाले दोस्रो पुस्तक लेखनीको कारण कोट्याउँदै भने, ‘मैले मार्क्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवादनै हो भनेर पुष्टि गरेँ।’

तत्कालीन नेकपा एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवादमा रहेका भिन्नता २० बुँदामा उल्लेख गरेका छन् उनले। सभामुख थापाले भने, ‘मैले १५ वर्षअघि लेखेको कुरा आज चरितार्थ भयो।’

नामको खोजीमा नयाँ पुस्तक

२०७१ भदौ ५ गते काठमाडौंमा तीज हेरिरहेका थापालाई नयाँ विषयमा पुस्तक निकाल्ने सोच पलायो। राजनीतिको विषयमा मात्रै किताब लेखेका उनलाई सामाजिक स्थिति, साँस्कृतिक बेथिति, आर्थिक र शैक्षिक स्थितिबारे कलम चलाउन मन लाग्यो। तर ठाउँ, पात्र र परिवेश छनोट गर्न कठिन भयो उनलाई। 

‘नयाँ विषयमा लेख्नुपर्छ भन्ने लाग्यो तर कुन विषय उठान गर्ने भन्नेबारे अन्योलमै थिएँ। धेरै समयपछि उपाय आयो, आफ्नै बारेमा लेख्न मन लायो’, थापाले मुस्कुराउँदै भने। उनलाई आफ्नो तीन वर्षको उमेरदेखिका अधिकांश घटनाक्रम याद थिए। त्यही अनुभूति र भोगाइलाई थापाले पुस्तकमा उतारे। ‘मैले जे देखेँ, जे भोगेँ, त्यही लेखेँ, पुस्तक बन्यो’, थापाले भने।

उनी पुस्तकको नाम ‘जीवनको ऐना’ वा ‘जे देखेँ, त्यही लेखेँ’मध्ये एउटा राख्ने बताउँछन्। ‘मैले पुस्तक लेखिरहँदा सांसद भएँ। अहिले सभामुख भएको छु। त्यसलाई पनि पुस्तकमा समेट्नुपर्‍यो’, थापाले भने, ‘सबै विषय समेट्दा समय पनि लागिरहेको छ।’

नयाँ पुस्तक ग्रामीण क्षेत्रको विकासको गतिसँगै जीवन र जगतसँग सम्बन्धित भएको थापाले बताए। तर पुस्तकको नाम के राख्ने भन्नेबारे उनी अझै अन्योलमै छन्। ‘हामीले रूखमुनि बसेर बढ्यौँ, अनेक दु:ख झेल्यौँ, यी सबै पुस्तकमा समेटेको छु’, पाण्डुलिपि देखाउँदै बेलिविस्तार लगाए उनले। अहिलेको पुस्तालाई त्यो बेलाको शिक्षा नीति कस्तो थियो भन्नेबारे पनि जानकारी हुने गरी पुस्तक प्रकाशनको तयारी गरिरहेको उनी बताउँछन्। 

उनी पुस्तकको नाम ‘जीवनको ऐना’ वा ‘जे देखेँ, त्यही लेखेँ’मध्ये एउटा राख्ने बताउँछन्। ‘मैले पुस्तक लेखिरहँदा सांसद भएँ। अहिले सभामुख भएको छु। त्यसलाई पनि पुस्तकमा समेट्नुपर्‍यो’, थापाले भने, ‘सबै विषय समेट्दा समय पनि लागिरहेको छ।’

सभामुख थापालाई प्रदेश ७ को स्थायी राजधानी र प्रदेशको नाम सर्वसम्मतिबाट राख्न पाए हुन्थ्यो भन्ने छ। उनी भन्छन्, ‘प्रदेशको राजधानी र नाममा विवाद नहोस्, यदि त्यस्तो भयो भने यो विषय पुस्तकको सबैभन्दा बढी रोचक प्रसंग बन्नेछ।’

‘खप्तड एक चिनारी’ प्रकाशनको तयारी

सभामुख अर्जुनबहादुर थापाले २०४५ सालमा प्रदेश ७ को प्रमुख पर्यटकीय क्षेत्र खप्तडको विषयमा लेखेका थिए तर बजारमा भने त्यो आएको छैन। त्यो बेला खप्तडको चर्चा कम भएकाले यस्तो विषयमा रुचि पनि कम होला भन्ने ठानेर उनले प्रकाशन गरेनन्। पुस्तकको नामसमेत राखिएको छ- ‘खप्तड : एक चिनारी’। 

‘सबैभन्दा पहिले खप्तडको महिमा बाहिर ल्याउने म नै थिएँ होला तर त्यो बेला पुस्तक बजारमा ल्याइनँ। अब ल्याउने योजनामा छु’, थापाले भने। खप्तडबाबासँगै खप्तडमा दुई दिनसम्म बसेर उनले महत्त्वपूर्ण कुरा समेटेका छन्, आफ्नो पाण्डुलिपिमा। ‘त्यो बेला खप्तडको बारेमा धरै चासो थिएन, प्रकाशन गरिनँ, अहिले सबैले खप्तडको चर्चा गर्छन्, म पनि पुस्तक प्रकाशनका लागि तयार भएको छु’, थापाले भने।

युवा अवस्थामा थुप्रै नाटक लेखेका थापाले नाटक लेखनीलाई चाहिँ अघि बढाउन सकेनन्। ‘२०२८ सालदेखि नाटक लेखन सुरु गरेको हुँ तर कहिल्यै त्यसलाई संरक्षण गर्न सकिनँ’, थापाले दुखेसो पोखे। उनले पहिलो र दोस्रो जनआन्दोलनमा पनि थुप्रै नाटक प्रदर्शन गरेका थिए। 

सभामुख थापा समय मिलाएर लेखन कार्यलाई अझै अघि बढाउने योजनामा छन्। उनी भन्छन्, ‘राजनीतिसँगै लेखनलाई पनि अगाडि बढाउने सोचमा छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.