|

काभ्रेपलाञ्चोक : प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

‘जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ’, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भने, ‘फेरि भोलिबाट म्याद थप गरी अनुसन्धानको लागि थप प्रक्रिया अगाडि बढ्नेछ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले २०७५ बैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनीमा संलग्न रहेको पाइएका कारण पक्राउ गरिएको बताए।

चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका- ६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएको हो।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका- २० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला नीलकण्ठ नगरपालिका- ३ का मोहन कार्की (जीवन्त)लाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.