|

काठमाडौंः सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै छानवीन गर्ने भएको छ।

सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई सहयोग नगरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै उनीहरुलाई छानवीन गरी कार्वाही गर्न मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई निर्देशन दिए।

व्यापारी र सरकारी अनुगमन टोलीबीच विवाद भएपछि तरकारी बजारमा आफैं पुग्नु भएका मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई तरकारी बजार अनुगमनको काम नगरेर के हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरे।

उनले  बजार समितिका पदाधिकारीहरुले बिचौलियासँग मिलेर उपभोक्ता मारमा पार्ने काम गरेको भन्दै कार्यकारी निर्देशक पौडेललाई विलविजकबिना नै जथाभावी रुपमा किन तरकारी आयात गर्ने काम गरिएको भनि प्रश्न समेत गरे।

कालिमाटीस्थित तरकारी बजारमा तनाव बढेपछिमन्त्री यादव आफै बजारमा पुगेका हुन्। त्यसक्रममा उनले बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिएका थिए। विहान तरकारी अनुगमनको लागि पुगेको सरकारी टोलीलाई विचौलिया र व्यापारीहरुले बजार विकास समितिको भवनमा थुनेका थिए। त्यसलगत्तै बाक्लो मात्रामा प्रहरी परिचालन गरिएपछि मात्रै व्यापारीले अनुगमन टोलीलाई बाहिर निस्कन दिएका थिए।

अनुगमनको क्रममा बिल विजक नभएका दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको छ। अनुगमनकर्तालाई धम्की दिने दुई जना व्यापारीलाई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया पनि सुरु गरिएको छ। अनुगमन टोलीलाई धम्क्याउने विचौलियाको नेतृत्व गर्ने कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहित २ जना पक्राउ परेका हुन्।

सरकारले उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भेटिएपछि सो तरकारी बजारलाई कडा निगरानीमा राखेको छ। मन्त्री यादवले बिलविजक विनाको कुनै पनि सामान बजारभित्र प्रवेशमा रोक लगाउन पनि बजार विकास समितिलाई सचेत गराए। उनले उपभोक्तामाथि ठगी गर्नेहरुलाई सरकारले नियन्त्रणमा लिएर कडा कार्वाही गर्ने चेतावनी पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.