|

कञ्चनपुर : भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि प्रदर्शन जारी रहेको छ।

भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन्। स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन्।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ। अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनकारीले चर्को नाराबाजी गरिरहेका छन्।

यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ। हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी खटाइएको प्रहरीका एक अधिकृतको भनाइ रहेको छ। बालिका पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ। भीमदत्तनगर बजारमा मात्रै सीमित प्रदर्शन आज कञ्चनपुरका अन्य क्षेत्रमा समेत शुरु भएको छ। गत साउन १० गते साथीको घरबाट फर्किने क्रममा निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा शव उखुबारीमा फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.