|

काठमाडौं : हाकिमको टेबलमा फोनको घण्टी बज्छ। फोन गर्ने मानिसले आफूलाई खोजेको होइन भन्ने पत्तो पाएपछि हाकिमले हाकिमी लबजमा सोध्छन्- ‘कसलाई खोज्नुभयो?’ उताबाट एउटा कडा स्वर आउँछ- ‘भिखारीलाई खोजेको!’

‘तपाईं को बोल्नुभयो?’, हाकिम बोल्छन्।

‘म पागल बोलेको!’, उताबाट आवाज आयो।

यति हुँदा हाकिम जस्तो मान्छे रिसाउनुपर्थ्यो तर उनको रिस धिमा रहेछ। रिसाउन सकेनन् र हाँस्न थाले। आफ्ना मातहतका कर्मचारीलाई संवाद सुनाउन लागे। कार्यालयमा हल्लिखल्ली भयो- ‘पागलले भिखारीलाई खोज्दै छ।’ कवि बद्री भिखारीले थाहा पाए- ‘मेरो फोन आएछ।’ उनले पागलसँग गफ गरे अर्थात् कवि उपेन्द्र पागल, जो अहिले प्राज्ञ छन्।

२०३६/०३७ सालसम्म यी कवि 'भिखारी' बनिसकेका थिएनन्। उनी धनकुटा पाख्रिबासको छोटी हुलाकमा जागिरे थिए। सपनाको हाँगा पलाउँदै थियो। मनमा काउकुती चल्ने उमेर चलिरहेको थियो। उनको आँखामा एक सुन्दरी आएर बसिन्। आँखाको बाटो हुँदै मनमा पसिन र चकचक गर्न थालिन्। सुन्दरी गुलाब बनिन्। गुराँस बनिन्। कविले देख्ने संसारकै अद्भुत सुन्दर दृश्य बनिन्। समाज फुक्काफाल थिएन। ओठ होइन, आँखाले बात गर्ने जुग थियो। कहिलेकाहीँ बाटो दोबाटोमा भेट हुँदा दुवैको आँखा बोल्थ्यो। मुटु एउटै लयमा धड्कन्थ्यो। कवि बद्रीलाई लाग्थ्यो- म मदन हुँ, ऊ मुना हो।

उनलाई लागेजस्तै साँच्चिकै ऊ मुना भई। गंगामा बगिरहेकी फूलको थुंगा भई। आकाशमा टिलपिलाइरहेकी तारा भई। जून भई। देउती भई। आफ्नी भइन। अभागी बद्री साँच्चिकै मदन भए।

उनी आफ्नो प्रेम प्रस‌ंग निकाल्छन्। वियोगको डोज यति खतरनाक भयो कि उनी बेहोसीमै लगातार चौबीस कोस पैदल हिँडे। पीडा भुलाउन खोजे तर कहाँ भुल्नु! उनी बिरामी भए। अस्पताल भर्ना हुने अवस्थामा पुगे।

पछि बिराम त निको भयो तर बद्री ‘पोख्रेल’बाट ‘भिखारी’ भए।

प्रेमको आयु कति हुन्छ?

भिखारीलाई सोधे थाहा हुन्छ। अहिले पनि पहिलो प्रेम सम्झेर भावुक हुन्छन् उनी। 

२०३७ मा उनले पहिलो पल्ट सार्वजानिक ठाउँमा कविता सुनाए। त्यो पनि रमेश विकलको घर आरुबारी काठमाडौं पुगेर। त्यहाँ भेला भएका ठूला कविले उनका कविता मनपराए। इमान्दारी साथ तारिफ गरे। कलममा ऊर्जा भरिदिए। मनमा जाँगर थपिदिए। उनले थाहा पाए, 'मेरो कवितामा दम छ। मैले कविता लेख्नुपर्छ। आफूलाई बाहिर ल्याउनुपर्छ।’ फलस्वरूप एउटा लजालु प्रेमी प्रेमको भीख माग्दामाग्दै कवि भयो।

२०४३ सालमा सिर्जनशील साहित्यिक समाजले आयोजाना गरेको कवि गोष्ठीमा भाग लिन काठमाडौं आइपुगे उनी। त्यहाँ पनि कलमको टुप्पोमा बल पुग्ने गरी हिम्मत पाए। उनी विराटनगर फर्किए। कविता सुनाउन थाले। लेख्न थाले। गोष्ठी सभा समारोहामा उनका कविता मनपराउने मान्छे बढ्दै गए। कविताप्रति उनको लगावले उचाइ लिँदै गयो। एक दिन उनको कवितासंग्रह बजारमा आयो- ‘माडसाबको झोला' (२०५६)। तर त्यसपछि उनले अचानक कविता लेख्न छाडिदिए। कसरी उनको कविताप्रति मोहभंग भयो?

आकारसहितको उत्तर उनीसँग छैन। ‘राम्रो लेख्न सकिनँ। उचित सम्पादन गर्न सकिनँ भन्ने आभास भयो। नराम्रो लेख्नुभन्दा लेख्दै नलेख्नु राम्रो’, उनको स्वरमा कडापन देखियो।

कविता लेखनलाई उनले रोके पनि उनका कविताको स्वाद चाख्ने पाठकले कविताको क्षेत्रबाट पर उनलाई भाग्न दिएनन्। समातेर कविताको पथमा ल्याई छाडे। उनी हल्का मुस्कुराउँदै भन्छन्, 'मलाई मनपराउने पाठक देखेर चकित भएँ। कविताको बाटोमा पुन: फर्काउन वरिष्ठ कवि कृष्णभूषण बलको ठूलो हात छ।' बलले उनको सुतेको कलम उठाए। मनमा ऊर्जा थपिदिए। ‘तिमी राम्रो कवि हौ, किन लेख्न छाड्यौ?’ भनेर केरकार गरेपछि भिखारी फेरि कवि र कविताको दुनियाँमा सकुशल फिर्ता आए।

‘कविता लेख्न छाडेको समय कविताले दिने आनन्दचाहिँ कुन तत्त्वले पूर्ति गर्‍यो त?’ भन्ने प्रश्नमा उनी निकै बेर गमे। भने, ‘मैले कविता अक्षरमा मात्र लेख्न छाडेको थिएँ, मनमा लेख्न छाडेको थिइनँ। मनमा लेख्थेँ र मनमै मेट्थेँ। मनमनै मैले आनन्द लिइरहेको थिएँ।’

उनी राजधानीवाद मनपराउँदैनन्। राजधानीको चाकरी गर्दैनन्। मौन र शान्त शैलीमा कविता वाचन गर्छन्। लेख्छन्। अबका दिनमा त झन् कुनै जरुरी छैन राजधानीवादको चाकरी गर्न। अब त सबैको आआफ्नै प्रदेश भयो। राजधानी भयो। सरकार भयो।

अहिले उनी कवितामा  शानदार तरिकाले जमिरहेका छन्। भर्खरै बजारमा आएको उनको कवितासंग्रह 'समुद्र–साउती'ले पाठकको मनमा सुमधुर साउती मारिरहेको छ। नेपाली कविताको क्षेत्रमा उनको यो कृतिले कस्तो प्रभाव जमाउला, त्यो समयले बताउनेछ तर किताबको जुन पन्ना पल्टाए पनि कविताले पाठकसँग प्रेमिल बात मार्न सक्ने कुरामा विश्वस्त छन् उनी। 

१७ वर्ष उनले हुलाकमा जागिर खाए। उसबेला हुलाक खबरको आधार थियो। हुलाक खबर बोक्ने भरिया थियो। जुग अर्कै थियो। अहिले जस्तो सामाजिक संजाल थिएन। ‘पत्र-मित्र’ नामको हुलाकी बाटो थियो- प्रेमका लागि, दु:ख बिसाउनका लागि, मनको बह पोख्नको लागि, मनका भावना साट्नका लागि। भारीका भारी हुलाकमा पत्र-मित्र गर्नेहरूको चिठ्ठी आउँथ्यो। कविलाई पनि पत्र-मित्र गर्ने रहर लाग्छ। उनले केटीको नामबाट पत्र-मित्र गर्न थाल्छन्। कवि न हुन्- भाषा खिप्न खप्पिस भइहाले। 

उनको लय मिलेको भाषाले केटाहरू 'फिदा' हुन्थे। ज्यान दिन्छुसम्म भन्न भ्याउँथे। उनी आफ्नो कर्तुत पर्दाफास गर्दै बोले, 'रमाइलोका लागि लेखेको पत्रले झमेलामा फसिएला जस्तो पो लाग्यो। गल्ती गरेँ भन्ने चेत आयो।' उनले आफूलाई स्वीकारे। गल्ती स्वीकार्दा सन्तुष्टि मिल्छ। उनले गल्ती स्वीकारबाट सन्तुष्टि लिए। लामो स्वास फेरे अनि बोले, 'अहिले ती चिठ्ठीहरू हराए तर खोज्न मनलाग्छ, साँच्चै के लेखेँ होला?'

वि.सं. २०१७ मा माम्खा ओखलढुंगामा जन्मेका यी कविको स्थायी बास इटहरी सुनसरीमा छ। कवि मनु मञ्जिल, देवान किराती, हेमन यात्री, रामजी तिम्सिना, सोनु जयन्तीलगायत अन्य कविसँग यिनी खुबै जमेका छन् त्यहाँ।

उनी राजधानीवाद मनपराउँदैनन्। राजधानीको चाकरी गर्दैनन्। मौन र शान्त शैलीमा कविता वाचन गर्छन्। लेख्छन्। अबका दिनमा त झन् कुनै जरुरी छैन राजधानीवादको चाकरी गर्न। अब त सबैको आआफ्नै प्रदेश भयो। राजधानी भयो। सरकार भयो।

कवि भिखारीको पनि आफ्नै प्रदेश छ। कवितामा राज्यमाथिको असन्तुष्टि सुन्ने उनको आफ्नै प्रदेश सरकार छ। 'समुद्र-साउती'भित्र ‘नागरिकता’ कविता छ, जसले नागरिकता कसलाई दियो र कसरी दियो? भन्ने कुरा कविताको भाषामा बोल्छ।

एउटा सरकारी जागिरेले नागरिताको बेथितिमाथि कविता लेख्नु चानचुने कुरा होइन। उनका कविताका अभिव्यक्ति पढ्दा लाग्छ, यिनी मुटु र हिम्मत भएका कवि हुन्। उसो त देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ। आफ्ना विचार राख्न पाइन्छ।

तर अफसोच!  देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भएर के गर्नु? मान्छेको चेतना र व्यवहारमा छैन भने। यही कविताको कारण उनका केही साथीले मुख बटारे। बोलचालको शैली फेरबदल गर्न थाले। उनले आफ्नो प्रिय नामबाट ‘भिखारी’ लुकाए र केही समय विशुद्ध जागिरे ‘बद्री पोख्रेल ’ बनेर हिँडे। तर कविमनले आफ्नो प्रिय नाम लुकाएर बाँच्न कति दिन सक्छ र!

२०७४ फागुन १ मा सर्वनाम थिएटरको ‘हामी कविता’मा उनले देशको राजधानी काठमाडौंलाई आफ्ना कविता सुनाए। उनका कविता सुन्ने कविताप्रेमीले उनलाई तालीको वर्षा दिएको दृश्य हेर्नलायकको थियो। कार्यक्रम यति भव्य र शानदार भयो कि कविता सुन्न आउने दर्शक श्रोताका हृदयमा कहिल्ये नमेटिने गरी बस्न सफल भएका थिए उनी। उनी भन्छन्, 'कविमा धैर्य चहिन्छ। इमान्दारी र मिहिनेत चाहिन्छ, जसले कविताको मर्म मर्न दिँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.