भन्छिन् : ओली मुसुमुसु हाँस्दा सेना छक्क

|

दमक : पंचायती व्यवस्थाको जगजगी भएका बेला झापामा अधिकांश प्रजातन्त्र पक्षधरमाथि धरपकड तीव्र भएको थियो। धेरैलाई वारेन्ट जारी भएको थियो। वामपन्थीहरूमध्ये धेरै भूमिगत नै थिए। त्यस बेला दमककी ईन्दिरा चापागाईंलाई पनि प्रशासनले पक्राउ गर्न भनी वारेन्ट जारी गरेको थियो। तर जनआन्दोलनको उभारले पंचायत कमजोर हुँदै गएको थियो। उनी केही समय लुकेर बसेपछि जनआन्दोलन सफल भयो अनि उनले ओडेको त्रासको घुम्टो पनि उघ्रियो।

अहिले उनको उमेरले आठ दशक नाघेको छ। जनआन्दोलनको संघारमा भूमिगत हुनुपर्दा पाँच दशक उमेर नाघेकी उनलाई केही महिनाको अवधि पनि वर्ष जस्तो लाग्यो। वि.सं. १९९३ मा पाँचथरको फिदिम नजिकैको चिलिङ्दिनमा बुबा प्रजापति र आमा अविमायाकी चारमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी उनी २०१० को दशकदेखि नै वामपन्थी राजनीतिमा लागेकी हुन्। शैशवकालमै परिवार इलाम बसाइँ सरेर आएपछि उनको बाल्यकाल त्यहीँ बित्यो। त्यहीँबाट उनमा उम्रिएको राजनीतिको बिरुवा पंचायतकाल सकिनै लाग्दासम्ममा झनै झांगिइसकेको थियो।

जब पंचायतकाल हट्यो, त्यससँगै सार्वजनिक भएका खड्गप्रसाद अोली अर्थात् केपी शर्मा ओलीको 'चार्म' झापामा बडो अनौठो थियो। ‘ठ्याक्कै मिति त याद छैन’, दमक- ५ स्थित आफ्नै निवासमा पानातिसँगै खेलिरहेकी उनले भनिन्, ‘तर दमकमा उहाँ आउने भएपछि हामीमा पंचायत हटेभन्दा बढी हर्ष थियो, हर्षभन्दा बढी उत्सुकता पनि थियो।’ झण्डै डेढ दशक लामो जेल जीवन बिताएको र झापा विद्रोहको अगुवा भएका कारण झापामा यति धेरै उत्सुकता थियो कि ओलीलाई अर्कै ग्रहबाट आएकोझैँ ठानिएको थियो। त्यो दिन स्मरण गर्दै उनले सुनाइन्, ‘ख्याउटे ज्यान भए पनि आत्मविश्वासी अनुहारमा मैले त्यसै बेला आशा र भरोसा देखेकी हुँ।’

मदन र ओलीसँग एकसाथ भेट

बहुदल आएपछि नागरिकले अधिक खोजेका नेता थिए मदन भण्डारी र केपी शर्मा ओली। मोहनचन्द्र अधिकारीहरू झापामा भएका सार्वजनिक कार्यक्रममा सहभागी भएपछि धेरैले भण्डारी र ओलीको प्रतीक्षा गरेका थिए। ‘दमकको पशुहाटमा भएको सभामा मदन भण्डारी पनि आउने भनिएपछि मान्छेले टेक्ने ठाउँ केही थिएन’, झण्डै तीन दशकअघिको दिन सम्झना गर्दै उनले भनिन्, ‘दुवै नेतालाई त्यहीँ भेटियो। पंचायतकालमा पार्टीको केन्द्रीय कमिटी बैठकसमेत हाम्रो घरमा  हुन्थ्यो। अष्टलक्ष्मी, अमृत बोहोरा, प्रदीप नेपाल, झलनाथहरू आउनुहुन्थ्यो। सायद उहाँहरूबाटै हाम्रो बारेमा सुन्नुभएको थियो क्यार!’ त्यही भेटमा सामान्य चिनजान भयो। धेरै गफ गर्ने अवस्था थिएन। ओली क्रमिक रूपमा केन्द्रीय राजनीतिमा क्रियाशील हुँदै गए। झापा आएको र बसेको बेला भेट भए पनि क्रमिक रूपमा उनको व्यस्तताका कारण भेट पातलिएको उनले बताइन्।

वर्सेनि टीका थाप्न घरमा

हाल दमक- ५ मा बसोबास गर्दै आएको उनको परिवार एक दशकअघिसम्म दमक- ६ मा थियो। त्यसअघि वडा- ९ मा। जेलबाट छुटेपछि हरेक वर्षजसो दशैँमा टीका थाप्न ओली चापागाईं निवास पुग्थे। वडा नं.- ६ मा बसाइँ सरेर आइन्जेल पनि उनी परिवारकै सदस्य जस्ता थिए। परिवारका जेठा छोराझैँ थियो सम्बन्ध। ‘दशैँमा आउनुहुन्थ्यो, सन्चो-विसन्चोको बारेमा कुरा हुन्थ्यो। धेरै विषय त पार्टी गतिविधिकै बारेमा हुन्थ्यो’, दशैंमा टीका लगाइदिएको सम्झँदै उनले भनिन्, ‘दुई साल त राधिकाजीसँगै आउनुभएको थियो। घरकै सदस्य जस्तो व्यवहार हुन्थ्यो। उहाँ आएपछि मानमनितोका लागि कुनै नयाँ चिज खोजेर ल्याउनुपर्ने थिएन। जे घरमा छ, खाइन्छ, त्यही दिइन्थ्यो। उहाँ पनि त्यसैमा खुसी हुनुहुन्थ्यो।’

बहुदलीय व्यवस्थापछिको निर्वाचनमा ओली झापाबाटै निर्वाचित भए। दमक ओलीको गृहनगर भयो। त्यसपछि ओली केन्द्रीय राजनीतिमा बढी क्रियाशील भए। नेकपा एमालेको २०५१ को सरकारमा गृहमन्त्री भएपछि भने उनी बढी राजधानीनै केन्द्रित रहे। त्यसपछि भने भेट पातलिएको हो। तर दमकमा हुने विभिन्न कार्यक्रममा ओलीको आउजाउ भइ नै रह्यो, भइरहेको छ।

ओली दमक आउने कार्यक्रममा सकेसम्म पुग्छिन्, ८२ वर्षीया चापागाईं। ‘उहाँ आउने कार्यक्रममा सकेसम्म जाने गरेकी छु’, उनले भनिन्, ‘कहिलेकाहीँ देखादेख मात्र हुन्छ, कहिलेकाहीँ सन्चो-बिसन्चो र राजनीतिका बारेमा पनि छोटो कुरा गर्नुहुन्छ।’ ओलीसँग भलाकुसारी हुन नपाएको र भेट हुँदा पनि धेरै समय नदिएकोमा उनको गुनासो पनि छैन। चित्त बुझाइको स्वरमा भनिन्, ‘अब हामीसँगै गफ गरेर बसेर पनि त भएन नि! देशको नेता, प्रधानमन्त्री भएपछि गफ र भलाकुसारी भन्दा प्राथमिकता दिनुपर्ने विषय धेरै छन्। सबै जनताको मन जितेर काम गरिदिए हुन्छ, हामी त हामी छँदै छौँ नि!’

माछा खुवाएर मेजमान

‘कमरेड, तपाईंले एकचोटि प्रधानमन्त्री हुँदैमा आराम गर्नुहुँदैन, यो देशले, जनताले धेरै आश गरेका छन् तपाईंप्रति भन्दै गर्दा छेउमा रहेका सेना त छक्क परेर मलाई हेर्न थाले। तर उहाँले गाडीमा बसिसकेपछि पनि झ्याल खोल्नुभयो, मुुसुमुसु हाँस्नु भयो, कुराकानीचाँहि हुन भ्याएन।’

केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका थिएनन्। एक दिन उनको सचिवालयबाट खबर आयो- अध्यक्ष कमरेड आज तपाईंकहाँ आउँदै हुनुहुन्छ भनेर। निकै वर्षपछि रातै बस्न आउने भनेपछि केही स्वागत त गर्नै पर्‍यो। ‘अध्यक्ष आउने भनेपछि अरू साथीभाइ पनि हुने भए। त्यस दिन हामीले माछाको परिकार ल्याएर खुवायौँ’, उनले भनिन्, ‘त्यस बेला उहाँको मिर्गौला फेरिइसकेको थियो, त्यसैले पहिलाको जस्तो खाना र व्यवहारले मात्र हुने थिएन। त्यसैले उहाँलाई छुट्टै पकायौँ। सबै सरसामान तातोपानीले धोईपखाली गरी अलग्गै चलायौँ। उहाँको स्वास्थ्यका कारण पनि यति गर्नु आवश्यक थियो।’

त्यस बेला ओलीको हातमा ‘इन्फेक्सन’ भएको थियो। उनको हातसमेत उनका नाति डा. नवीन चापागाईंले ड्रेसिङ गरिदिए। बातचित धेरै नभए पनि ईन्दिराले ओलीलाई पुरानो कुरा सम्झाइन्। उनका श्रीमान मोहनको २०१६ सालमा सामन्तवादविरुद्धको आन्दोलनमा लागेकै कारण हत्या भयो। त्यस बेला साथमा थिए एक छोरा हरिप्रसाद। अर्की एक छोरीको सानैमा निधन भएपछि उनलाई पहाडमा खप्न खान मुस्किल भयो। त्यसैले थुन्सेमा पोका पन्तुरा कसेर केही आफन्तको साथमा २०२० सालमा झापाको शिवगंजमा भारी बिसाउन आइपुगिन् उनी। त्यसपछि दमक- ९, दमक- ६ हुँदै अहिले दमक- ५ मा चार पुस्तासहित उनी बसोबास गर्दै आएकी छन्।

सामान्तवादविरुद्ध लडेकै कारण हत्या भएका उनका श्रीमानलाई शहीद घोषणा गर्न उनले त्यस दिन पनि सम्झाइन्। ‘उहाँ प्रधानमन्त्री हुनुभयो, भेटघाट हुन्छ, सम्पर्क छ भन्दैमा अरू लाभ लिन खोज्नु के नै छ र!’, उनले भनिन्, ‘यो देशमा सर्वहाराको सत्ता ल्याउन र सामान्तवाद मास्ने आन्दोलनमा मारिनुभएका उहाँलाई शहीद घोषणा गर्ने कुरा सम्झाएँ, उहाँले उपयुक्त समयमा यो कुरा पूरा गरिनेछ भन्नुभएको छ। यस वर्षको हिउँदमा काठमाडौं जाने विचारमा छु, फेरि एक पटक सम्झाउनु पनि छ।’

२०१६ सालमा उनका श्रीमान मोहन चापागाईंले इलाममा सामन्तवादविरुद्धको आन्दोलनको अगुवाइ गरेका थिए। उनैलाई अगुवा ठानेर प्रशासनले नियन्त्रणमा लियो। ईन्दिराले भनिन्, 'राख्न त धेरै समय राखेको होइन तर चिर्पट र खुर्पाले हानेर धुकधुकी मात्रै राखेर पठाए। जेलबाट छुटेको केही दिनमै उहाँ बित्नुभयो।’ शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने उक्ति उनले चाँहि अनुसरण गरिन्। श्रीमानको हत्यापछि हच्किनु त होइन, श्रीमान मार्ने शासन ढालेरै छाड्ने हिम्मतसहित उनी आन्दोलनमा क्रियाशील भइन्।

ओली मुसुमुसु हाँस्दा सेना छक्क

अहिले उनको र ओलीको दमकस्थित निवास नजिकै छ। उनीहरू छिमेकी पनि हुन्। प्रधानमन्त्री भइसकेपछि पनि उनी पटक पटक दमकस्थित निवासमा आउँछन्। यस घरमा आएका बखत उनको प्राय: भेट हुन्छ। पहिलो पटक प्रधानमन्त्री भइसकेपछि दमकस्थित निवासमा ओली आएका थिए। भेटघाट गर्नेको कुँडलो थियो। झापाका मात्रै होइन, विभिन्न जिल्लादेखि उनलाई भेट्न आउने पालो पर्खेर बसेका थिए। उनलाई एक्लै भेट्ने समय मिलेन।

ओली निस्किएर गाडीमा चढ्दै गर्दा आमनेसामने भए। ‘मैले त त्यही बेला हाक्काहाक्की कुरा राखेँ’, बुढेसकालमा पनि जोसिएकी उनले भनिन्, ‘कमरेड, तपाईंले एकचोटि प्रधानमन्त्री हुँदैमा आराम गर्नुहुँदैन, यो देशले, जनताले धेरै आश गरेका छन् तपाईंप्रति भन्दै गर्दा छेउमा रहेका सेना त छक्क परेर मलाई हेर्न थाले। तर उहाँले गाडीमा बसिसकेपछि पनि झ्याल खोल्नुभयो, मुुसुमुसु हाँस्नु भयो, कुराकानीचाँहि हुन भ्याएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.