मानव बेचबिखन विरुद्धको बाह्रौं दिवस मनाइँदै

|

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरले मानव बेचबिखनको रुप फेरिएपनि समस्या उस्तै रहेको बताएकी छिन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बाह्रौ राष्ट्रिय दिवस मनाउने सन्दर्भमा जानकारी दिन आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन्। 

पछिल्लो समय मानव बेचबिखनको रुप फेरिएपनि अवस्थामा भने सुधार हुन नसकेको उनले बताइन्। 'हिजो फरक ढंगले मानव बेचबिखन हुन्थ्यो भने अहिले त्यो विभिन्न रुपमा भइरहेको छ', मन्त्री थापाले भनिन्, 'वैदेशिक रोजगारका नाममा अहिले अवैध रुपमा विदेश लैजाने र त्यहाँ विभिन्न ढंगले बेचबिखनका घटनाहरू भइरहेका छन्।'

मन्त्री थापाले अवैध रुपमा विदेश जाने महिलाहरू अहिले सबैभन्दा बढी बेचबिखनमा पर्ने, शारिरीक तथा मानसिक जोखिममा पर्ने गरेको उनले बताइन्।

समाजमा विकृति विसंगति मौलाउदा महिला हिंसा, बेचबिखन, बलात्कार जस्ता जघन्य अपराध मौलाइरहेको भन्दै मन्त्री थापाले यसलाई रोक्नका निम्ती सरकारले विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको बताए। तर यो काम सरकारबाट मात्रै सम्भव नहुने भएकाले सरकारले अन्य विभिन्न संघसंस्था, सरोकारवालाहरुसँग सहकार्य गरेर जानुपर्ने उनको भनाइ छ।

बढ्दै मानव बेचबिखन

सन् २००२ मा नेपालमा दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को ११ औं शिखर सम्मेलन सम्पन्न भयो। सोही सम्मेलनबाट पारित 'महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्त्री २००२' लाई नेपालको व्यवस्थापिका संसदले २०६३ भाद्र २० गतेका दिन अनुमोदन गरियो।

त्यसपछि प्रत्येक वर्ष भाद्र २० गतेलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ।

मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनका आधारका यसको अवस्था क्रमशः बढेको देखिन्छ। विगत छ वर्ष यता नेपाल सरकारले सञ्चालन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०६८/६९ मा एक हजार ३ सय ११ जना रहेको देखिन्छ भने ०६९/७० मा यो संख्या एक सय ४७ जनाले बढेको छ। ०७०/०७१ मा यसको संख्या ७ सय ४० ले घटेको छ।

आ.व. ०७१/०७२ मा १ सय ६३ ले बढेर ९ सय ३ जनाले सेवा लिएका छन्। ०७२/०७३ मा यसको संख्या पुनः बढेको छ। यस आवमा ७ सय ९४ जना बढी प्रभावितहरु देखिन्छन्। त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा भने यो संख्या घटेर ७ सय ८५ पुगेको छ। यो तथ्यांकमा केही महिला हिंसा प्रभावित महिला समेत रहेका छन्। 

नेपाल प्रहरीमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा हेर्दा पनि घटना बढ्दो देखिन्छ। विशेषगरी मानव बेचबिखन तथा ओसारपसार श्रमशोषण, जबर्जस्ती विवाह, आर्थिक प्रलोभन, बेचबिखन, यौनकार्य जस्ता प्रयोजनका निम्ती हुनेगरेको पाइन्छ।

सप्ताहब्यापी दिवस मनाइँदै

यसैबीच मन्त्रालयले यस वर्षको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बाह्रौ राष्ट्रिय दिवस मउँदैछ। 'संघीयताको महत्वपूर्ण सारः मानव वेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गरौं खबरदार' भन्ने नारा दिइएको यस वर्षको दिवस सम्पन्न गर्न विभिन्न ६ वटा उपसमितिहरू बनाइएको छ।

भाद्र १७ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रम गरि सप्ताहब्यापी रुपमा दिवस मनाउन गइरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। दिवसको मूल समारोह भाद्र २० गते मनाइँदैछ। विहान ७ बजेदेखि भृकुटीमण्डपबाट र्‍याली हुनेछ भने ९ बजेबाट मूल समारोह हुनेछ। र्‍यालीको व्यवस्थापन अभियान नेपालले गर्नेछ।

त्यस अवसरमा महिला, बालबिलका बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान गर्ने नेपाल प्रहरी, महिला तथा बालबालिका कार्यालय, मानब बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा कार्यरत संस्था, सञ्चारमाध्यम गरी ६ वटा क्षेत्रबाट विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव वीरबहादुर राईले जानकारी दिए। केन्द्रसँगै जिल्ला तथा स्थानीय स्तरमा समेत यो दिवस मनाउने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.