'दुई अध्यक्ष र हिजोका दुई पार्टीबीच अन्तरविरोध छ कि भनेर कसैले खोजे पनि भेट्दैन'

|

ललितपूर : पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड 'ले निकट भविष्यमा हुन लागेको भारत भ्रमण र त्यसलगत्तै हुने चीन भ्रमण नेपालको विकास र दुवै छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुमधुर बनाउनमा केन्द्रीत हुने बताएका छन्। 

यही भदौ २१ गते भारत र उताबाट फर्केलगत्तै भदौ ३० मा चीन भ्रमणमा निस्किन लागेका दाहालले आफ्नो निवास खुमलटारमा भएको पत्रकार भेलामा सो बताएका हुन्। उनले भ्रमणका विषयलाई लिएर सरकार परिवर्तन वा अन्य चलखेलको आशंका विभिन्न कोणबाट आइरहेको सन्दर्भ समेत कोट्याए। टीका टिप्पणी जे-जे भए पनि आफ्नोमात्रै चाहनामा नभई दुवै छिमेकी मुलुकको उच्च नेतृत्वको चाहनाका कारण ती देशको भ्रमणमा जान लागेको उनले बताए। सोही सन्दर्भमा बोल्दै दाहालले यसअघि आफू निजी कामको सिलसिलामा सिंगापूर गएका बेला राजनीतिक हिसाबले कसैसँग नभेटे पनि भ्रमपूर्ण हल्ला चलेको तर्फ ध्यानाकर्षण गराउँदै असत्य कुराका पछाडि नलाग्न आग्रह गरे। 

सरकारका कामले गति नलिएको पत्रकारहरूको टिप्पणीको जवाफमा अध्यक्ष दाहालले सरकारको समीक्षा र अन्य कामका बारेमा प्रधानमन्त्री ओली र आफूबीच गम्भीर छलफल सुरु भएको बताए। मन्त्री फेरबदल गरेर वा पूरक बजेट ल्याएर भए पनि विकासलाई तीव्रता दिने विषयमा आफू र प्रधानमन्त्रीबीच सल्लाह भइरहेको स्पष्ट पारे। जनआकांक्षा समेट्नका लागि निर्वाचन घोषणापत्रमा उल्लेख भएका तर बजेटमा छुट्न पुगेका कुरा पूरक वजेटबाट समेट्न सकिन्छ कि भन्ने विमर्श भई रहेको समेत उनले बताए।

अध्यक्ष दाहालले थप पुष्टि गर्दै भने, 'मन्त्री फेर्दैमा वा पूरक वजेट ल्याउँदैमा सबै कुरा हुन्छ भन्ने होइन। हामी दीर्घकालीन योजनाको रेखांकन गरेर अगाडि बढ्ने पक्षमा छौँ।' अहिले करवृद्धिको मारमा जनता पिल्सिन थालेको भन्ने पत्रकारको जिज्ञासामा दाहालको भनाई थियो, 'करका विषयमा सरकारको आलोचना हुनु स्वाभाविक जस्तो देखिन्छ। नागरिक कर तिर्न तयार हुनुपर्ने हाे। तर त्यसबापत सरकारले जनताका लागि सेवासुविधा उपलब्ध गराउनु पर्छ।' 

समाजमा हत्या, हिंसा, बलात्कारलगायतका घटना कम गर्न सरकारका कामकारबाही तदारुकताका साथ लाग्नुपर्नेमा आफ्नो विमति नभएको बताउँदै अध्यक्ष दाहाले अगाडि थपे, 'यो सरकारको मात्र जिम्मेवारी ठान्न हुँदैन। यो सामाजिक मनोवैज्ञानिक बिचलन पनि भएकोले यसलाई दीर्घकालीन रूपमा कम गर्न सञ्चार जगतले शिक्षा र चेतना फैलाउन काम गर्नुपर्छ।'

एमाले-माओवादी पार्टी एकता प्रक्रियालाई टुंगाेमा पुर्‍याउन सचिवालय र स्थायी समितिको बैठक छिटै बस्ने गृहकार्य भइरहेको उनकाे भनाइ थियाे। एक महिनाभित्र एकता प्रक्रिया सक्ने बताउँदै दाहालले दुई अध्यक्ष र हिजोका दुई पार्टीबीच अन्तरबिरोध छ कि भनेर कसैले खोजे पनि नभेट्ने जिकिर गरे।

अध्यक्ष दाहालको भने, 'कतिपय कमिटी बन्न बाँकी रहेका ठाउँका साथीहरूको आफू छुट्ने वा हराउने हुँ कि भन्ने स्वाभाविक चाहनाले चिनजानका आधारमा दौडधुप भने चलेको पाएको छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.