चार पत्रकारसहित विभिन्न व्यक्तिलाई पुरस्कार एवं सम्मान

|

काठमाडौं : मानव बेचबखिनविरुद्धको १२ औं राष्ट्रिय दिवस बुधबार विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको सन्दर्भमा महिला, बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्रालयले विशेष समारोहको आयोजनामा  'संघीयताको महत्वपूर्ण सारः मानव वेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौँ खबरदार' भन्ने नारासहित यस वर्षको दिवस मनाइएको हो। 

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखनका विभिन्न कारण भए पनि विशेषत लैंगिक भेदभावका कारणले मानव बेचबिखनका घटनाहरू बढी हुने भएकाले यसको रोकथामका लागि सबै क्षेत्र लाग्नुपर्ने बताइन्

पछिल्लो समय रोजगारीका नाममा मानव बेचबिखनका घटना बढ्दै गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि कोइरालाले असमान लैंगिक मान्यता र भेदभावका कारण छोरीको शहनशीलतालाई सधैँभरि कमजोरीका रूपमा हेरिएको बताइन्।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले मानव बेचबिखन जस्तो जघन्य अपराधको अन्त्यका लागि विद्यमान कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताइन्। बेचबिखनको जस्तो जघन्य अपराधविरुद्धको सामाजिक दृष्टिकोण, पीडितहरूप्रति समाजले गर्ने सकारात्मक व्यवहार र उनीहरुको हितका लागि स्वास्थ्य, सुरक्षा र मनोसामाजिक मनोविमर्श सेवा पुर्‍याउने सन्दर्भमा सबै क्षेत्रका नागरिकको सक्रिय भूमिका हुनुपर्ने मन्त्री थापाको भनाइ थियो। सबै क्षेत्रको एकीकृत प्रयासबाट नै मानव बेचबिखन तथा ओसारपसारको अन्त्य हुन सक्ने मन्त्री थापाले बताइन्।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख सर्वेन्द्र खनालले यस्ता आपराधिक घटनाहरू नियन्त्रण हुन आवश्यक रहेको भन्दै विगतमा जे भए पनि अब सबै मिलेर यसको अन्त्यका लागि सबै लाग्नुपर्ने बताए। जबसम्म अपराधीलाई कडा कारबाही गरिँदैन तबसम्म बेचबिखनका घटना नरोकिने भन्दै खनालले यसको अन्त्यका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू एकसाथ लाग्नुपर्ने बताए।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचबिखन एउटा मात्रै कारणले नहुने भएकाले यसबारे सबैले ध्यान दिन जरुरी रहेको बताइन्। बेचबिखन विभिन्न कारणले हुने भएकाले यसका आन्तरिक कारणहरू पहल्यिाउनुपर्ने उनको भनाइ थियो।

यस्तै, सिभिल नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले सरकार, प्रहरी सबैको सहयोगले बेचबिखनका घटनामा कमी आएपनि यसको रूप भने फेरिएको बताए। अब पितृसत्तालाई दोष दिएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सबै एकजुट भएर बेचबिखनको अन्त्यका लागि लाग्नुपर्ने बताइन्।

सन् २००२ मा नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ११ औं शिखर सम्मेलन सम्पन्न भयो। सोही सम्मेलनबाट पारित 'महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्त्री २००२' लाई नेपालको व्यवस्थापिका संसदले २०६३ भाद्र २० गतेका दिन अनुमोदन गरियो। त्यसयता प्रत्येक वर्ष भाद्र २० गतेलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ।

मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनका आधारका मानव बेचबिखनको अवस्था क्रमशः बढेको देखिन्छ। विगत छ वर्ष यता नेपाल सरकारले सञ्चालन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०६८/६९ मा एक हजार ३ सय ११ जना रहेको देखिन्छ भने ०६९/७० मा यो संख्या एक सय ४७ जनाले बढेको छ। ०७०/०७१ मा यसको संख्या ७ सय ४० ले घटेको छ। आ.व. ०७१/०७२ मा १ सय ६३ ले बढेर ९ सय ३ जनाले सेवा लिएका छन्।

०७२/०७३ मा यसको संख्या पुनः बढेको छ। यस आवमा ७ सय ९४ जना बढी प्रभावितहरू देखिन्छन्। त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा भने यो संख्या घटेर ७ सय ८५ पुगेको छ। यो तथ्यांकमा केही महिला हिंसा प्रभावित महिला समेत रहेका छन्।  नेपाल प्रहरीमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा हेर्दा पनि घटना बढ्दो देखिन्छ। विशेषगरी मानव बेचबिखन तथा ओसारपसार श्रमशोषण, जबर्जस्ती विवाह, आर्थिक प्रलोभन, बेचबिखन, यौनकार्य जस्ता प्रयोजनका निम्ति हुनेगरेको पाइन्छ।

चार पत्रकारसहित विभिन्न पुरस्कृत

त्यस अवसरमा महिला, बालबिलका बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गर्ने पत्रकारहरू कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता ठाकुरसिंह थारू, महिलाखबर डटकमकी सम्पादक लोग्शरी कुवरलाई नगद १० हजार रुपैयाँसहित राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। यसैगरी सिरहाका महिला विकास अधिकृत सशीला चौधरी, सिविन नेपाल काठमाडौं, शक्ति समूहकी बालकुमारी दर्लामी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी सहायक निरीक्षण तनुजा श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

यसैगरी त्यस अवसरमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका निम्ति महत्वपूर्ण योगदान दिने महिला कानुन र विकास मञ्च काठमाडौं, माइती नेपाल झापाकी सीमा निगरानीकर्ता अम्बिका नेपाली, विएफ विएस रेडियो युकेकी संवाददाता निलिफा सुब्बा, रेडियो विरगंज पर्साकी सीमा श्रीवास्तवलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको थियो।  

कार्यक्रमअघि मन्त्रालय तथा विभिन्न संघसंस्थाहरुको सहभागीतामा प्रभातफेरि गरिएको थियो। त्यस अवसरमा शक्ति समूहले वैदेशिक रोजगारसम्बन्धी हुनसक्ने जोखिम र वर्तमान अवस्था झल्किने नाटक प्रस्तुत गरेको थियो।

मानव बेचबिखनको रुप फेरियो, समस्या उस्तै : मन्त्री थापा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.