|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाई बहुमतको सरकार हुँदा पनि राष्ट्रियता खतरामा रहेको बताएका छन्। गीतकार, संगीतकार तथा गायक प्रमोद हमालको १६ औँ स्मृतिको अवसरमा स्रष्टा सम्झना कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। 

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेता खनालले हमालको स्मरणले आफूलाई  गौरवको अनुभूति हुने बताए। छोटो समयमा नै उनको मृत्यु हुनु नेपालको कम्युनिस्ट आन्दोलनका लागि ठूलो क्षति भएको उनको भनाइ थियो। उनले ४० को दशकमा उनको घरमा आफ्नो राजनीतिक विषयमा छलफल भएको स्मरण समेत गरे। 'उनका प्रगतिशील विचार र बौद्धिकताले म धेरै प्रभावित हुन्थे' खनालले थपे, 'पञ्चायती व्यवस्था र देशमा लोकतन्त्रको प्राप्ति हमाल जस्ता कयौँ व्यक्तिको प्रयासले सम्भव भएको हो।'

हमाललाई बचाउन नसकेकोमा खनालले दुःख व्यक्त गरेका थिए। जनवादी क्रान्तिको सुरुवाती दिनमा हमालले  गरेको सामन्तवादी सोच विरुद्ध साँस्कृतिक आन्दोलन पार्टी र आफूले कहिल्यै बिर्सन नसक्ने बताए।

निरन्तर परिवर्तन गर्दै देशमा लोकतन्त्र प्राप्तिका लागि हमाल जस्तै कयौँ कलाकार तथा बौद्धिक व्यक्तिहरूको ठूलो भूमिका रहेको नेकपाका स्थायी समिति सदस्य मणि थापाले बताए।  देश अब समाजवाद तर्फ उन्मुख हुदै जाँदा हमालले देखेका सपनाहरू केही हदसम्म भएपनि पुरा हुने संकेत देखिएको थापाले बताए। 

प्रमोद हमाल स्मृति समाजले गरेको कार्यक्रममा बोल्ने अधिकांश  वक्ताले हमालका जिन्दगीका उतारचढाव स्मरण गरे। हमालले सिर्जना गरेका गीतलाई उनका समकालीन स्रष्टाहरूले गाएका थिए। यस्तै हमालले प्राध्यापन  गरेको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलले उनको स्मृतिको अवसर पारेर  विभिन्न विधामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.