|

उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौँ सैनिकले मार्चपास गरेका छन्।

उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए।

दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए।

एक्काइस तोपको सलामीपश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो। सैनिकहरूमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए। यी आधुनिक हतियारसहितको मार्चपासलाई नेता कीमसहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए।

नेता कीमसँगै चिनियाँ प्रतिनिधि एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए। उनीहरू दुवैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो।

मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरूको लाइन अघि बढेको थियो। आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए। अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो। त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो।

तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन।

'उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,' कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भने।

सैनिक मार्चपास सकिएलगत्तै हजारौँ नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्डसहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए।

अप्रिलमा कीमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गरेका थिए। उनले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.