|

दमक : व्यवसायीको अपरणपछि हत्या भएको भन्दै दमकका व्यवसायीले सुरक्षा अवस्था सुदृढ बनाउन माग गरेका छन्। मंगलबार दमक उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी असुरक्षा बढेका कारण व्यवसायीको अपहरण र हत्यासमेत हुन थालेको भन्दै संलग्न सबैको पहिचान गरी कानुनी कारवाहीमा ल्याउन र व्यावसायिक सुरक्षाको प्रत्याभूति गराउन माग गरेको हो।

संघका अध्यक्ष राजेन्द्र ढकालले दमक-६ स्थित राजदीप इन्टरप्राइजेजका सञ्चालक कमल-६ का खेमराज पौडेलको गौरीगञ्जमा सोमबार राति हत्या भएको भन्दै यो घटनाले व्यावसायिक क्षेत्रमा त्रास बढेको बताए। पौडेलको हत्या सम्बन्धमा अनुसन्धान प्रभावकारी बनाउन र संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन संघले माग गरेको छ। दमकमा कपडा व्यवसाय गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको हो। प्रहरीका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका-६ बाह्रदसीस्थित विनोद यादवको खेतनजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो। 

लहरीलाई राति मात्र छोड्न माग

दमक उद्योग वाणिज्य संघले भारतबाट विभिन्न समान आयात हुने ठूला र अधिक भारवहन भएका लहरीलाई सीमास्थित भन्सार कार्यालयबाट राति मात्र सञ्चालनका लागि छोड्न माग गरेको छ। साँझमा अधिक चाप रहने सडकमा लहरीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने र यसले दुर्घटना बढाएको भन्दै भन्सार, प्रहरी तथा प्रशासनलाई राति मात्र चल्ने व्यवस्था मिलाउन आग्रह गरिएको संघका अध्यक्ष ढकालले बताएका छन्।

गत भदौ २१ गते साँझ दमकमा रहेको पसल बन्द गरी घर फर्कदैँ गरेका कमल-५ स्थित पाडाजुंगीमा सोही गाउँपालिका-६ का मोहन पौडेललाई लहरीले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो। पीबी १३ एआर ९५१३ नम्बरको भारतीय लहरी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको हाल बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

हालसम्म पनि लहरीका तर्फबाट उपचार खर्च तथा राहत प्राप्त नभएको भन्दै यस्तो अवस्था आउन नदिन लहरीलाई राति ८ बजेपछि मात्र सञ्चालनको अनुमति दिन दमक उद्योग वाणिज्य संघले माग गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.