|

लिबाङ : गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आएका छन्। उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेका हुन्छन्।

यसरी ढुङ्गा कुटेर उनले आठजनाको परिवारको जीविका चलाएका छन्। औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाएका सुनारका दुई छोरा गरिबीका कारण पढाइ छोडेर भारतमा जागिरका लागि भौँतारिइरहेका छन्। कक्षा ७ मा अनुत्तीर्ण भएका उनका १५ वर्षीय एक छोरा बाबुलाई डुङगा कुट्न सघाउँछन्।

१३ वर्षको कलिलो उमेरमै टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिए। तर भारतमा राम्रो जागिर नपाएपछि उनी नेपाल फर्किए। 'ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने', आइतरामले बताए।
ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको उनी बताउँछन्। उनले सानो जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकामा सबैभन्दा ठूलो पछुतो भएको बताए।  चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने गरेका सुनारले हातखुट्टामा घाउचोटका दाग देखाउँदै भने,'यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ।' 

वर्षापछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुने उनको अनुभव छ। पछिल्लो समयमा मानिसको यसतर्फ आकर्षण बढ्दै जानुले पनि खोला किनारमा ढुङ्गाको अभाव बढ्दै गएको उनको भनाइ छ। आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा उनी छन्।

कहिले घाम कहिले पानीमै रुझेर काम गर्नुपर्दा समय समयमा बिरामी भइरहने हुँदा उनलाई अबको बाँकी भविष्यको चिन्ता लाग्न थालेको छ।

ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या पछिल्लो समय निकै कम छ। पुर्खौंदेखि घर छाउन प्रयोग गरिँदै आएको यस प्रकारको ढुङ्गा जहाँतहीँ पाइँदैन। समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ दिनानुदिन बढ्दै गइरहेको छ।

यस किसिमको पेसाको निम्ति अत्यधिक बल र बुद्धि आवश्यक हुने भएकाले बिरामी तथा वृद्ध अवस्थाका मानिसलाई यो काम गर्न कठिन हुने गर्दछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.