|

पर्वत : कालीगण्डकी नदीमा  बुधबार आएको  बाढीका कारण पर्वतको जलजला गाउँपालिका-३ मा अवस्थित वारीबेनी बजारसहित म्याग्दी सदरमुकाम बेनी बजार र नजिकै रहेको गलेश्वर मन्दिरको तटीय क्षेत्र जोखिममा परेकाे छ। 

म्याग्दीको उत्तरी क्षेत्रसहित मुस्ताङको तल्लो क्षेत्रमा गएको बुधबार दिउसोदेखि साँझसम्म परेको भीषण बर्षाका कारण कालीगण्डकीको बहाव ह्वात्तै बढेको थियो। नदीले आसपासको क्षेत्रमा धेरै कटान गरेका कारण पर्वत बेनी अन्तर्गतका झण्डै एक सय भन्दा बढी घर जोखिममा परेका छन्। नदीले किनारमा रहेका कच्ची र पक्की सडकसहित डोजर समेत बगाएको थियो।  

बाढीका कारण बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल र तटबन्ध समेत भत्किएका कारण कालीगण्डकीको कटान बस्तीतर्फ बढिरहेको छ। स्थानीय व्यपारी शिव शर्माका अनुसार बाढी र कटानले अहिलेसम्म स्थानीय आमा समुहको सामुदायिक भवनमा सामान्य क्षति भएको भए पनि नदीको कटान बढ्दै गएमा बस्तीलाई नै खतरा रहेको छ।

वारी बेनी बजारसँगै वडा ३ कै बगरफाँट पनि कालीगण्डकी कटानको जोखिममा छ। यस बाहेक म्याग्दी जिल्लातर्फ रहेको गलेश्वर मन्दिर रहेको कालीगण्डकी नदीको तटीय क्षेत्र पनि कटानबाट प्रभावित भएको छ। बाढिकै कारण बेनी-बगरफाँट-बाँसखर्क सडक समेत अबरुद्ध छ। ग्रामीण सडक नदीले कटान गरेर बगाएपछि अहिले त्यस क्षेत्रका बासिन्दालाई पैदल यात्रा गर्न समेत असहज भएको छ। 

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका पर्वतका प्रमुख जिल्ला अधिकारी ढकालले जोखिममा रहेका स्थानीयबासीलाई छिट्टै नै जोखिम र क्षतिबारे विवरण सम्बन्धित निकायमा पठाएर वारीवेनी बजार संरक्षणका लागि पहल गर्ने बताएका छन्। यस्तै जिल्ला दैवी प्रकोप उद्धार समिति म्याग्दीले पनि बजार संरक्षणसहित नदी कटानको लागि तत्काल नै आवश्यक काम गर्ने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.