सामाजिक सञ्‍जाल उपयोग गर्न नजान्दा समस्या भएको दुखेसो

|

पाल्पा : ‘क्याम्पस जान छाडेको झण्डै २० वर्ष कटिसक्यो। पढ्ने बानी पनि हटिसक्यो। तर, अहिले आएर नपढी नहुने अवस्था छ।’ नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थानीय सरकार र पत्रकारहरूबीच शनिबार तानसेनमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहाभागी वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले भने। अधिकांश गाउँपालिका अध्यक्षहरूको भनाइ उस्तै थियो। । 

गाउँपालिका कसरी सञ्चालन गर्ने भन्ने नीति, निर्देशिका अध्ययन गर्नकै लागि अचेल रातको १२ बजेसम्म बस्ने गर्छु उनले थपे। निर्वाचित भएको एकवर्ष पूरा भयो उनले भने यो एक वर्ष सिकाइमै बित्यो, तर पनि अझै जान्नुपर्ने कुरा धेरै छन्। अबको कार्याविधिमा भने उनले जनताकै चाहनाअनुसार गाउँपालिका भित्रको विकास गर्ने प्रतिबद्धता गरे। तर, मिडियाले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। आफूले अहिलेसम्म गाउँपालिकाबाट प्राप्त गरेको तलबापतको तीन लाख रकम गाउँपालिका भित्रका अनाथ र असहाय बालबालिकाको शिक्षादीक्षामा खर्चिने घोषणा गर्दै अध्यक्ष बस्‍यालले भने काम गर्ने जनप्रतिनिधिलाई प्रोत्साहित गर्ने दायित्व सबै निकायको हो। 

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिशीले वर्षभरीको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी फाइलको एकप्रति झोलामै बोकेर हिँड्ने गर्छन्। 'सबै नीति तथा कार्यक्रम र बजेट कण्ठ हुँदैन,' उनले भने, 'कसैले बाटोबीचमा सोधिहाल्यो भने झोलाबाट फाइल झिकेर जवाफ दिने गरेको छु।' तर पनि विकास निर्माणलगायत गाउँपालिका सञ्‍चालनमा अझै पनि कमी कमजोरी हुने गरेको उनले बताए।

विद्यालय छाडेका कुमाल समुदायका बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न गाउँपालिकाअन्तर्गत ख्याहाको जोइथुममा रहेको कालिका आधारभूत विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्‍चालन गरेको र अहिले यहाँका सबै बालबालिका विद्यालय आउन थालेका छन् अध्यक्ष जिशीले भने नराम्रा काम औँल्याइदिनुका साथै राम्रा कामको मिडियाले प्रचारप्रसार गरेर आफूहरूलाई प्रोत्सहित गर्नुपर्ने उनको धारणा छ। मुलुक संघीयतामा गएपछि पहिलोपटक आफूहरु निर्वाचित भएकोले पनि कतिपय कामहरु सम्पन्न गर्न अप्ठेरो परेको उनीहरुको भनाइ थियो। 

सामाजिक सञ्‍जाल उपयोग गर्न नजानेकै कारण गरेका राम्रा काम पनि ओझेलमा परेको भन्दै रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले राम्रा कामको प्रचारमा सहयोग गर्ने पत्रकारहरूलाई आग्रह गरे। उनले भने, 'कमी कमजोरीसँगै राम्रा कामको प्रचारप्रसार गरेर सिंगो जिल्लालाई चिनाउने काममा मिडियाले भूमिका निर्वाह गर्नुपर्‍यो।' तिनाउँगाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले आफ्नो बुद्धिविवेक र अरूले दिएको सुझावका आधारमा विकास निर्माणका काम गर्दै आएको बताए। उनले भने, 'बितेको एक वर्ष सिकाइमै बित्यो बाँकी कार्यकाल थप नयाँ कुरा सिक्दै र प्रभावकारी काम गरेर देखाउनेछु।'

तर, तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति झपेन्द्र जिसीले भने व्यक्तिगतभन्दा पनि संस्थागत भएर काम गर्न सुझाए। संस्थाभन्दा व्यक्तिलाई सर्वोपरी ठान्दा विकास निर्माणका काममा बेथिति आइपरेको छ। उनले भने, 'जनतालाई सोधेर जनतामैत्री कार्यक्रम सञ्‍चालन गर्नसके विकासले फड्को मार्छ। अन्यथा केही जनप्रतिनिधिको अवस्था उकासिनेछ, तर जनताको अवस्था जहिँकोतहिँ रहिरहनेछ।' 

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बश्यालले जनताको आवश्यकता र मागलाई पहिचान गरेर विकास निर्माणमा लाग्न आग्रह गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले स्थानीय सरकारप्रति नागरिकको अपेक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.