|

कञ्चनपुर : दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायले अटवारी (अतवारी) पर्व मनाउँदै छन्। कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्त्वका साथ मनाइने गरिन्छ। अट्वारी पर्वको अवसरमा प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा दिइएको छ।  

अटवरी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायूको कामना गर्दै दिनभरि पानी समेत नपिइ व्रत बसी साँझ पुरुषले नै साँझ गुइँठाको आगोमा सल्लाको धुप बनाई बालेर भीमको पूजा गर्ने चलन रहेको छ।

व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तिको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको सञ्चारकर्मी धनबहादुर चौधरीले बताए। व्रतालुले पकवान खाना खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्दछन्। जसलाई कहार्नी भन्ने गरिएको उनले बताए।

यस पर्वको साँझ बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको थारू अगुवा दानसिं दहितले बताए। रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुन समेत बर्जित हुने गरेको उनले उल्लेख गरे।

रोटीसँगै अन्य पकवान व्रतालु सबैको भागसँगै अर्को भाग छुट्ट्याउने गरिन्छ। जसलाई अग्रासन भन्ने गरिन्छ। व्रतालुहरुले आ–आफनो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने गर्दछन्। अलग्याएर राखेको खानेकुरालाई भोलिपल्ट दिदीबहिनीलाई दिने चलन छ।

यस चाडमा दिदीबहिनीहरु दाजुभाइ आउने व्यग्र प्रतीक्षामा बसेका हुन्छन्। वर्षभरी माइतीमा आउन नपाएका दिदीबहिनीहरुले दाजुभाइसँग भलाकुसारी गर्ने गर्दछन्। अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई उपहार दिने गर्दछन्। अटवारीको दास्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायतको पकवान र माछाको सिद्रा व्र्रतालुहरुले ग्रहण गर्दछन्। 

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्र्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। यस्तै, पौराणिक राजा दंगीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यस पर्व मनाइँदै आएको विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.