|
फाइत फोटो

सुनसरी : हरिनगर २ का मौलाना खुर्शिद अन्सारीको हत्या गर्ने हत्यारा पक्राउ गरी कारबाहीको माग गर्दै आफन्तले बिहीबार साँझसम्म पनि शव बुझ्न मानेका छैनन्। स्थानीय तथा मृतकका आफन्तले शव सडक किनारमै राखेर भुटाहामा प्रदर्शन गरेका छन्।

हत्यारा पक्राउ नभएसम्म शवको अन्तिम संस्कार प्रकृया अघि नबढाउने बताइएपछि स्थानीय सरोकारवालासहितको उपस्थितीमा सहमतिको प्रयास भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए। गाउँपालिका अध्यक्ष गफार अन्सार जिल्ला बाहिर रहेकाले उनी आइपुगेपछि हुने छलफल निचोडमा पुग्न सक्ने अनुमान गरिएको छ।

हत्यामा संलग्न पक्राउ नपरे पनि खोजी कार्यलाई भने तीव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ। एसपी अधिकारीले भारतसँग सीमा जोडिएको नाका शिल गरी हत्यारा खोज्न टोली परिचालन गरिएको बताए। घटनामा कस्को हात रहेको भन्ने विषय खुल्न नसकेका र अनुसन्धान जारी रहेकाले हतारमा केही भनिहाल्न नमिल्ने उनको भनाइ छ। भारतीय पक्षका सुरक्षाकर्मीसँग समेत समन्वय गरी हत्यारा खोजीको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अन्दाजी ५० वर्षीय मौलाना खुर्शिद अन्सारी रैय्यान पब्लिक स्कुलका संस्थापक हुन्।  दावते एण्ड इस्लाह सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका खुर्शिद मुस्लिम अगुवा तथा समाजसेवीका रुपमा हेरिन्थे। उनी पूर्व नेकपा एमालेको प्रदेश १ सल्लाहकार कमिटी सदस्यसमेत रहेको नेकपा सुनसरीले जनाएको छ।

खुर्शिद हत्यालाई स्थानीय मुस्लिम अगुवा तथा बुद्धिजिवीहरूले फैजान हत्या काण्डको श्रृंखलाका रुपमा हेरेका छन्। सार्प सुटर प्रयोग गरी उनको हत्या भएको बताउने मुस्लिम अगुवाहरूले खुर्शिद हत्यामा भारतीय आपराधिक समूहको हात हुन सक्ने भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.