|

उदयपुर : उदयपुरको दोस्रो ठूलो अस्पताल मानिएको कटारी अस्पतामामा एकजना विशेषज्ञको दरबन्दी छ। तर विशेषज्ञ डाक्टर छैनन्। सरकारकै लापरवाहीले कटारी अस्पतालमा नवौं तहको विशेषज्ञ मेडिकल अधिकृतको दरबन्दी मात्र भएको हो।

अस्पतालका आठाैं तहका निमित्त प्रमुख मेडिकल अधिकृत गौरव साहले नवौं तहको वर्षौदेखि खाली रहेको जानकारी दिए। ‘मन्त्रालय, स्वास्थ्य विभागबाट पठाउनुपर्ने हो,’ उनले भने,‘नवाैं तहको दरबन्दी भनेको विशेषज्ञको दरबन्दी हो। हामीले नवौं तहको कार्यकक्ष बनाएर राखिदिएका छौ। तर कुर्सी खाली छ।’ अस्पतालमा स्थायी चिकित्सको दरबन्दी दुई जनाको छ। तर अझै पनि एकजना चिकित्सव छैनन्।

‘स्थायी दरबन्दी भएको चिकित्सक अहिले म एउटै हो,’उनले भने,‘चिकित्सकहरूको करार दरबन्दी ४ जनाको हो। त्यसमा दुईजना हुनुहुन्थ्यो। भएका दुई जनाले लोक सेवा आयोगमा नाम निकाल्नुभयो। उहाँहरू पनि जानुहुन्छ। अनि अस्पतालमा म मात्र चिकित्सक हुन्छु।’ चिकित्सक, स्टाफ नर्सदेखि विभिन्न विभागमा हुनुपर्ने प्राविधिकको दरबरन्दी भए पनि कर्मचारी नहुँदा समस्या परेको छ।

निमित्त प्रमुख गौरवले अस्पतालको समस्या बारे भने,‘केही महत्वपूर्ण उपकरणहरू दक्ष जनशक्ति अभाव हुँदा प्रयोगविहीन भएका छन्। ती उपकरणहरूबाट जनतालाई सेवा दिन सकेका छैनाैं।’ साहका अनुसार डिजिटल भिडियो एक्सरे विद्युतको भोल्टेज र प्रविधिक नभएर प्रयोगविहीन भएको छ। यसैगरी फोटो थेरापी पनि प्रयोगविहीन भएको छ भने चिकित्सक र विशेषज्ञ नहुँदा अर्थात दरबन्दी अनुसार चिकित्सकहरू नहुँदा अस्पतालले दिने सेवा पनि दिन नसकेको उनको भनाइ छ।

‘कटारी अस्पतालमा अस्पताललाई चाहिने धेरै उपकरणहरू छन्,’ उनले भने,‘जनशक्ति र चिकित्सक नहुँदा, दिन सकिने अप्रेशन लगायतका सेवाहरू ठप्प भएका छन्।’ भौतिक पूर्वाधारले सम्पन्न भएको अस्पताल भए पनि जनशक्ति अभावमा अस्पतालले विरामी भर्ना अर्थात इनडोर सेवा सुरु गर्न सकेको छैन। अस्पत्तालमा उदयपुरको पश्चिमी क्षेत्रका अलावा, सिन्धुलीको पूर्वी भेग, ओखलढुंगा, खोटाङसम्मका विरामीहरूले दुःख पाउने गरेका छन्।

कटारी अस्पताल संरक्षण समितिका संयोजक कृष्ण दनुवारले मन्त्रालय र विभागमा चिकित्सकहरूको दरबन्दी पूरा गर्न, डिजिटल एक्सरे सेवा सञ्चालन गर्ने, फोटो थेरापी गराउने दक्ष जनशक्तिको माग गरिएको बताए। ‘कटारी नगरपालिका अस्पतालाबाट दिने सेवा सुविधालाई आधुनिक बनाउन लागि परेको छ,’ उनले भने, ‘मन्त्रालय र विभागसम्म दरबन्दी अनुसार चिकित्सक माग गरिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.