|

काठमाडौं: नेपालमा १८ वर्षपछि विदेशी राष्ट्राध्यक्षको भ्रमण हुन लागेको छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते दुई दिने भ्रमणका क्रममा नेपाल आउँदैछन्। मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने राष्ट्रपति मुखर्जीको उच्च सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालय लागि परेको छ।

गृह मन्त्रालयले सुरक्षा खतरा विश्लेषण समिति गठन गरी उनको सुरक्षा प्रबन्ध मिलाउन जुटेको छ। तीन तहका सुरक्षा अ‌ंग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल के कति संख्यामा परिचालन गर्ने भन्ने निर्णय समितिले गर्ने गृह मन्त्रालयका सह सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।

समितिले विशेष गरी तीनवटा काम गर्ने छ। सुरक्षाका लागि आवश्यक जनशक्ति निर्क्यौल गर्ने, राष्ट्रपति मुखर्जी वस्ने स्थानमा कडा सुरक्षा प्रदान गर्ने, ट्राफिक व्यवस्थापन गर्ने काम गर्ने छ। 'भारतीय राष्ट्रपतिको उच्च सुरक्षाका लागि गृह मन्त्रालयले तयारी  गरिरहेको छ, उच्च सुरक्षाका निम्ति  हामी जुटिरहेका छौं,' कोइरालाले थाहाखबरसँग भने।

मुखर्जीको भ्रमणका क्रममा विशेष सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिइसकेको छ। गृह मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशााखा प्रमुख यादव कोइरालाको संयोजकत्वमा बसेको बैठकले उच्च सुरक्षा मिलाउन  निर्देशन दिएको हो।

बैठकले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित  मध्यमाञ्चल र  पश्चिमाञ्चलका सुरक्षा निकायलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन  निर्देशन दिएको हो। 'भ्रमणका क्रममा पोखरा र जनकपुरको सुरक्षामा उच्च प्राथामिकता राखिएको छ,' कोइरालाले भने।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा भारतबाट समेत विशेष सुरक्षा दस्ता 'कमान्डो' समेत आउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.