दशगजा आसपास क्षेत्र लागुऔषधको ट्रान्जिट प्वाइन्ट, दैनिक १० लाखको कारोबार

|

विराटनगर : नेपाल-भारत सीमा क्षेत्र जोगबनीमा पुगेर लागुऔषध प्रयोग गर्ने नेपाली युवाको लर्को छ। सरकारले दिनदिनै लागुऔषध प्रयोगकर्ता घटाउने विभिन्न कार्यक्रम गरिरहेको छ। तर लागुऔषध प्रयोगकर्ताको संख्या घट्नुभन्दा बढ्दो क्रममा छ। आखिर किन लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ। नियन्त्रणका लागि चालिएकाे कदम किन प्रभावकारी भएन? यो प्रश्न अहिले मात्रै होइन लामो समयदेखि उठिरहेको छ।  

लागुऔषध प्रयोगकर्ताको अवस्था दिनदिनै दयनीय छ। सडक बालबालिका हुन् या अन्य बालबालिका पनि साथी संगतका कारण कुलतमा फसिरहेका छन्। कतिपय लागुऔषध प्रयोगकर्ताकै दबाबमा पनि बालबालिका प्रयोग भएका छन्। कतिपयलाई प्रलोभनमा पारी लागुऔषध ओसार-पसार तथा कुलतमा फसाइएको छ। सीमा क्षेत्रमा भेटिएका १४/१५ वर्षका जस्ता देखिने इटहरी र धनगढीका दुई बालक लागुऔषध ओसार-पसारमा संलग्न छन्। उनीहरू भन्छन्,‘दाइहरूले जबरजस्ती हामीलाई लागुऔषध लिन पठाएका हुन्।’ उनीहरू दाइहरूको नाम भन्न भने सक्दैनन्।

भविष्‍यकका कर्णधार बालबालिकालाई लागुऔषध प्रयोगकर्ताले यसरी फसाइएको एउटा उदाहरण हो यो। त्यसबाहेक पनि अन्य घटना हाम्रासामु छन्। भर्खरै १६ वर्ष पुगेको बताउने इटहरीका अर्का किशोर लागुऔषध प्रयोगकर्ता हुन्। लागुऔषध प्रयोग गर्दा साथीभाइले उनलाई जथाभावी इन्जेक्सन दिए। अहिले उनको तीघ्रामा गम्भीर प्रकृतिको घाउ छ। तर उनलाई घाउ निको पार्ने चिन्ताभन्दा पनि दिनदैनिक कसरी लागुऔषध प्राप्त गर्ने भन्ने चिन्ता छ।

२० वर्षदेखि लागुऔषध प्रयोग गर्दै आएका अर्का एक युवाले १० वर्षसम्म ट्याब्लेट खाए। तर त्यसपछि नियमित इन्जेक्सन हानिरहेका छन्। इन्जेक्सन नियमित दिइरहेका उनको खुट्टामा अहिले ठूलो घाउ भएको छ। ‘घाउ निको हुँदैन खुट्टा काट्नुपर्छ भन्छन् सबै’, उनी भक्कानिँदै भन्छन्,‘कसरी फसियो छोड्न पनि सक्दिनँ। जीवन बर्बाद भयो।’


लागुऔषध सेवनकर्तालाई अहिलेको नै निषेध गर्ने नसकिए पनि न्यूनीकरण गर्नेकै लागि विभिन्न प्रयोगात्मक कार्यक्रम सञ्‍चालन गर्नुपर्ने सामाजिक अभियान्ताको भनाइ छ। विराटनगरका सामाजिक अभियान्ता वसन्त अधिकारीले युवालाई दुर्व्यसनीबाट मुक्त बनाउन बृहत् सचेतना अभियान सञ्‍चालन गर्नुपर्नेमा जोड दिन्छन्। 
प्रदेश १ मा युवालाई दुर्व्यसनीबाट जोगाउन प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम गर्ने जनाइरहेको छ। ०७४/०७५ तथ्यांकअनुसार प्रदेश १ मा मात्र लागुऔषध कारोबारीमा ९ सय ८१ जना पक्राउ परेका छन् भने ६ सय ५० जनामाथि मुद्दा दर्ता गरिएको छ। 

लागुऔषध ओसार-पसारमा अनेक उपाय गरेर नेपाल भित्र्याउने गरेको देखिन्छ। धरान घर बताउने एक युवा जोगबनीको विभिन्न स्थानबाट धरानसम्म लागुऔषध लाने गरेको बताउँछन्। १५ हजारमा खरिद गरेको र त्यहाँ पुर्‍याएपछि मनग्ये फाइदा हुने उनको भनाइ छ। तर उनी आफू लागुऔषध ओसार-पसारमा मात्रै होइन प्रयोगकर्ता पनि हुन्। ‘व्यापारीले लागुऔषध लिएर आउनु भनेर पैसा दिएर पठाएका हुन्,’उनी आफैँ भन्छन्।

ओसार पसारमा बालबालिकालाई संलग्न गराउने मात्रै होइन। केही समय अगाडि एम्बुलेन्समा पनि लागुऔषध ओसारपसार गर्ने गरेको फेला परेको थियो। त्यसका अलावा बुबाले आफ्ना ८ वर्षीय बालकको जिउभरि राखेर ल्याउँदै गरेको घटना पनि केही वर्ष अगाडि सार्वजनिक भएकै हो। त्यो क्रम अहिले पनि रोकिएको छैन। मोटरसाइकलको इन्जिनभित्र राखिएको लागुऔषध प्रहरीले खानतलासी गर्दा थुप्रै पटक भेटिएको छ।

‘शरीरको विभिन्न भागमा लुकाएर ल्याउँछन्, 'सवारीसाधनमा लुकाउने, खाद्यान्न सामान, बालबालिका प्रयोग गर्ने, ठूला-ठूला ट्रकहरूमा राख्ने पनि भेटिएको छ,’ प्रदेश १ प्रहरी कार्यलयका प्रहरी प्रवक्ता सुमनप्रसाद तिम्सिनाले भने,‘लागुऔषध ओसार-पसारको तरिका हेर्ने हो भने नियन्त्रण गर्न निकै नै गाह्रो हुने खालका छन्।’सीमामा प्रहरीले लागुऔषध प्रयोग नगर्न विभिन्न कार्यक्रम मात्रै गर्दैन स्वयं लागुऔषध प्रयोगकर्तालाई काउन्सिलिङ पनि गरिरहेकै छ। तर अझै कम हुन सकेको छैन। प्रहरीले लागुऔषध ओसारप्रसारलाई निरुत्साहित गर्ने वा लागुऔषध प्रयोग नगर्न कार्यक्रम गरिरहँदा विराटनगरकै १७ वर्षीया किशोरीलाई प्रयोगकर्ता वा व्यापारीले दुई हजार दिने लोभमा जिउभरि लागुऔषध बेरेर नेपाल पठाउँदा प्रहरीले पक्राउ गरेको थियो। ‘मलाई फसायो, दुईहजार दिन्छु भनेर जोगबनी पठायो,’ उनी भन्छिन्।

दशगजा आसपास क्षेत्र लागुऔषधको ट्रान्जिट प्वाइन्ट 

नेपाल, भारतको सिमाना क्षेत्रमा रहेको विराटनगर रानीको आसपासको क्षेत्र लागुऔषध सेवन गर्ने ट्रान्जिट प्वाइन्टको रूपमा छ। हाल नेपालमा लागुऔषधको माग बढ्दै गहिरहेको छ। फितलो प्रशासनिक संयन्त्र र खुला सिमानाको फाइदा उठाउँदै मैलाउँदै गएको अवैध कमाउ धन्दा एकातिर छ भने अर्केतिर त्यसको दलदलमा फसिरहेका छन् यहाँका युवायुवती।

जोगबनी र रानी क्षेत्रको नेपाल र भारत जोड्ने दशगजा क्षेत्रका प्रत्येक जसो घरमा लागुऔषधको अवैध बिक्री वितरण हुने गरेको छ। त्यस  क्षेत्रमा नेपालबाट दैनिक ४००  देखि ५०० को संख्यामा नेपाली युवाले लागुऔषध प्रयोग गर्न जाने गरेको स्वयं प्रहरी अधिकारीहरू बताउँछन्। त्यस क्षेत्रमा लागुऔषधको मात्रै दैनिक १० लाख रुपैयाँको कारोबार हुने सीमा क्षेत्रका नेपाली बताउँछन्।

फेन्सिडल, कोरेक्स, नाइट्रोजन, खैरो हिरोइन, चरेस, स्माक्स्मो प्रोक्सिन, कोकिन लगायतका लागुऔषध पाइने गरेको यस ठाउँमा लागुऔषधको दुरुपयोग तथा अवैध कारोवारले सीमा नाघेको छ। यसले विश्वव्यापी रूपमा समस्या र अपराधको असह्य पीडा दिएको मात्रै छैन लागुऔषधको दुरुपयोग र यसका प्रयाेगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रिकै भविष्य अन्याेल बनिरहेको छ। 

लागुऔषध प्रयोगकर्तालाई प्रहरीले चिने पनि सामान्य सम्झाई बुझाई गरी छाडिदिने गरेकाले यसले झनै व्यापकता पाएको हो। नेपालमा लागुऔषधको माग बढेकै कारण नेपाल भित्र्याउनेले चुनौती मोलेरै भए पनि भित्र्याइरहेका छन्। ठूलो परिमाण लागुऔषध पक्रन नेपाल प्रहरी तत्पर र सफल भएको भए पनि यसको रोगथाम भने हुन सकेको छैन। लागुऔषध ओसार-प्रसार गर्नेकै निम्ति बालबालिका तथा युवतीको संख्या बढिरहेको प्रहरीकाे भनाइ छ। 

लागुऔषध हाल आएर अन्तर्राष्ट्रियस्तरमा मुद्दाको विषय बनेको भए पनि नेपालमा भने लागुऔषधका सबालमा स्पष्ट नीति नहुँदा यसको प्रयाेगकर्ताप्रति दिन बढ्दो क्रममा छ। हाल प्रदेश १ मा मात्र करिब दुई लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको बताइन्छ। राज्यबाट लागुऔषध नियन्त्रणका लागि कुनै पनि किसिमको बजेट नआउने र अन्तर्राष्ट्रियस्तरका एनजिअाे आइएनजिअाेले कार्यक्रम ल्याए पनि दीर्घकालीन रूपमा नरहनाले यसले झनै आश्रय पाइरहेको नवज्योति सुधार गृहका सचिव सुशील रिजालको भनाइ छ। रिजालका अनुसार नेपालमा छिमेकीको घरमा लागुऔषध प्रयोगकर्ता हुनु भनेको समाजको र राज्यकै समस्या हो, त्यसलाई निराकरण गर्नुपर्छ भन्ने मानसिकताको कमी छ।

‘सचेतना कार्यक्रम आवश्यक छ। राज्य र समाजले जसको घरमा लागुऔषधको समस्या छ त्यो त्यसकै मात्र समस्या हो भन्ने बुझ्दा समस्या भयो,’ रिजालको भनाइ छ, ‘समाजले र राज्यले त्यो समस्या सबैको हो भन्ने बुझ्न आवश्यक छ।’ लागुऔषध पनि एक प्रकारको औषधि रहेको र यसको सदुपयोग नभई दुरुपयोग गर्नेले असर देखिने हो। हाल आएर लागुऔषध प्रयोगकर्तालाई नै लक्षित गरेर औषधिकै नाम राखेर जोगबनी क्षेत्रमा  लागुऔषध उत्पादन र बिक्री वितरण भइरहेको छ। ‘भारतका विभिन्न कम्पनीहरूले ड्रग युजरलाई टार्गेट गरेरै औषधि निर्माण गरेको देखिन्छ। त्यसखालका औषधि प्रयोग गरेको छोटो समयमै समस्या देखिन्छ,’ न्युलाइफ फेलोसिप सुधार गृहका सचिव सञ्जीव चापागाईंको भनाइ छ।

नेपालमा लागुऔषध प्रयोगकर्ताको व्यवस्थापन र भावीपीडिलाई त्यसतर्फ नजान सचेत गराउनुपर्ने चुनौती रहेको चापागाईंको भनाइ छ। लागुऔषध ओसारपसारलाई निश्चित कानुनी दण्ड जरिवाना रहेको भए पनि प्रयोगकर्ताको हकमा भने सचेतना नै मुख्य हो। यसलाई समाजिक तथा विद्यायालस्तरबाटै सचेतना फैलाउदै लैजानुपर्दछ। लागुऔषध ओसारपसार तथा दुर्व्यसनीलाई प्रहरीले ‘क्राइम म्यापिङ’मा राखेको छ। जुन जिल्लामा हुने टप ५ वटा अापराधिक क्रियाकलाप मध्येको एक हो।

‘कानुनको अनभिज्ञताले गर्दा पनि दुर्व्यसनीकाे संख्या बढ्दो छ। हामीले त्यसलाई ध्यानमा राख्दै  स्कुल सम्पर्क अभियान कार्यक्रम सञ्‍चालन गरेर लागुऔषध दुर्व्यसनी विरुद्धका कानुनको विषयमा जानकारी दिने र सचेतना जगाउने काम गरिरहेका छौं,’ प्रदेश १ प्रहरी कार्यलयका प्रहरी प्रवक्ता सुमनप्रसाद तिम्सिनाले भने, ‘प्रयोग गरिरहेका युवाको लागि काउन्सिल नै मुख्य कुरा हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.