|

महोत्तरी : जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा गत एक सातादेखि फैलिएको झाडापखालाबाट अझै नियन्त्रणमा आउन सकेको छैन। जलेश्वर नगरपालिका १२ अन्तर्गत रहेको नैन्हीमा गत शनिबारदेखि फैलिएको झाडा-पखालाका विरामी बढ्दै गएको छ। 

शनिबार दिउँसो १२ बजे सम्म झाडा-पखाला विरामीको संख्या १९० पुगेको जनाइएको छ। भारतीय सिमावर्तीसँग जोडिएको दशगजा क्षेत्रमा झण्डै ३५० घर परिवारहरू रहेको सो क्षेत्रमा मस्लिम बस्ती रहेको छ। बस्तीभरि नै झाडापखालाको महामारी फैलिदा त्यहाँका अन्य बासिन्दाहरू चिन्तामा डुबेका छन्। झाडा पखालाको महामारी नियन्त्रणका लागि जलेश्वर नगरपालिका स्वास्थ्य प्रमुख डा. सुबोध मिश्र, नगरपालिका स्वास्थ्य संयोजक संजय शर्मा र जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वको १५ सदस्यीय चिकित्सक टोली खटाइएको छ। गत एक साता गाउँमा झाडापखाला फैलिए पनि एक ४ वर्षीया बालिकाको मृत्यु भएपछि मात्र घटना बाहिर आएको थियो। 

घटना बाहिर आए लगत्तै असोज २ गतेदेखि नै नैन्हीको झाडापखाला प्रभावित क्षेत्रमा चिकित्सक टोलीले उपचार गरिरहेको जनस्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए। बिरामीहरूमा पखाला चल्ने, बान्ता हुने लक्षण देखिएको र लगतै बिरामी सिकिस्त हुने गरेका छन्। 

झाडा-पखाला फैलिएको स्थानमा गम्भीर अवस्था  भएकाहरू मध्ये हाल १८ जनालाई  महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा भर्ना गराई उपचार भइरहेको छ भने बाँकीलाई नैन्हीकै मदरसामा उपचार भइरहेको छ। जिल्ला अस्पताल जलेश्वरका डा. सुबोध मिश्रका अनुसार खेतमा पानी जमेको स्थानमा पाइएको माछा खाँदा तथा खुल्ला स्थानमा शौचपछि कुखुराजन्य संक्रमणका कारण उक्त टोलमा भाडापखला फैलिएको हुन सक्ने अनुमान छ। चिकित्सक मिश्रले भने,‘झाडा-पखालाका बिरामीहरू अझै बढिरहेका छन्। स्थिति नियन्त्रण भन्दा बाहिर पनि हुन सक्छ, भन्न सकिने अवस्था छैन। अन्यत्र संक्रमण फैलिन नदिने गरी नियन्त्रणको काम भइरहेको छ।’

नैन्हीमा गत ३ महिना पूर्व मात्र नौलो घुम्ती नामक गैरसरकारी संस्थाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि बाटोघाटोमा जताततै खुलमखुलामा दिशा गरेको पाइएको छ। शौचालय भएका घरका मानिसहरू समेत शौचालय नगई खुल्ला स्थानमा शौच गएको देखिएको छ। 

जलेश्वर नगरपालिका १२ नैन्हीको दशगजासँगै रहेको मुस्लिम टोलमा गत सोमबार मात्र झाडा-पखालाबाट ४ वर्षीया खुश्वु खातुनको भदौ ३० गते मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.