|

बाँके : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान कार्यान्वयन गर्न वर्तमान सरकार उदासीन भएको आरोप लगाएका छन्। संविधान कार्यान्वयन हुन नसकेकोले उनले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्नबाट चुकेको समेत दावी गरे। ‘हत्या, हिंसा, अपहरण, बालिका बलात्कारका घटना नभएको दिन नै छैन,’ उनले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै हिंसाका घटना घटाउन कार्यकर्तालाई प्रेरित गरेको बताए।

सरकारको बचाउका लागि अरिंगाल झैँ झम्टिन कार्यकर्तालाई निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउन खोजेको उनको आरोप छ। ‘प्रधानमन्त्री ज्यूको अभिव्यक्ति ऐन विपरित छ। देशमा शान्ति,सद्भाव होइन हिंसा चाहेको जस्तो देखिन्छ,’ उनले भने।

सरकारको मूल्यांकन गर्ने बेला अझैँ भइनसकेको कांग्रेस प्रवक्ता शर्माको भनाई छ। उनले  सरकार गठन भएको ६ महिना मात्रै भएकाले वर्तमान सरकारको कामको आलोचना गर्ने समय भइनसकेको बताए। ‘आर्थिक समृद्धि र विकासका बारेमा सरकारको आलोचना गर्ने समय भएको छैन। शान्ति, सुरक्षाको सन्दर्भमा भने सरकार चुकेको छ,’ नेता शर्माले टिप्पणी गरे। 

प्रधानमन्त्री ओली क्षमताबान र जेलनेल भोगेको नेता भएको बताउँदै उनले कार्यक्षमता भने कमजोर भएको बताए। कामले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उनको भनाई थियो। ‘जनताले न्याय मागिरेका बेला प्रधानमन्त्री बालुवाटारमा गोत्रको भेला गर्दै हुनुहुन्थ्यो,’ उनले भने। प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई तिहाईको दम्भ त्याग्न प्रधानमन्त्रीसँग आग्रह गरे। उनले नेकपाका नेता बामदेव गौतम चुनाव लड्ने हल्लाको समेत चर्चा गरे। उनले गौतम जुन निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गरे पनि उनलाई हराएर देखाउने चेतावनी दिए। 

प्रवक्ता शर्माले नेकपाले कुनै सिट खाली गराएर नेता गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा वर्तमान सरकारको जनमतको परीक्षण हुने बताउँदै उनले गौतमलाई सांसद हुने मोह त्याग्न सुझाव दिए। ‘गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो  निर्वाचन क्षेत्र खाली गराउँदा राम्रो होला,’ उनले भने, ‘निर्वाचन क्षेत्र छिटो छिनोफानो भए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.