|

दमक(झापा) : केही समययता भएको मौसमी परिवर्तनका कारण विभिन्न प्रकारका सरुवा रोगको जोखिम बढेपछि दमकमा लामखुट्टेको लार्भा नष्ट पार्ने कार्य सुरु भएको छ।दमक नगरपालिकाले बिभिन्न स्थानका सम्भावित ठाउँमा टोलीनै परिचालन गरी लामखुट्टेको लार्भा नष्ट पार्ने क्रम सुरु गरेको हो।

दमक नगरपालिका स्वास्थ्य शाखाका संयोजक इन्द्र अर्यालले बिभिन्न मौसमी रोग फैलिन नदिन जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको बताए। यस्तै यस बेलामा डेंगु लगायतका रोगहरू पनि फैलन सक्ने भएकाले लार्भा खोज्ने र नष्ट गर्ने अभियाननै चलाइएको उनले जानकारी दिएका छन्।

लामखुट्टेले बिभिन्न ठाउँमा जमेको पानीमा फूल पार्ने र त्यसैबाट रोग समेत फैलने भएकाले लार्भा र फूलनै खोजी गरी नष्ट गर्ने कार्य सञ्चालन गरिएको उनले जानकारी दिए। यस्तै दमक अस्पतालले पनि बिरामीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अस्पतालका स्वास्थ्यकर्मी नगेन्द्र भट्टराईले मौसमी परिवर्तनका बिरामी छिटफुट आउने गरेको भन्दै यस्तो समस्या नियमित रहेको बताए।

प्राय मौसम परिवर्तनमा यस्तो समस्या देखिने गरेको तर सावधानी अपनाउन भने जरुरी रहेको उनले बताएका छन्। मौसम परिवर्तनका बेला पानीबाट धेरै रोगहरू फैलन सक्ने भएकाले पानी सकेसम्म उमालेर मात्र पिउन स्वास्थ्यकर्मीको सुझाव छ। दमकका विभिन्न अस्पतालमा केही समययता भाइरलजन्य रोगका बिरामीहरू आउन थालेको भन्दै स्वास्थ्यकर्मीले नआतिन तर सतर्क रहन आग्रह गरेका हुन्।

मौसम परिवर्तन भएका बेला ज्वरो, रुघा-खोकी जस्ता स्वास्थ्य समस्या देखिने भएकाले सतर्क रहन आग्रह गरिएको हो। यस्तै लामखुट्टेका कारण पनि धेरै रोगहरू फैलने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन सुत्दा अनिवार्य झुलको प्रयोग गर्न, वातावरण सफा राख्न, पानी जम्ने खाल्डा खुल्डी पुर्न, घरमा खाली बट्टाहरू नराख्न वा सफा गरि रहन समेत स्वास्थ्यकर्मीको सुझाव रहेको छ। 

दुईवर्ष अघि दमकमा डेंगु महामारीकै रुपमा फैलिएको थियो। त्यस यता डेंगु नियन्त्रणका लागि बिभिन्न चेतनामूलक कार्यक्रम समेत हुँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.