|
फाइल फोटो

विराटनगर : प्रदेश १ प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदले सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन्।

आइतबार बसेको प्रदेशसभा बैठक नेकपाका सांसद वसन्तीदेवी यादवले तीन तहकै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताइन्।  देशभर बलात्कार र हत्याको घटना हुँदा पनि दोषीलाई कानुनी दायरामा ल्याउन सरकार चुकेको भन्दै सांसद यादवले सरकारको आलोचना गरेकी हुन्। उनले सरकारको काम प्रभावकारी नभएको जनगुनासो बढिरहेको भन्दै आफू नेकपाकै सांसद भए पनि त्यो विषय उठाउन बाध्य भएको बताइन्।

बैठकमा अर्का सांसद मोहम्मद ताहिर मियाँले सुनसरीको हरिनगरमा असोज ४ गते स्थानीय खुर्सिद अन्सारीको हत्या गर्नेहरू सुरक्षाकर्मीको लापरबाहीकै कारण भाग्न सफल भएको आरोप लगाए। घटनास्थलदेखि आधा किलोमिटर दूरीसमा मात्रै रहेको प्रहरी घटनाको ४५ मिनेटपछि मात्रै घटनास्थलमा पुगेको भन्दै उनले सीमा क्षेत्रमा रहेका प्रहरीहरूको ध्यान सामान ओसारपसार गर्नेहरूसँग पैसा असुल्नेमा मात्रै रहेको दाबी गरे।

अर्का सांसद विजयकुमार विश्वासले विराटनगर–विराटचौक सडकको समयमै मर्मत नहुँदा दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले विराटनगर ४ स्थित आयल निगम आसपास सडकमै ट्यांकर पार्किङ गर्दा ट्राफिक समस्यासहित दुर्घटनाको जोखिम बढेकाले त्यसलाई व्यवस्थापन गर्न जोड दिए।

सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकास समितिको तर्फबाट सांसद अगमलाल चौधरीले प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको समितिको प्रतिवेदन पेस गरे। समितिले हिंसा पीडितको उपचार राज्यको कोषबाट गर्नुपर्नेसहित विधेयकमाथिका विभिन्न दफालाई संशोधन गर्न प्रस्ताव गरेको छ।

यस्तै संसद बैठकले प्रदेश सुशासनको प्रत्याभूत गर्ने सम्बन्धी बनेको विधेयकलाई दफावार छलफलका समितिमा पठाएको छ। बैठकले विधेयकलाई दफावार छलफलको न्याय प्रशासन तथा विधायन समितिमा पठाउन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले गरेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो। संसदको अर्को बैठक असोज १० गते बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.