|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको विकासका लागि फाँसीमा झुण्डिन पनि तयार रहेको बताएका छन्। आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले केही समय अघि पोखरामा भएको मुख्यमन्त्रीहरू भेलालाई लिएर भएको टीकाटिप्पणीपछि यस्तो बताएका हुन्। 

‘हामीले संघीय सरकारविरुद्ध कुनै घेराबन्दी गर्‍या पनि होइन। कुनै विरोध गर्‍या पनि हाेइन,’ गुरुङले भने, ‘प्रदेश सरकारलाई सफल पार्नको लागि प्रदेशसभाको गौरव बढाउनको लागि गण्डकी प्रदेशको विकासका चरणहरू पूरा गर्नका लागि फाँसीमा झुण्डिन पनि तयार छु।’ 

बजेट कार्यान्वयन नहुने डर

संघीय सरकारले धेरै कामहरू स्थानीय तहले गर्छ भन्ने नाममा अधिकारहरू सबै माथि राखेको उनको भनाइ छ। ‘हामीलाई भौतिक संचनाहरू चाहियो, काम गर्ने ठाउँ चाहियो, कर्मचारी छैन, कुनकुन कार्यालय हाम्रो मातहत रहने भन्ने अझै छिनोफानो लागेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा पनि हामी केही गर्छाैं भनेर लागेका छौँ। अहिले के लागिरहेको छ भने कतै २४ अर्ब तीन करोडको बजेट छ। त्यो पनि कार्यान्वयन गर्न नसक्ने हो कि भन्ने चिन्ता डर लागेको छ।’ प्रदेशका विभिन्न मन्त्रालय मातहतका कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत भएको धेरै समय भइसके पनि कर्मचारी नपठाएको प्रति गुरुङ रुष्ट छन्। 

संविधान संशाेधन गरियोस्

उनले प्रदेशका केही कुराहरू मिलाउनको लागि संविधान संशाेधन गर्न आवश्यक रहेको समेत बताए। उनले गण्डकी प्रदेशको नवलपुरको उदाहरण दिँदै यस्तो बताएका हुन्। ‘संविधान संशाेधन गरियोस्,’ उनी भन्छन्, ‘हाम्रो संविधानले भन्छ बर्दाघाट सुस्ता प्रदेश ५ मा तर सुस्ता गाउँपालिकाको पहिलो बैठकले हामी पाँच नम्बरमा हाेइन चार नम्बरमै रहन चाहन्छौँ भने निर्णय गरिसकेको छ। त्यो हाम्रो संविधान मुताविक छ। त्यसकारणले संविधान संशाेधन गरियोस्। संविधानले बर्दाघाट सुस्ता पूर्वपट्टी भन्या छ त्यसलाई नवलपुर बनाइयोस्।’

सुस्तासँग पानीबाट मात्र जोडिएको भन्दै उनले चिन्ता ब्यक्त गरे। नवलपुर जिल्ला ७६ औँ जिल्ला भएकोले त्यहाँ हुनु पर्ने कुनै पनि कार्यालय नभएको भन्दै उनले केन्द्र सरकारले आफू मातहतका कार्यालयहरू तत्काल स्थापना गरिदिनु पर्ने बताए। ‘धेरै सरोकारवालासँग छलफलमा यो कुराहरू भनेका छौँ। तर पनि आजको दिनसम्म कुनै सुनुवाई भएको छैन’ उनले भने। 

काम कहिले गर्ने ? 

कामको जिम्मा लिएर बसेकालाई तत्कालै काम लगाउन संघीय सरकारले चासो नदेखाएको प्रति उनको गुनासो छ। ‘हाम्रो प्रदेशमा अन्तर्राष्ट्रिय हवाई मैदान बन्दैछ। २०२१ बाट सुरु हुन्छ। काठमाडौं-मुग्लिन बाटो बन्ने कुरा भइरहेकै छ। एडिबीले भैरहवा पोखरा जोडने भनिरहेकै छ। काम चाहिँ कैले सुरु गर्ने? बूढी गण्डकी करिडोर बनाउने कुरा गरिरहेका छौँ।’ अहिले गर्ने भनेका सडकमार्ग र हवाई मार्ग समयमै बने गण्डकी प्रदेश यातायात क्षेत्रमा सुविधायुक्त प्रदेश हुने भएकोले पर्यटन विकास, औद्योगिक विकास, उद्योगको आधुनिकीकरणले पनि फड्को मार्ने उनको भनाई छ।

पोखरा, पर्यटन, शिक्षा, खेलकुदको हिसाबले अन्तर्राष्ट्रिय हब बन्ने उनको भनाइ छ। उत्तर-दक्षिण, पूर्व-पश्चिम जोडिन गण्डकी प्रदेशलाई मार्ग प्रशस्त रहेको उनले बताए। पदेश सभामा पौने २ घण्टा सम्बोधन गरेका मुख्यमन्त्री गुरुङले भारतसँगको सीमाको छोटी भन्सार कोरला नाकालाई बेलैमा भौतिक संरचना निर्माण गरेर सञ्चालन गर्नुपर्ने बताए। 

लगानी सम्मेलन

प्रदेशको मास्टर प्लानिङ गरेर लगानी सम्मेलन गर्ने उनले बताए। ‘हाम्रो प्रदेशमा केके गर्न सकिन्छ। पाँच वर्षमा हाम्रो प्रदेशमा यो यो गर्न सकिन्छ। १० वर्षमा यो गर्न सकिन्छ, यो-यो योजना छ। हाम्रो सोहीअनुसार कार्यक्रमहरू ल्यानलाई हामी तयारी गर्दैछौँ। त्यसको लागि माननीय सदस्य ज्यूहरूको पनि महत्वपूर्ण भूमिकाको आशा गर्दछु।’ संघीय सरकारले गर्ने लगानी सम्मेलनभन्दा अघि या पछि समय मिलाएर प्रदेशले लगानी सम्मेलन गर्ने उनको भनाई छ। 

प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय कमिटी

संघीयताको कार्यान्वयन गर्नका लागि उच्चस्तरीय कमिटी बनाउन उनको सुझाव छ। ‘संघीयता कार्यान्वयनको लागि एउटा उच्चस्तरीय कमिटी बनाऔँ,’ उनले भने ‘कमिटिको संयोजक प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनको लागि सहयोग पुगोस्। त्यसको कार्यान्वयनको लागि मुख्य सचिवको संयोजकत्वमा सचिवालय बनाऔँ। अन्तर प्रदेश परिषदको कार्याविधि बनाउनु पर्‍यो। यसलाई सम्पन्न बनाएर संघ र प्रदेशको पुलको काम चाहिँ अन्तर प्रदेश परिषदलाई राख्नुपर्‍यो।’

लोकसेवाको स्थापना नभएसम्म, कर्मचारी नपठाएसम्म काम गर्न नसकिने उनको तर्क छ। ‘कतिपय ठाउँमा प्राविधिक कर्मचारी हुन्छ। तत्कालै करारमा राख्न सक्ने व्यवस्था गरिदिनु पर्‍यो,’ उनले भने, ‘प्रदेशमा अनुसन्धान ब्युरो गठन गर्ने प्रावधान छ। त्यसको पनि ढोका खोलिदिनु पर्‍यो। जल र जमिनको अधिकार संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्छ।’ कार्यक्रम र योजना नभएकोले बजेट कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ। 

रेड लाइट एरियाको बहस

पोखरामा रेडलाइट एरिया तोक्ने विषयलाई केही दिनअघि मुख्यमन्त्री गुरुङले बहसको रूपमा ल्याएसँगै अहिले सर्वत्र आलोचना भइरहेको छ। सोही विषयलाई आइतबारको प्रदेशसभामा मुख्यमन्त्री गुरुङले थप प्रष्ट्याए। ‘पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भइरहेको छ। नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ। त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो’ उनले भने, ‘किनभने ५/७ वर्षपछि यति धेरै बाटो बन्दैछ। पोखराको होटल ९ बजे बन्द हुन्छ। इन्टरनेशनल फ्लाइट हुन्छ। कुनै फ्लाइट ११ बजे उत्रिने हुन्छन्। कुनै चाहिँ २ बजे उत्रिने खालको पनि हुन सक्छ। अनि २ बजे आउने पर्यटकले पोखरामा सुत्न पाउने कि नपाउने? यस्तो भयो भने पोखरामा पर्यटक आउँछन् कि आउँदैनन्?’ 

तत्काल बैदाम क्षेत्रलाई २४ सै घण्टा खोलेर अन्य क्षेत्रलाई विस्तारै सधैँ खुल्ने बनाउनुपर्नेमा उनको जोड छ। ‘सिंगो पोखरालाई नसके पनि बैदामलाई चौविसै घण्टा खोलौं,’ उनले भने, ‘जुन शहर २४ सै घण्टा निदाउँदैन त्यो सहर विकसित भएको छ। सिफ्टमा कर्मचारी राखेर भए पनि होटल चालू गर्नुपर्छ। त्यही सन्दर्भमा केही साथीहरूको सुझाव थियो। माग चाहिँ छ भित्रभित्रै। यहाँ अव्यवस्थित यौन व्यवसाय छ। यसलाई ब्यवस्थित गर्नुपर्‍यो भन्नुभएको छ। मैले मात्रै के भनेको हो भने समाज दुईतिर विखण्डित हुँदै गयो। कुहिँदै गयो। हाम्रो नैतिकता, हाम्रो मौलिकता चाहिँ कमजोर भइरहेको छ। समाजमा यस्तो धेरै घटना भएको छ।’  

पीडितलाई कारबाही नहुने व्यक्तिहरू छुटिरहने घटना बढ्न थालेकोले रेडलाइट एरियाको विषयलाई छलफलको रुपमा ल्याएको उनको भनाई छ। यौन व्यवसायको बारेमा आफूले धेरै अध्ययन नै गरिसकेको भन्दै उनले संसारका धेरै देशका अभ्यासबारे जानकारीसमेत गराए। ‘यौन व्यवसायको बारेमा संसारमा धेरै अभ्यासहरू छन्’ उनले भने, ‘युरोपका धेरै देशको व्यवसाय मैले अध्ययन गरेँ। यसमा चारवटा कुरा छन्। एउटा भनेको प्रतिबन्ध लगाउने हो। दोस्राे जे जे अपराध भए पनि छोडिदिने हो। तेस्राे कानुन निर्माण गरेर रेगुलेसन गर्ने कुरा रहेछ। र अन्तिममा निर्मुल गर्ने अभियान सञ्चालन गर्ने भन्ने कुरा छ। चारवटा मध्ये एउटा त गर्नेपर्छ। हामीलाई जे उचित लाग्छ त्यसैमा बहस चलाऔँ भनेको हो।’

मुख्यमन्त्रीले आसन्न चीन भ्रमणको विषयमा पनि सभामा जानकारी गराए। उनले गण्डकी प्रदेशको विकास समृद्धिको लागि मितेरी साइनो लगाउने, पोखरासँग भगिनी सम्बन्ध कायम गर्ने विषयमा उनले जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.