|

काठमाडौं : पछिल्लो समय नेपाली राजनीति वृत्तमा अरिंगाल र मौरीको खुबै चर्चा छ। सरकारप्रति जनआक्रोस बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अरिंगाल जस्तै बनेर विरोधिमाथि हमला गर्न कार्यकर्तालाई निर्देशन दिए।

त्यसपछि अरिंगालले नेपाली राजनीति वृत्तमा निकै चर्चा पायाे। प्रधानमन्त्री ओलीको आलोचना बढेसँगै पुन: ओलीले कार्यकर्तालाई मौरी जस्तै एकजुट हुन निर्देशन दिए। यो नेकपा मात्र होइन नेपाली राजनीतिमै चर्चाको शिखरमा पुग्यो।

‘मौरी’ ले अहिले नेपाली कांग्रेसभित्र पनि प्रवेश पाएको छ। कांग्रेसमा परिवारवाद हाबी भएको बेलाबेला चर्चा हुने गर्छ। पार्टी नेतृत्वको आसेपासेले मात्र अवसर पाउने र पार्टीमा साच्चिकै दु:ख गरेका कार्यकर्ता सधैँ ‘बाइपास’ भएको चर्चा चल्ने गरेको छ।

यही सन्दर्भलाई समेट्दै पार्टी युवा नेता गुरुराज घिमिरेले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्। उनले मौरीको सन्दर्भ निकाल्दै नेतृत्वको आलोचना गरेका छन्। स्टाटसमाफर्त घिमिरेले पार्टीलाई दु:ख गरेर यहाँसम्म ल्याउने कार्यकर्ता सधैँ पछि परेको र नेतृत्वको असपास कुद्ने नेता सधैँ अवसरको भागेदार बनेको प्रति संकेत गरेका छन्।

घिमिरेले मैरीलाई संकेत गर्दै लेखेका छन् :

नेपाली कांग्रेसमा भाले मौरीहरूको बिगबिगी छ। हरेक पटक अवसर तिनैले छोप्छन, कर्मी मौरी सधैँ काम गर्छन्, मह बटुल्छन्, चाका बनाउँछन् र मौरीको पहिचान बनाउँछन तर भालेले सबै चिज घुमिघुमी हसुर्छन्,कर्मी मौरीहरू सधैव उपेक्षित छन् ,यस्तै छ यहाँको बिडम्बना!

‘पार्टीमा मिहिनेत गर्ने सधैँ अवसरविहीन बन्छन्, नेताको पछि कुद्ने अवसरको भागेदार हुन्छन्। यसैको विरोध गर्न खोजेको हो’, स्टाटसबारे बुझ्दा घिमिरेले भने, ‘चोरलाई चौतारो साधुलाई शूली जस्तो भएको छ पार्टीमा।’ पार्टीका सबै कार्यकर्तालाई यही भएको उनी तर्क गर्छन्। ‘यो मेरो मात्र विषय होइन। सबै कार्यकर्ताको समस्या हो’, उनले भने, ‘नराम्रो काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.