|

कपिलवस्तु : कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल (बलदेव)ले व्यावसायिक दुग्ध उत्पादन गर्न कृषकसँग आग्रह गरेका छन्। उत्पादित दूधले बजार नपाइरहेको गुनासो आइरहेको बेला मन्त्री खनालले अब सरकारले किसानको दूध सहजै खरिद गर्ने बताए।

मिल्क होलिडे हुन नदिन डिडिसीको पाउडर प्लान्टको क्षमता वृद्धिका लागि पहल गरिरहेको उनले बताए। 'नेपालमा अहिले पनि उत्पादन भएको दूधभन्दा खपत बढी छ। उत्पादन बढाउनुहोस्, हामी किन्छौँ', मन्त्री खनालले भने। आइतबार कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित छत्रपाली तीर्थादेवी माविका विद्यार्थीलाई दुग्धपानको महत्त्वबारे सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले किसानले दूध उत्पादन र बिक्री मात्र नभई सेवन पनि गर्नुपर्नेमा जोड दिए। 'बरु उत्पादन बढि गरौँ, आफू पनि सेवन गरौँ', उनले भने।

दूधमा पाइने तत्त्वहरूले बालबालिकाको मस्तिष्क विकास गर्ने भएकाले दूध र दूधजन्य वस्तु सेवनमा जोड दिन उनले आग्रह गरे। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा गरिएको उक्त कार्यक्रमा बोल्दै कृषिमन्त्री खनालले दूध उत्पादनका लागि पशु नश्ल सुधार र उन्नत घाँस, बिउबीजन उप्लब्ध गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए।

मन्त्रालयले प्रदेश र स्थानीय तहमार्फत् गोठ सुधार कार्यक्रम तथा विभिन्न पशु विकास कार्यक्रमहरू ल्याएको भन्दै त्यसको लाभ उठाउन किसानलाई आग्रह पनि गरे। किसानले अब दूधदेखि तरकारीसम्म सबै व्यावसायिक उत्पादनमा जोड दिए मात्र देश आत्मनिर्भरतातर्फ जाने खनालले बताए।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले लुम्बिनी क्षेत्रलाई दूधमा आत्मनिर्भर बनाउँदै निर्यातमुखी बनाउन रूपन्देही र कपिलवस्तुका दुग्ध सहकारीलाई अभिमुखीकरणसमेत गरिएको बताए।

दुग्धजन्य वस्तु सेवन र स्वास्थ्यमा फाइदाबारे बोर्डको अभियान विद्यालयमार्फत् सुरु गरिएको पनि पन्तले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.