|

डडेल्धुरा : कुनै समय डडेल्धुराको एक सामुदायिक रेडियोमा कार्यक्रम चलाइरहँदा उनलाई धेरै थोरैले मात्रै चिन्थे। तर अहिले आएर उनलाई देश विदेशमा चिन्न थालेका छन्। डडेल्धुराको अमरगढी– ६ दुमडाका जनक ताम्राकार अहिले गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन्। 

यसरी सुरु भयो जनकको सांगीतिक यात्रा

डडेल्धुरा अमरगढी नगरपालिका- ६ दुमडास्थित गणेशमान स्मृति विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दा विद्यालयमा बालगीत प्रतियोगिताहरू भइरहन्थे। यही समयमा उनले पनि बालगीत विद्यालयमा गाए। उनले गाएको त्यो गीत सबैले मन पराए।

त्यसपछि उनको मनमा लाग्यो कि म पनि गीत गाउन सक्छु। उनले संगीत क्षेत्रमा लागेर गायन कलालाई श्रोता दर्शकमाझ पस्किने निधो गरे। बेलाबेला यहाँ हुने सांगीतिक कार्यक्रममा उनको सहभागिता रहिरह्यो। 

‘डडेल्धुरा, दिपायल, धनगढीलगायतका शहरमा आयोजना हुने कार्यक्रमहरूमा आफूमा रहेका प्रतिभालाई देखाउने र सुनाउने मौका पाएँ’, उनी भन्छन्, ‘त्यति बेलादेखि नै जनकले पनि राम्रो गीत गाउँछ भन्ने प्रतिक्रियाहरू पाएँ।’ परिवार, आफन्त र साथीहरूको सल्लाह, सुझाव अनुसार नै संगीत क्षेत्रमा लागेको जनक बताउँछन्।

बुबा र दाजुको प्रेरणाले संगीत क्षेत्रमा

आफू बुबा र दाजुको प्रेरणाले संगीत क्षेत्रमा लागेको उनले बताए। ‘म सानो छँदा मेरो बुबाले गीत गाउने, हार्मोनियम बजाउने गर्नुहुन्थ्यो’, उनले थाहाखबरसँग भने, ‘दाजुले पनि गीत गाउनुहुन्थ्यो। दाजुले रेडियो नेपालदेखि अन्य ठाउँमा गीत गाउनुहुन्थ्यो।’ उनका दाजुले राजा वीरेन्द्रको अगाडि गीत गाएर रजत पदक प्राप्त गरेका र दाजु र बुबाको प्रेरणाले गर्दा नै संगीतमा लागेको उनको भनाइ छ। 

बुबा र दाजुसँग आफूले संगीत सिक्न पाएको उनको भनाइ छ। ‘दाजुबाट मैले गितार, संगीत सिक्ने मौका पाएँ। दाजुले मलाई विभिन्न तरिकाले गीत संगीतहरू सिकाउनुहुन्थ्यो’, उनले भने। त्यो बेलामा उनको पारिवारिक अवस्था नाजुकै थियो। ‘बुबा बिरामी हुनुहुन्थ्यो भने दाजु पनि पढ्दै हुनुहुन्थ्यो’, उनले भने, ‘त्यति बेला गीत रेकर्ड गरेर बजारमा ल्याउनु फलामको चिउरा चपाउनु बराबर नै थियो।’

गायन र पत्रकारिता सँगसँगै

परिवारको आर्थिक अवस्था राम्रो नभएपछि उनले काम गर्ने निधो गरे। डडेल्धुराको अमगरढी– ७ पोखरास्थित उग्रतारा माविबाट एसएलसी पास भएपछि पत्रकारिता गर्ने सोच बनाए जनकले।

अध्ययनलाई निरन्तरता दिँदै सदरमुकाममा रहेको सामुदायिक रेडियो आफ्नो एफएममा काम गर्न थाले। उनले आफ्नो एफएममा करिब एक वर्ष काम गरे। रेडियोमा काम गर्दा यहाँ उनले समाचार लेख्ने, पढ्नेदेखि कार्यक्रमसम्म चलाए। रेडियोमा काम गर्दा पनि उनले संगीतलाई निरन्तरता दिए। 

रेडियोमा काम गर्दा यहाँ आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनको सहभागिता रहन्थ्यो। डडेल्धुरा सदरमुकाममा एक वर्ष रेडियो पत्रकारिता गरेको बताउँदै जनकले तीन वर्षसम्म ओखलढुंगाको रेडियोमा पनि काम गरेको सुनाए।

‘मैले डडेल्धुरामा एक वर्षजति रेडियोमा काम गरेँ। त्यसपछि २०७१ सालतिर पत्रकारिताकै सिलसिलामा ओखलढुंगा गएँ’, उनले भने, ‘ओखलढुंगामा पनि मैले लगभग तीन वर्षजति पत्रकारिता गरेर अहिले काठमाडौँमा छु।’

काठमाडौंस्थित ललितकला क्याम्पसमा अहिले उनी संगीत सिक्दै छन्। काठमाडौँमा अहिले म्युजिकमा डिप्लोमा गरिरहेको उनले बताए। 

तीनवटा गीत बजारमा 

झण्डै एक वर्ष अगाडि जनकले पहिलो गीतको रूपमा ‘जुनकिरी’ बोलको गीत बजारमा ल्याए। आफ्नै दाजु महेश ताम्राकारको शब्द तथा संगीत रहेको जुनकीरी बोलको गीतमा नेपाली र डोटेली भाषाको सम्मिश्रण छ। 

पहिलो गीत नै श्रोताहरूले धेरै मनपराएको प्रतिक्रिया पाएको जनक बताउँछन्। ‘डोटेली भाषाको जगेर्ना गर्न र आफ्नो माया–पिरतीलाई गीत संगीतमार्फत् दर्शक तथा श्रोताहरूलाई मनोरंजन दिने हिसाबले दाजुको शब्द तथा संगीत जुनकिरी पहिलो गीतमा ल्याएका हौँ’, उनले भने, ‘पहिलो गीतबाटै नै राम्रो प्रतिक्रिया पाएँ।’

‘जुनकिरी’को म्युजिक भिडियोसमेत बजारमा ल्याएसकेका छन् जनकले। म्युजिक भिडियोमा नायिका नीता ढुंगाना, मोडेल सनम कठायत र कम्पोजर महेश ताम्राकारको पनि अभिनय रहेको छ। म्युजिक भिडियोलाई सुशन कँडेलले निर्देशन गरेका हुन् भने निर्माता भने खिम मगर छन्।

जुनकिरी हेराइले उज्यालो छोड्यो मायाले मन छोड्यो
जुनकिरी बसाइले विरानो मान्यो सुवाले मन मोड्यो 

पहिलो गीत यसरी बजारमा ल्याए जनकले

ओखलढुंगामा रेडियोमा काम गर्दा नै त्यो समयमा खिम मगरले ‘तपाईंले गीत बजारमा ल्याउनुपर्छ’ भनेपछि आफूले पहिलो गीत बजारमा ल्याएको उनी बताउँछन्। 
‘पूर्वका एक जना दाइ खिम मगरले भाइ तपाईंको आवाज राम्रो छ। तपाईंमा म लगानी गर्छु भन्नुभयो। तपाईं जस्तो प्रतिभावान् व्यक्ति त्यतिकै बस्नुहुँदैन भन्नुभयो’, उनले टेलिफोनमा थाहाखबरसँग भने, ‘त्यसपछि मैले दाजुसँग सल्लाह गरेर जुनकिरी बोलको गीत बजारमा ल्याएँ।’ 

जनकको दोस्रो गीत ‘काफल खान्या कुइयाँ’ बजारमा आयो। आल्मोडा राना उप्रेतीसँगको सहकार्यमा उनले ‘काफल खान्या कुइयाँ’ बजारमा ल्याएका हुन्। ताम्राकारले सुदूरपश्चिमका पाखा पखेरामा गाइने शब्दहरूलाई टिपेर सबै नेपालीहरूले बुझ्न सक्ने शैलीमा त्यो गीत बनाएका छन्। उक्त गीतमा डोटेली र कुमाउँनी लोकभाकाको सम्मिश्रण छ।

काफल खान्या कुइयाँ मर्‍यो ला जुनकिरी सिसाकी गोलीले 
लाग्दै माया बढ्दै गयो ला जुनकिरी त्यो तम्रो बोलीले 

छोटो समयमा नै यस गीतले दर्शक–श्रोतामाझ ठूलो चर्चा कमायो। यस गीतले सफलता पाउनुका पछि गायक ताम्राकारको स्वर नै रहेको धेरैले चर्चा गरे। यो गीत युट्युवमा ३० लाख ४६ हजार  ५०० बढी पटक हेरिएको छ। 

दर्शक–श्रोताहरूको यस्तै साथ सहयोग मिले आफूले नेपाली संगीतमा फरकपन ल्याउने उनको भनाइ छ। ‘काफल खान्या कुइयाँ’ दर्शक–श्रोताको मुखैमा झुन्डिने गीतहरूमध्ये एउटा हो।

जनकको नयाँ गीत ‘लौलौ सररर’ हालै सार्वजनिक भएको छ। ताम्राकारले पछिल्लो समय बजारमा ल्याएको ‘लौलौ सररर’ गीत अहिले चर्चामा छ। लौ लौ सरररमा दाजु महेशको शब्द र संगीतमा भाइ जनकले सुमधुर आवाज भरेका छन्। निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ। 
पहिलो प्रेमको आभासलाई रमाइलो ढंगले यो गीतमा ‘लौ लौ सररर... पिरिमको आकाशैमा, लौलौ फररर सिमलझैँ बतासैमा’ जस्ता शब्दको प्रयोग भएको छ। गीतको भिडियोमा मोडल आकाश श्रेष्ठ र एलिसा राईको अभिनय देख्न सकिन्छ। यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने रेकर्ड हाउस प्रोडक्सनले निर्माण गरेको हो।

नेपाली सांगीतिक बजारमा तीनवटा गीत मात्रै पस्केका ताम्राकार सांगीतिक क्षेत्रमा सक्रिय भएको पनि एक वर्ष मात्रै भएको छ। उसो त उनी बालापनदेखि नै गीत गाउने र गितार बजाउने गर्थे।

गायन र पत्रकारिता सँगसँगै

जनक अहिले दाजु महेशसँगै काठमाडौँमा बस्दै आएका छन्। गायन र पत्रकारिता सँगसँगै लैजाने योजना उनको छ। थुप्रै चुनौतीका बीचमा पनि संगीत क्षेत्रमा नै लागिरहने अठोट जनकको छ। 

‘संगीत क्षेत्रमा सुरुवातमा धेरै नै चुनौती थियो किनभने सांगीतिक क्षेत्रका कोही मान्छे थिएनन्। टिम मिलाउन धेरै गाह्रो थियो। आफूसँग राम्रो गीत, संगीत हुँदाहुँदै पनि त्यसअनुसारको काम गरिदिने स्टुडियो पाउन गाह्रो’, उनले भने, ‘हुनत मलाई थाहा थियो, संगीत क्षेत्रमा निरन्तरता दिन गाह्रो छ भनेर तर पनि मैले त्यो चुनौतीलाई स्वीकार गरेँ र यो क्षेत्रमा लागेँ।’

श्रोताहरूले गर्ने मायाको अगाडि उनलाई ती चुनौतीहरू सानै लाग्छन्। विभिन्न किसिमका चुनौतीहरूलाई चिर्दै संगीत क्षेत्रलाई निरन्तरता दिन पाउँदा आफूलाई खुसी नै लागेको उनको भनाइ छ। आफूले जानेको संगीत र पत्रकारिता भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि गायन र पत्रकारितालाई नै निरन्तरता दिने बताए।‘संगीत क्षेत्रलाई त निरन्तरता दिनु नै पर्‍यो। मैले जे जति जानेको छु, यही संगीत जानेको छु’, उनले भने, ‘अर्को कुरा पत्रकारितालाई पनि निरन्तरता दिन्छु। यी दुइटै कुरालाई सँगसँगै लैजाने विचार छ।’ अबको केही समयछि केही गीतहरू क्रमशः बजारमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.