|

जनकपुरधाम : जनकपुरधाम अञ्चल अस्पतालका दुई जना चिकित्सकले गलत रिपोर्ट दिएको भन्दै सरकारी वकिलको कार्यालय धनुषाले कारबाहीको सिफारिससहित मुद्दा दायर गरेको छ। बालिका बलात्काको घटनामा पीडकलाई उन्मुक्ति दिने किसिमको गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकलाई कारवाही गर्नकालागि मुद्दा दायर गरेको हो। 

धनुषा सरकारी वकिल कार्यालयले स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई कारवाहीको लागि सिफारिस गरेको हो। १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षणको गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा.रम्भा गोइत र डा. भीके सिंहलाई कारवाहीको लागि सिफारिस गरेकाे जनाएको छ। 

जनकनन्दनी गाउँपालिकामा आफ्नो भाइसँग काकीको घरमा बस्दै आएकी १२ वर्षीया बालिकालाई गत भदौ ८ गते राति साढे १० बजे घरमा सुतिरहेको बेला छिमेक जनकनन्दनी गाउँपालिका २ का २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको पीडित परीवारको आरोप छ। तर बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पतालको स्वास्थ्य परीक्षणका रिपोर्टमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको रिपोर्ट दिएको थियो। अर्थात बलात्कार पुष्टि नभएको रिपोर्ट दिएको थियो।

यता इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले अञ्चल अस्पतालको रिपोर्टमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गरायो। सिरहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ’बाइट मार्क’, ’भेजिना क्नगेसन’ र ’ह्यमेन रुप्टुरेड’ देखाएको रिपोर्ट दियो अर्थात बलात्कार भएकाे पुष्टि भयो।

बलात्कार घटनापश्चात भारत भागेका आरोपित खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै उनलाई प्रहरीले पक्राउ गर्‍यो। अभियुक्त खत्वेले प्रहरीसँगको वयानमा आफ्नो अपराध समेत स्वीकार गरिसकेको प्रहरी निरीक्षक थानदारले बताए। बालिका बलात्कार भएको पुष्टि गरेको अस्पताल सिरहा र बलात्कार नभएको पुष्टि गरेको अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट र अभियुक्तले स्वीकारेको वयानको भिडियोसहित सरकारी वकिल कार्यालयमार्फत इलाका प्रहरी खजुरीले जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा समेत दायर गरेको थियाे।

सरकारी वकिलको कार्यालयले अभियुक्त खत्वेसहित स्वास्थ्य रिपोर्टमा छेडखानी गर्ने चिकित्सकलाई समेत कारबाहीको माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गराएको छ। सरकारी वकिलको कार्यालयले यी दुवै स्वास्थ्य रिपोर्टको प्रतिलिपि र अभियुक्तको बयानको भिडियो टेपसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.