पानी प्रयोग नगर्नेलाई पनि महसुल तिराउँदै संस्थान

|

विराटनगर : विराटनगरका निजी पानी उद्योगबाट वितरित पानी गुणस्तरहीन भएको भन्दै प्रदेश १ को सामाजिक विकासमन्त्रालयको निर्देशनमा केही समयअगाडि अनुगमन तीव्र पारियो। अनुगमनपछि पानीको गुणस्तर नापजाँच गरी कोलिफर्म भेटिएका ११ वटा पानी उद्योग बन्द गर्न निर्देशन गरियो।

तर, विराटनगरमा सबैभन्दा धेरै ग्राहकलाई पानी उपलब्ध गराइरहेको नेपाल खानेपानी संस्थानको अनुगमन गर्न र सुधार गर्न भने न त प्रदेश सरकारले चासो दिएको छ न त केन्द्र सरकारको ध्यान नै गएको छ। विगत चार/पाँच वर्षदेखि खानेपानी संस्थानले वितरण गरेको लेदो र आइरनयुक्त पानी विराटनगर-११ पिचराका सर्वसाधरणले प्रयोग गर्न बाध्य छन्। कतिपयले बाध्यताले पानीको प्रयोग गरेका छन् भने कतिपयले प्रयोग नै नगरी मासिक महसुल तिरिरहेका छन्।

पानीमा लेदो, बालुवा र फोहोर आउने गरेको विषयमा खानेपानी संस्थानलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई भएको छैन। उक्त पानी खान योग्य छैन। भाँडामा भरेको पानी केहीबेर राख्यो भने तर (जालो) बस्छ। पानी खान योग्य छ कि छैन भन्ने कुरा नांगो आँखाले पनि हेर्न सकिन्छ।

पानी कहिले पहेँलो आउँछ कहिले रातो आउँछ। पानीको कारण धारा नै रातै बनेका छन्। पानीको पाइपदेखि धाराको टुटी र पानी बग्ने कुलेसो सबै रातो भएको छ। ‘यो पानीले कपडा धुँदा कपडै रातो हुन्छ, नुहाउन पनि हुँदैन, पिउने त कुरै नगरौँ,’ सोही ठाउँका दामोदर अधिकारीको भनाइ छ, ‘पानी नियमित जस्तो आउँछ। तर, पाँच वर्षदेखि लेदोयुक्त पानी आइरहेको छ।’

फोहोर पानी नआउने बनाउनका लागि फिल्टर प्लान्ट जडान गर्नुपर्ने र त्यो अझै एक वर्ष लाग्ने जानकारी गराएको उपभोक्ता बताउँछन्। ‘यहाँका उपभोक्ताले पानी प्रयोग गरेका छैनन्। तर मासिक रूपमा महसुल भने तिरिरहेका छन्,’ स्थानीय मधु राईले भनिन्, ‘पानीको बिल नतिर्दापछि समस्या हुने हो कि भन्ने डरले महसुल तिर्न बाध्य छौँ।’ पछि त राम्रो आउला कि भन्ने आशा छ जनतामा। मानव जीवनमा गम्भीर असर पार्ने पानी वितरण गरिरहेको विषयमा सरकार तथा स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने सर्वसाधरणको भनाइ छ।

११ नम्बर वडाका अध्यक्ष त्रिथेन्द्र न्यौपाने आफैँ पनि सोही संस्थानको पानी उपभोग गर्छन्। तर, पानीको गुणस्तर सुधारमा उनको पहल नपुगेको देखिन्छ। ‘खानेपानी संस्थानले वितरण गरेको पानी खान अयोग्य छ,’ न्यौपानेले भने, ‘सुरुमा दुई/तीन महिनापछि पानी क्लियर हुने भनेको थियो, अहिलेसम्म कार्यान्वयन भएको छैन।’ खानेपानीको फिल्टर प्लान्ट राख्ने गरी काम अघि बढाउन पहल प्रयत्न भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ। आफूले पनि शुद्ध पानी वितरण गर्नका लागि संस्थानलाई घच्घच्याइरहेको उनको भनाइ छ।

पानी उपभोग नगरेपनि सर्वसाधरणले न्यूनतम महसुल ११० रुपैयाँ महिनै पिच्छे बुझाइरहेका छन्। घरमा जोडेको धारा कटाउने प्रक्रिया झन्झटिलो भएको कारणले फोहर पानीको महसुल भने नियमित रुपमा बुझाउन बाध्य भएको सर्वसारधण बताउँछन्। माहानगरपालिको ११, १२ र ६  नम्बर वडाका उपभोक्ताको यो साझा समस्या हो। धाराको पानीले अखाद्य र गुणस्तरहिन रहेका कारण सर्वसारधणले धाराको पानी नै उपभोग गर्न छोडेको बताउँछन्। पुरानो पाइप लाइनिङ जीर्ण भएर लिक हुँदा नालाको पानी मिसिएर उपभोक्ताको धारामा दूषित पानी पुग्ने गरको छ। चार वर्षअगाडि विराटनगरमा जन्डिजको महामारी फैलिएको थियो। त्यसबेला खानेपानी संस्थानले वितरण गरेको दूषित पानी कै कारण जण्डिज फैलिएको भन्दै धेरैले संस्थानको कार्यशैली सुधार र पानीको गुणस्तरीयता कायम गर्न माग गरेका थिए। त्यस बेलादेखि सुधारको माग गरिएको संस्थानले अहिलेसम्म शुद्ध पानी वितरण गर्न सकेको छैन।

प्रदेश १ को एकमात्र महानगरपालिका त्यो पनि अस्थायी राजधानी रहेको विराटनगरमा खानेपानी संस्थानले चार वटा ट्यांकीबाट पानी वितरण गर्दै आएको छ। संस्थानको तीनपैनी, मुनालपथ, देवकोटाचौक र रानीमा रहेको खानेपानी ट्यांकीबाट पानी वितरण हुने गरेको हो। प्रत्येक टयाङ्की साढे ४ लाख लिटर क्षमताको रहेको छ। महानगरपालिका क्षेत्रमा वितरण गर्न दैनिक एक करोड २० लाख लिटर पानी उत्पादन हुने गरेको संस्थानले जनाएको छ। संस्थानले ११ हजार ५४५ धारा जडान गरेको छ। २०४६ सालदेखि पानी वितरण सुरु गरेको संस्थानका पाइप तथा भौतिक संरचना जिर्ण छन्। यद्यपि यही आर्थिक वर्षबाट खानेपानी आयोजनाको बृहत सुधार थालिएको संस्थान विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहको भनाइ छ।

विराटनगरमा ५०/६० हजार उपभोक्ता छन्। तर, खानेपानी संस्थानका ग्राहकको संख्या ११ हजार ५४५ जना छन्। विराटनगरकै केही अरू खानेपानी आयोजनाहरूको ग्राहक त्यही ११ हजारको हाराहारीमा हुनसक्छ। तर अन्य धेरै उपभोक्ताहरू अझै पनि ट्युवेल वा कलकै पानी प्रयोग गरिरहेका छन्। खानेपानी संस्थानले आफूलाई विश्वसनीय र सेवा विस्तार गर्न नसक्दा सर्वसाधरण गुणस्तरहीन पानी खान बाध्य छन्। ‘कलको पानी प्रयोग गर्नु राम्रो हुँदैन,’ स्वयं कार्यालय प्रमुख साहको भनाइ छ। संस्थान प्रमुख साहको भनाइलाई आधार मान्ने हो भने ट्युबेल र कलको पानी प्रयोग गर्दा रोग लाग्न सक्छ। पुनः जण्डिजको महामारी फैलन सक्छ। तर, खानेपानी संस्थानले वितरण गरेको पानी गुणस्तर नहुँदा जनता भने त्यही कल तथा ट्यूबेलको पानी प्रयोग गर्न बाध्य छन्।

संस्थानका प्रमुख साहले पानी रातो लेदो भए पनि जनता आफैँले फिल्टर गरेर खाँदा समस्या नहुने बताउँछन्। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार खानेपानीमा आइरनको मात्रा शून्य दशमलव ३ हुनुपर्ने हो तर पिचरासहित दुई स्थानमा रहेको पम्प स्टेशनको पानीमा १ दशमलव १६ आइरनको मात्रा पाइएको स्वयं प्रमुखको भनाइ छ। ‘आइरन कम गर्न फिल्टर राखेर प्रयोग गर्दा हुन्छ आइरन खाँदा रोग लाग्दैन,’ प्रमुख साह भन्छन्, ‘हामीले वितरण गरेको पानी आइरन बाहेकका सबै मापदण्ड पूरा छ।’

लेदो र बालुवा नआउने पानी कहिलेदेखि उपभोक्ताले पाउलान् भन्ने कुनै टुंगो छैन। तर, आयोजना प्रमुखको कुरालाई आधार मान्ने हो भने आगामि वैशाखसम्ममा नयाँ फिल्ट्रेसन प्लान्ट पिचरामा राखिने छ। त्यसपछि भने यहाँको खानेपानीको समस्या समाधान हुने उनको दाबी छ।

विराटनगरमा अहिले विकास निर्माणको काम चलिरहेको छ। धेरै ठाउँमा त्यसको कारणले पनि पाइप टुटफुट भइरहेको छ। नयाँ सुधार योजनाअन्तरर्गत पाइपलाइन चेन्ज गर्ने, डिजाइन चेन्ज गर्ने र नयाँ ट्यांकी राखिने साहले जानकारी दिए। तर, यो योजना पनि कार्यान्वयन कहिले हुन्छ भन्ने कुनै टुंगो नभएको सर्वसाधरण बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.