|

जाजरकोट : सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा सर्वसाधरण मर्कामा परेका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा उपचार गर्न बाध्य भएको नागरिकको गुनासो छ। 

वर्षायाममा सडक भत्किएको र जिल्ला अस्पतालले औषधि उपलब्ध नगराउँदा औषधि अभाव भएको अधिकारीहरुको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय खारेज भई अधिकारविहीन भएको र समन्वय समेत नहुने भएकाले औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी कृष्णबहादुर खत्रीले बताए। औषधि ढुवानी र खरिदको जिम्मा स्थानीय सरकारलाई दिएकाले जिल्लासँग समन्वय नभएको उनको भनाइ छ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा , दशेरालगायत दुई दर्जन ठाउँम रहेका स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयहरु निजी मेडिकलको भर परेका छन्। चर्को मूल्य तिरे निजी मेडिकलमा उपचार गर्दा आफुहरु हैरान भएको भेरी नगरपालिका–१३ का जुमना गिरीले दुखेसो पोखिन्।

निःशुल्क पाउने औषधि छैन

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

यहाँका स्वास्थ्य संस्थमा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टिन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामिन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अति आवश्यक औषधिको अभाव छ। ज्वरो, आउँ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्ने लगायत रोगको औषधि समेत अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा. सञ्जय यादवले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.