|

काठमाडौं : मान्छेका काम गर्ने तरिका र रहर समयसँगै परिवर्तन हुँदै जान्छन्। कुनै बेला संचारकर्मीका रूपमा नेपाल टेलिभिजनमा देखापरेकी सोभिता सि‌ंखडा नायिका हुँदै अहिले लेखकको रूपमा आएकी छन्। उनले तीन वर्ष लगाएर उपन्यास लेखेकी छन्।  

फिल्मी दुनियाँभन्दा समाजको यथार्थ विल्कुल रहेको बताउने उनले समाजको यथार्थको गहिराइमा पुगेर पुस्तक लेख्ने कोसिस गरेको सुनाइन्। अनगिन्ती सामाजिक कुरीति, विसंगति, आत्मिक प्रेम, बदलिँदो राजनीतिक अवस्था देखेपछि लेखनका लागि अझ आफू अग्रसर भएको उनको भनाइ छ। दर्शनशास्त्रमा स्नातकोत्तर गरेकी उनले आफूले हतार र दबाबमा भन्दा पनि लामो समय अध्ययन गरेर मात्र उपन्यास लेखेको उनले बताइन्। ‘विशेषत: मैले लेखेको उपन्यास एक दलित युवतीको जीवनको कथा हो। लेख्ने क्रममा म यति डुबेछु कि लामो समय आफैँलाई दलित युवती महसुस गरिरहेँ', उनले भनिन्, 'हाम्रो समाजमा अझै पनि दलित भएर आफ्नो पहिचान देखाउन सक्ने अवस्था निर्माण भएको छैन। यस्तै अवस्थाहरूले मलाई लेखनतिर घचघच्याएको हो।’

यो पुस्तक एक दलित केटीको कथा हो। जीवनमा आइपर्ने अप्ठ्याराबाट हरेश नखाई कसरी सफल जीवन बाँच्छे भन्ने विषय नै यस पुस्तकको मुख्य विषयवस्तु छ। उक्त केटीको जीवनबाट हरेकले पाठ सिक्न सक्छन् भनेर नै उनले यो पुस्तक लेखेको उनले बताइन्। आफूलाइ सामान्य र साधारण महिलाको रूपमा चिनिदिऊन् भन्ने चाहना राख्ने सोभिता भन्छिन्, 'विभिन्न काम गर्दै जाँदा विभिन्न परिचयहरू थपिँदै जाने रहेछन्।' उनी कुनै बेला संचारकर्मीको रूपमा नेपाल टेलिभिजनमा कार्यरत थिइन्। पछि उनले एक दर्जन फिल्महरूमा नायिकाको रूपमा अभिनय गरिन्। अहिले उनी लेखकका रूपमा नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेकी छन्।

लेखनमा उनको यात्रा

चलचित्र होस् या संचारकर्ममा आवद्ध हुँदा होस्, उनी साहित्यभन्दा पर कहिल्यै भइनन्। पुस्तक पढ्दा कथाको पात्रसँग आकर्षित हुने गर्थिन् उनी। उनलाई लागिरहन्थ्यो- कुनै दिन राम्रो पुस्तक लेख्छु। रहर नै उपलब्धिको पहिलो आधारशीला हो। उनले लेखक बन्ने अठोट लिएको तीन वर्षपछि लेखकको रूपमा देखापरिन्। रहरले मात्र लेखक हुन नसकिने उनी बताउँछिन्। उनी भन्छिन्, 'लेखनको लामो समयपश्चात मैले वराङ्गना लेख्ने आँट गरेकी हुँ।' वराङ्गनाको अर्थ राम्री स्त्री भन्ने हुन्छ। उनको पुस्तकभित्रकी जुनकिरी भन्ने पात्र बाहिरी र भित्री रूपमा पनि सुन्दर छे। उसले समाजलाई दिने योगदान पनि उस्तै बेजोड छ। बौद्धिकताको हिसाबले पनि अरू पात्रभन्दा उत्कृष्ट रहेकाले जुनकिरी पात्रलाई लिएर नै पुस्तकको नाम वराङ्गना राखिएको उनले बताइन्। यो नाम उनका बुबाले नेपाली शब्दकोशबाट लिएका थिए।

लेख्नुपूर्व आफूसँग  धेरै विषयवस्तुहरू भए पनि जातीय विभेद र अन्तर्जातीय प्रेमलाई आफूले देख्दै आएकाले यो विषयवस्तुमा लेख्दा लेखनमा, पात्रमा जीवन्तता आउने भएकाले उनले यो विषयवस्तुमा लेखेको बताइन्।

जुनकिरी विश्वकर्मा दलित समुदायबाट आएकी हुन्। असाध्यै निम्न र विकट ठाउँबाट आएकी पात्र, जसले जीवनमा उज्यालो खोज्न अनेक संघर्ष गर्नुपरेको छ। उनी हुर्कंदै जाँदा उनको घरमा काम गर्ने एक महिला थिइन्। सोभितालाई ती महिलाले सँधै आकर्षित गरिरहिन्। ती महिलामा कति धेरै अनुभवहरू थिए। उनीसँग त्यस्तो कुनै भौतिक सुविधा थिएन। पढ्ने वातावरण थिएन् तर तिनमा रहेको परिपक्वता, बोल्ने शैली, आचरणहरूले सधैँ सोभितालाई तानिरह्यो। उनी भन्छिन्, 'ती महिलासँग भौतिक सुविधा केही थिएन र पनि सबथोक थियो तर मसँग सम्पूर्ण भौतिक सुविधा भएर पनि केही पनि थिएन।' सोभितालाई घरमा पढ पढ भनेर कति कर गर्नुपर्थ्यो तर ती महिलाले पढ्नका निम्ति कति मिहिनेत गरेर उनीसँग किताब मागेर लग्थिन्। ती सारा कुराहरूबाट उनी सधैँ प्रभावित थिइन्। 'त्यही चिजबाट वराङ्गना जन्मिएको हो', उनले भनिन्।

उनले धेरै समय दलित समुदायभित्रको रहनसहन र आन्तरिक विषयवस्तुको अनुसन्धान गरिन्। 'दलित समुदायसँग नजिक थिएँ तर उनीहरूका आन्तरिक चालचलनहरूसँग म नजिक थिइनँ। परिवेश र पात्रसँग सुहाउँदा संवादहरूका लागि मैले धेरै समय खर्च गरेँ', उनी भन्छिन्, 'मैले बुझेसम्म र आँखाले देखेसम्म पात्र र चरित्रलाई न्याय गरेकी छु। अरू कुराका लागि पुस्तक पाठकको हातमा छ।'

उनले यो पुस्तकलाई सामाजिक यथार्थवादी र मनोवैज्ञानिक विषयवस्तुमा लेखिएको पुस्तक भन्न रुचाउने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.