|

काठमाडौं : बफादार र साहसी जनावरको रुपमा परिचित कुकुरलाई हिन्दु समाजमा पूजा गरिन्छ। तिहारको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ। कुकुरलाई पातलो निद्रा भएको बफादार, चनाखो र सन्तुष्ट जनावरको रुपमा लिइन्‍छ। 

गत बैशाख १२ गतेको भूकम्पको बेला उद्दार गर्न होस् या अपराध अनुसन्धानको क्रममा होस् नेपाल प्रहरीका लागि कुकुर सधैं विश्‍वासयोग्य साथी रहदैं आएको छ। कुकुरको सहयोगमा प्रहरीले अपराधी पत्ता नै लगाउने नभएपनि महत्वपूर्ण सवुत प्रमाणहरु जुटाउने गरेको छ। 

विशेष गरी बिस्फोटक पदार्थ पत्ता लगाउन, प्रकोपमा उद्दार खोजिरहेका मानिसहरु पत्ता लगाउन, लागूऔषध पत्ता लगाउन र अपराधी पहिचान गर्न कुकुरको प्रयोग हुँदै आएको केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलकी एसपी डा. देउती गुरुङले जानकारी दिइन्। 

'खासमा कुकुरले अपराधी पत्ता लगाउने होइन, कुकुरले सुराक र सबुतहरु जुटाइदिने हो', उनले भनिन् 'कुकुरको  सुँघ्ने क्षमताका  कारण घटनास्थलको वस्तुस्थिति सुँघेर पत्ता लगाउन कुकुरलाई यसकार्यमा प्रयोग गरिएको हो।' 

नेपाल प्रहरीसँग रहेका पाँच सेलेब्रेटी कुकुर :

१ लियो 

खासमा लियोलाई बिस्फोटक पदार्थ पत्ता लगाउनका लागि खटाइने गरिन्छ। १० वर्षको लियो स्कुलमा रहेको सबैभन्दा जेठो कुकुर हो। जर्मन सेफर्ड जातको यो कुकुरलाई शंकास्पद वस्तु फेला परेपछि विस्फोटक पदार्थ हो कि होइन भनेर पत्ता लगाउन खटाइन्छ।

गत असोज ४ गते विद्यालयहरुमा बम राखिएको हल्ला चलेपछि लियोको सक्रियता बढेको थियो। त्यसअघि पनि शंकास्पद बस्तु भएको हल्ला चलेपछि लियोलाई नै खटाइने गरेको एसपी गुरुङले जानकारी दिइन्। 

'लियोलाई खटाएपछि हामीलाई पनि ढुक्क लाग्छ, किनकी उसले गरेको अनुमान अहिलेसम्म गलत भएको छैन,' उनले भनिन्,' विस्फोटक पदार्थ भएको ठाउँमा पठाएपछि यदि त्यहाँ विस्फोटक पदार्थ नै रहेछ भने लियो बस्छ, नत्र खोजी गरिराख्छ, बसेपछि हामीले विस्फोटक पदार्थ रहेछ भन्ने बुझ्छौं।' 

जर्मन सेफर्ड कुकुरले ६–७ वर्षसम्म काम गर्न सक्ने भएपनि लियो १० वर्षको हुँदासम्म उत्तिकै जोश र जाँगरका साथ काम गर्ने गर्दछ। हुन त लियोलाई एक समय क्यान्सरले थला पारेको थियो, तर अपरेसन गरेपछि निको भयो। अहिले पनि जोर्नीहरुमा अलिकति समस्या रहेको एसपी गुरुङले जानकारी दिए।

२ जङ्गे

अपराध अनुसन्धानको क्रममा जङ्गे खटिने गरेको छ। जम्मा दुई वर्षको जङ्गेले एक दर्जनभन्दा अपराधका घटनामा अभियुक्तलाई पक्राउ गर्न सहयोग पुर्‍याएको छ। जङ्गेलाई तालिम नै आक्रामक खालको दिइएको छ। अपराधी भागेपनि नियन्त्रण गर्न सकोस् भनेर आक्रामक तालिम दिइएको एसपी गुरुङले जानकारी दिइन्।

'आज्ञाकारी, काममा निरन्तरता दिने बानी जङ्गेको रहेको छ,' उनले भनिन्,' जङ्गेलाई घटनास्थलमा खटाउँदा निक्कै आक्रामकसँग लाग्‍ने गर्छ, जसले गर्दा अभियुक्तले प्रयोग गर्ने ट्रयाक पत्ता लगाई अनुसन्धानलाई सफल बनाएको थियो।' 

३ साथी

बिस्फोटक पदार्थकै पहिचान गर्न साथीको प्रयोग हुने गर्छ। लियोलाई साथीले साथ दिने गरेको छ। लियोको व्यस्तता बढेसँगै अहिले साथीको पनि व्यस्तता बढेको छ। दुई वर्षअघि भारतबाट ल्याइएको साथी भाले कुकुर हो। लाप्रोडर जातको साथीलाई सर्च एण्ड रेस्क्यु को तालिम दिइएको एसपी गुरुङले जानकारी दिइन्।

चञ्चले स्वभावका साथी नौ महिनाको हुँदा भारत सरकारले नेपाललाई उपहार दिएको कुकुर हो। साथीले भूकम्पको बेला गोगंबुको बेला उद्दार गर्न धेरै खटिएको थियो। बाढी, पहिरोमा हराएका, पुरिएका, अपहरणमा परेका मानिसलाई खोज्‍नको लागि रेस्क्यु तालिम भएका कुकुरलाई प्रयोग गर्ने गरिन्छ।

४ लक्की

लियो र साथीलाई साथ दिन्छ, लक्कीले। लक्कीले पनि विस्फोटक पदार्थ नै पत्ता लगाउने काम गर्छ।  

५ ओप्रा

लागूऔषध पत्ता लगाउनको लागि ओप्रालाई खटाइने गरिन्छ। लागूऔषध भएको शंका भएपछि ओप्रालाई घटनास्थल लगिन्छ। उसले सुँघ्दैै जान्छ। जब लागूऔषध छ भने ओपेरा चुप लागेर लागूऔषध भएको अघिल्तिर बस्छ, नत्र भने खोज्दै हिड्ने गर्छ।  

भारत सरकारले दिएको ओप्राले ठमेलसहित सीमा क्षेत्रका बिभिन्‍न नाकाबाट लागूऔषध बरामद गर्ने काम गरेको छ।

प्रहरीमा कुकुर इतिहास

अहिले नेपाल प्रहरीसँग ५२ वटा कुकुरहरु छन्। नेपाल प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको हो। सुरुमा मलेसियाले दिएको २ वटा कुकुरको भरमा प्रहरीले अपराध अनुसन्धानमा नयाँ तरिका अपनायो।

प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग थालेको ६ वर्षपछि २०३२ सालमा कुकुर शाखा गठन गर्‍यो। अहिले नेपालमा नै जन्मेका कुकुरका साथै भारत र मलेसियाबाट ल्याइएका कुकुरहरु प्रहरीको कुकुर तालिम स्कुलमा छन्।

४७ सालमा कुकुर सेवा देशभर बिस्तार गर्न केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल बनाएर ५ विकास क्षेत्रमा शाखा बिस्तार गरियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.