थाहा संवाद

म काे हुँ र सत्य बाेल्न डराऊँ : सायन
SHARES

असोज १८, २०७५

    काठमाडौं : समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउने रमेश सायनको संस्मरणात्मक निबन्धकृति 'छुटेका अनुहार' प्रकाशन भएको छ। उनको वि.सं. २०७१ मा कविताकृति 'भागेर भूगोलभरि' प्रकाशन भइसकेको छ। कविताको क्षेत्रमा पाठकका प्रिय बनेका उनी निबन्ध लेखनमा पनि कृतिसाथ आएका छन्। उनको नयाँ कृति 'छुटेका अनुहार' शनिबार काठमाडौंमा सार्वजिनक हुँदै छ। उनको साहित्ययात्रा र भर्खरै प्रकाशित 'छुटेका अनुहार'बारे थाहाखबरकर्मी राजु पौडेलले रमेश सायनसँग गरेको कुराकानी प्रस्तुत छ।  

    तपाईं  कविता लेख्नुहुन्थ्यो, कविका रूपमा स्थापित हुनुहुन्छ। स्थापित लेखकहरू अचेल उपन्यास लेखनमा व्यस्त छन्। नेपाली साहित्यमा तपाईंचाहिँ निबन्धसंग्रह लिएर आउँदै हुनुहुन्छ, कारण?

    'कविता लेख्नुहुन्थ्यो' होइन, कविता लेख्छु। कविताबाट भागेर निबन्ध लेखेको होइन। जुनसुकै कुरामा पनि काव्यात्मकता हुनु जरुरी छ। चाहे त्यो उपन्यस होस्, निबन्ध होस्, कथा होस् वा गजल र मुक्तक नै किन नहोस्। कविता छैन भने सुन्दर हुनै सक्दैन। आफूले भन्नुपर्ने कुरा जुन माध्यमबाट भन्दा पाठकले सजिलै ग्रहण गर्न सक्छन्, त्यो माध्यमको प्रयोग आमलेखकले गर्ने हो। मैले निबन्धको प्रयोग गरेँ। अरूले उपन्यासको प्रयोग गर्लान्। अरूले अरू नै। अरूले के गरेका छन्, कसो गरेका छन्, मेरो सरोकारको कुरा होइन। पाठकसँग मेरो सजिलो संचार निबन्धमा हुन्छ। म निबन्ध लेख्छु।  

    मिडियामा तपाईंलाई पढ्दा फरक फ्रेममा आधारित रहेर निबन्ध लेख्न रुचाउनुहुन्छ भन्ने देखिन्छ। परम्परागत शैलीमा निबन्ध पढ्ने पाठक र समालोचकबाट आउने आलोचना झेल्न सक्नुहुन्छ?

    कसले के भन्छ भन्ने कुरामा म पटक्कै चासो दिन्नँ। मैले लेखेका कुरा र भन्न खोजेका कुरा पाठकसम्म सजिलै संचार होस् र पढ्दा पाठकले आनन्द महसुस गरून्। मेरो ध्यान त्यता हुन्छ। परम्परागत शैलीका निबन्ध पढ्ने पाठकले मेरो फ्रेमका निबन्ध नपढे पनि हुन्छ। उनीहरूले गर्ने आलोचना र टिप्पणीले मलाई केही फरक पार्दैन। म आलोचना झेल्न तयार छु।

    कविता र निबन्ध लेखनमै रमाउनुभएको छ। तपाईंका पाठकले तपाईंको उपन्यास पढ्न पाउलान्? 

    नेपाली बजारमा उपन्यासको कमी छँदै छैन। यति धेरै उपन्यासकार छन् कि रमेश सायनलाई उपन्यासकारको रूपमा पर्खनुपर्ने कुनै कारण छैन। पाठकले पर्खिएका छन् भन्नु भ्रम हो। म भ्रम  मनपराउँदिनँ।  म उपन्यास लेख्दिनँ पनि। उपन्यास लेख्ने जिम्मा थुप्रै लेखकले लिइसक्नुभएको छ। कविता र निबन्धमै रमाइरहेको छु। सम्भवत: म सधैँ यसैमा रमाइरहन सकूँला।

    'छुटेका अनुहार' निबन्धसंग्रह नपढ्दा पाठकले के गुमाउँछन् जस्तो लाग्छ?

    केही पनि गुमाउँदैनन्। 'मलाई नपढे तपाईंले धेरै कुरा गुमाउनु हुन्छ' भन्दै हाउडी हाँक्न सक्दिनँ म। तर के भने पाठकले यो किताबमा आफ्नो अनुहार भेट्नेछन्। सोच्नुहोस् न- अक्षरमा आफ्नो अनुहार भेट्दा तपाईं कति खुसी हुनुहुन्छ? सत्य नै सत्यबाट निर्मित आफ्नो अनुहार भेट्दा कति पुलकित हुनुहुन्छ? वर्षौं पहिले छुटेका आफ्ना आँखा जस्ताको त्यस्तै भेट्दा तपाईंका वर्तमान आँखा कस्ता होलान्? ती छुटेका आँखाहरू खोज्ने पाठकहरूका लागि हो- छुटेका अनुहार। 

    तपाईंले आफ्ना कुराहरू निबन्धबाट इमान्दारीपूर्वक प्रस्तुत गरेको छु भन्नुभएको छ। इमान्दारीको प्रमाण के?

    म को हुँ ? आफ्ना सत्य कुरा भन्न डराउनुपर्ने ! 

    तपाईं खुब घुम्नुहुन्छ। घुमाइले लेखनमा कस्तो प्रभाव पार्छ?

    म थुनिएर बस्न सक्दिनँ। घुम्नु भनेको समाजतिर फर्किनु हो। समाज अनेक तत्त्वहरूबाट निर्माण भएको हुन्छ। झन् नेपाली समाज र परम्परा त पाइलापाइलामा विविधता छ। त्यो विविधताको स्वादको लतले घुम्छु। लेखनमा ऊर्जा दिन्छ। नयाँ कुरा सोच्न सकिन्छ। किताब होइन, समाज पढ्नुको मज्जा म तपाईंलाई जस्ताको त्यस्तै भन्न सक्दिनँ। 

    तपाईंका समकालीन साथीहरूले तपाईंलाई अप्ठ्यारो, अराजक, असामाजिक मान्छे भनेर बुझ्छन्, समाजका कुरा लेख्ने मान्छे किन यति धेरै अप्ठ्यारो?

    म जे छु, जस्तो छु र जसरी बाँचेको छु, खुसीले बाँचेको छु। कुनै साथीलाई अप्ठ्यारो लाग्यो भने उसले मलाई नस्वीकारे पनि हुन्छ। म आफू बाँच्ने शैलीको खुसी कसैका लागि कुर्वान दिन सक्दिनँ। अप्ठ्यारो लागिलागी किन स्वीकार्नु? मेरा कमजोरीहरूसहित कसैले स्वीकार्छ भने ठीक छ नत्र संगतै नगरे हुन्छ। अरू कसैका लागि अरू जस्तो हुन सक्दिनँ। म मै जस्तो हुन्छु। म पनि अरूलाई उसकै रूपमा स्वीकार्छु। मेरो कुरा बुझ्नुभयो नि?

    मान्छे कसैका लागि घमण्डी हुन्छ, कसैका लागि मूर्ख, कसैका लागि खराब। कसैका लागि असल। कसैका लागि विद्वान्। सहयोगी वा असहयोगी। म सबैका लागि राम्रो हुने मूर्ति होइन, मान्छे हुँ। 

    अन्त्यमा, तपाईंका पाठकलाई के भन्न चाहनुहुन्छ?

    अब मेरो बोल्ने पालो सकियो। पाठकको पालो आयो। पढेर जे लाग्छ, जस्तो लाग्छ, त्यस्तै भन्नुहोस्। 

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]