|

धनकुटा : आर्थिक अभावले उपचारमा समस्यामा परेका धनकुटा चौबिसे बालक सन्देश तामाङको उपचारको लागि हङकङ निवासी नेपालीले दुईलाख १३ हजार २२० रुपैयाँ आर्थिक सहयोग गरेका छन्। २०७३ सालमा करेन्ट लागेर एकहात गुमाएर देब्रे पाटो आधा शरीर अपांगता भएका चौबिसे गाउँपालिका २ बन्दुके डाँडा निवासी ७ वर्षीया तामाङका बारेमा विभिन्न संचार माध्यमले समाचार प्रकाशन गरेका थिए।

आर्थिक अभावमा लडेर टाउकोमा लागेको चोटको उपचार गर्न नसकेको समचार प्रकाशन भएको थियो। समाचार प्रकाशनपछि आर्थिक संकलन गर्ने क्रममा हङकङ निवासी ४ जना नेपाली महिलाको पहलमा उक्त सहयोग जुटेको हो। हङकङ बसोबास गर्दै आएका भएका नेपालीहरू शर्मिला गुरुङ, टीकामाया गुरुङ, समु राई र शारदा राईको पहलमा उक्त सहयोग जुटेको नेपाली प्रतिनिधि गायक तथा इभेन्ट म्यानेजर धरानकी मीना सिंगकले जानकारी दिइन्।

उक्त रकम धनकुटाका राजारानी रिसोर्टमा सन्देशका हजुरबुबा जीतबहादुर तामाङलाई सिंगकसहित समाजसेवी तथा सौन्दर्यकर्मी कमला सुब्बा, गायिका तथा मोडल रेखा फागोले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। यस्तै नुवाकोट २ लिखु गाउँपालिका स्थाई घर भई नेपाल इलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत टिकादत्त ढकालले पाँचहजार रुपैयाँ सहयोग गरेका छन्।

करेन्ट लागेको समयमा उनको उपचारका लागि ऋण काढेको १० लाख ५० हजार र निजी ५ लाख गरी १५ लाख ५० हजार रुपैयाँ उनका परिवारले खर्च गरेका थिए। तर पछिल्लो ४ महिनापछि भने उनी फेरि बिरामी हुँदा उनका बुबा-आमा वेपत्ता भएर उनलाई समस्या भएकोे थियो।

यो अभियानमा हङकङ निवासी महिलाको सहयोगबाहेक थप १६ हजार १११ जम्मा भएको छ। आर्थिक सहयोग पाएपछि बालक तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लाने परिवारजनले सोचाइ बनाएको उनका हजुरबुबा जीतबहादुरले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.