|

सोलुखुम्बु : फाप्लु विमानस्थलमा करिब चार लाख केजी सामान थन्किएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा लान तयार गरिएको दैनिक उपभोग्य वस्तुसहित निर्माणका सामग्री ढुवानीको जिम्मा लिएको श्री एयरलाइन्सले ढुवानी नगर्दा थन्किएको हो।

जिल्लाको माथिल्लो क्षेत्र आवश्यक सामान ढुवानीको एक मात्र विकल्प विमानमार्फत नै हो। तर, श्री एयरलाइन्सले विभिन्न बहाना बनाएर समयमै ढुवानी नगर्दा उक्त सामग्री विमानस्थलमै व्यापारीहरुको गुनासो छ। ‘कहिले विमान बिग्रियो भन्छ कहिले, कता जान्छ,’ कर्मा     शेर्पाले भने, ‘सोलुखुम्बुलाई प्राथमिकता नदिँदा यहाँको सामग्री ढुवानी हुन सकेन।’

समयमै सामान ढुवानी हुन नसक्दा खुम्बुको पर्यटनमा समेत असर परेको त्यस क्षेत्रको स्थानीयको गुनासो छ। खाद्यान्नलगायतको सामग्री फाप्लुमै थन्किँदा खुम्बुमा महँगी बढ्न सक्ने खुम्बुका स्थानीय विजय तामाङले बताए। विमान कम्पनीको बेइमानीका कारण खुम्बुका व्यापारीहरु मारमा परेको तामाङको आरोप छ। तामाङले भने, ‘विमान कम्पनीले ठूला व्यापारीको मात्र सामान ढुवानी गर्छ।’

तर, श्री एयरलाइन्सले भने उक्त आरोपको खण्डन गरेको छ। कम्पनीले सबैको समान ढंगले सामान ढुवानी गरिरहेको दावी गरेको छ। प्रतिनिधि सभा सदस्य हेमकुमार राईले श्री एयरलाई प्रभावकारी सेवाका लागि बारम्बार निर्देशन दिइरहँदा पनि अटेर गरेको बताए। सांसद राईले भने, ‘निर्देशन पालना भएन भने कानुनी प्रक्रियामा जान बाध्य हुन्छौं।’

एक केजीको भाडा ११० रुपैयाँ 

श्री एयरलाइन्सले फाप्लुबाट लुक्लाका लागि प्रतिकेजी ८५ र स्याङ्बोचेका लागि ११० रुपैयाँ ढुवानी भाडा लिँदै आएको छ। केही महिना ढुवानी रोकेर अन्यत्र गएको विमानले सर्वपक्षीय पहलपछि भदौमा १८ हजार केजी समान खुम्बु ढुवानी गरेको थियो। 

श्री एयरलाइन्सले २०६६ देखि ढुवानीको जिम्मा लिएको छ। प्रतिउडान तीन हजार ६०० केजी बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। मौसम प्रतिकूल हुँदा फाप्लु–खुम्बु पाँच वटासम्म उडान भर्न सक्ने श्रीएयरलाइन्सले जनाएको छ।

तेञ्जिङ हिलारी विमानस्थलमा तारा तथा समिट एयरलाइन्सले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गरे पनि नाम्चे तथा माथिल्लो क्षेत्रमा भने समस्या रहेको छ।

कात्तिक ११ सम्म खाली गर्न निर्देशन

फाप्लु विमानस्थलको स्तरोन्नति कात्तिक दोस्रो सातादेखि सुरु हुने भएको छ। त्यसैले विमानस्थलमा रहेको सबै सामान कात्तिक ११ सम्म उठाइसक्न र नागरिक उड्यान प्राधिकरण फाप्लुले निर्देशन दिएको छ।

कात्तिक १२ देखि स्तरोन्नतिको काम सुरु हुने भएकाले अघिल्लो दिनसम्म सामान उठाइसक्नुपर्ने सहमति भएको उड्यान प्राधिकरण फाप्लुका इन्चार्ज अमित चौरसियाले बताए। 

विमान स्थलमा करिब साढे छ करोड रुपैयाँमा पार्किङस्थल निर्माण गरिने र साढे तीन करोड रुपैयाँको लागतमा विमानस्थलको अन्य क्षेत्रमा फिनिसिङ गरिने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.