|

काठमाडौं : नायिका दीपिका प्रसाईं र नायक पुष्प खड्काको रोमान्स पक्का भएको छ। नवल नेपालको निर्देशनमा बन्न लागेको नयाँ फिल्मका लागि दीपिका प्रसाईं फाइनल भएकी हुन्। दीपिका र निर्माण युनिटबीच मौखिक सम्झौता भए पनि लिखित सम्झौता भने हुन बाँकी छ।

यस फिल्मका लागि नायक पुष्प खड्का र नवनायिका रेविका गुरुङ पहिला नै फाइनल भइसकेका थिए। फिल्मका लागि एक नयाँ नायिका चाहिएको पनि निर्माण युनिटले बताउँदै आएको थियो। अब भने फिल्मका लागि कलाकार छनोट पूरा भएको छ।

म्युजिक भिडियोमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका पुष्पले फिल्म 'मंगलम'बाट निकै चर्चा कमाएका थिए। त्यस्तै, आफ्नो पहिलो फिल्म 'ऐश्वर्य'बाट चर्चामा आएकी नायिका दीपिका प्रसाईं रुचाइएकी नायिकामा पर्छिन्। 'लिलिबिली'मा अभिनय गर्ने खबरले चर्चा आएकी रेविकाले 'लिलिबिली'मा भने काम गरिनन्। रेविकाको यही डेब्यु फिल्म हो।

माघबाट छायांकनमा जाने तयारीमा रहेको यस फिल्मलाई पुनम गौतमले निर्माण गर्न लागेकी हुन्। लभ स्टोरी फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्लेको संगीत रहनेछ। फिल्मको नाम भने अहिले तय गरिएको छैन। केही साता पछि भव्य कार्यक्रमका साथ फिल्मको नाम घोषणा गर्ने तयारीमा निर्माण युनिट रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.