अर्थ

रेल संचालन हुने भएपछि उत्साहित स्थानीय
SHARES

असोज २३, २०७५

    महोत्तरी : आउने मंसिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाका स्थानीयहरू उत्साहित भएका छन्। महोत्तरीको भंगाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मंसिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन्। 

    भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दुरीमा आउने मंसिरभित्रै रेल सञ्चालन भइसक्ने तयारी छ। मिथिला क्षेत्रको सांस्कृतिक उत्सव विवाह पञ्चमीको अवसर पारेर मंसिर अन्तिम सातामा बर्दिवास–जयनगर रेल सेवामध्ये पहिलो चरणको कुर्थादेखि जयनगरसम्म रेल सेवा सञ्चालनमा ल्याइने रेल विभागले बताएसँगै यस क्षेत्रमा उत्साह छाएको हो। यस खण्डमा रेल सञ्चालनको परीक्षण यसै साता भइसकेको छ। 

    धनुषाको कुर्था महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुरसँगै जोडिएको बस्ती हो। त्यसैगरी भंगाहा नगरपालिकाका हरिनमरी, धर्मपुर, पडरिया, सिंग्याही र कबिलाशा र बलवा नगरपालिकाका भलनी, लेउरी, बञ्चौरी, पडौल, अधियानपुर र धमौरा कुर्थाबाट नजिकका बस्ती भएकाले पहिलो चरणमा रेल सञ्चालन हुने कुराले यहाँ उत्साह छाएको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह बताउछन्। 

    'हामीकहाँ मौसमी र बेमौसमी तरकारीको फसल लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान भएका छौँ' लोहारपट्टी–७ पिपराढीका किसान राजे यादवले भन्नुभयो, 'रेल सेवा शुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पुर्‍याउन सकिने छ, हाम्रो दुग्ध उत्पादनले पनि बजार पाउनेछ।' 
    रेल सञ्चालन हुनासाथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टीका प्रमुख शैलेन्द्र यादवको भनाइ छ। 'हाम्रो नगरका त सबैजसो बस्ती कुर्था वरिपरि नै छन्’’ प्रमुख यादवले भन्नुभयो– 'भंगाहा र बलवा नगरपालिकाका समेत आठ/दश बस्ती नजिकै छन्, तत्काल कुर्थासम्म रेल सेवा चाँडै सञ्चालन हुने कुरा छ, त्यसैले यहाँ यो कुराले खुशी छाएको हो।' 

    बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दुरीमा आउने मंसिरभित्रै रेल सेवा सञ्चालन गरिने तयारी छ। विवाह पञ्चमी पर्वको अवसर पारेर शुरु गरिने यो सेवाको भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नै उद्घाटन गर्ने गरी आवश्यक समन्वय भइरहेको रेल विभागले जनाएको छ। 

    बर्दिवास–जयनगरसम्मको ६९ किमी दुरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाएको छ। पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भंगाहा (विजलपुरा स्टेसन) र तेस्रो भंगाहाबाट बर्दिवास रहेको छ। पहिलो चरणमा रेल सञ्चालनको सबै तयारी पूरा भएकाले अब दोस्रो चरणमा कुर्थादेखि भंगाहासम्मको १७ किलोमिटर दुरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम हुने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो। 
    'सन् २०१९ भित्रै कुर्थादेखि भंगाहा (विजलपूरा स्टेसन)सम्म रेल सञ्चालन भइसक्छ' प्रवक्ता उपाध्यायले सञ्चारकर्मीसँग भन्नुभयो, 'त्यसैगरी भङहादेखि बर्दिवाससम्मको १८ किलोमिटर दुरीमा सन् २०२० भित्र रेल सञ्चालन हुनेगरी काम हुनेछ।' 

    पहिलो चरणअन्तर्गत कुर्थाबाट जयनगरसम्म ३४ किलोमिटरमा रेल सञ्चालनमा आएपछि कुर्थादेखि भंगाहा (विजलपुरा स्टेसन) सम्मको लिक ओछ्याउने कामले गति लिने विभागले जनाएको छ। विभागले दोस्रो चरणमा सन् २०१९ को मार्चसम्म कुर्थादेखि महोत्तरीको भंगाहासम्म र सन् २०२० भित्र तेस्रोचरणमा भंगाहाबाट बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य राखेको छ। 

    दोश्रोचरणअन्तर्गतको कुर्थादेखि भंगाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिमचरणमा छ। अब यस खण्डमा चाँडै लिक ओछ्याउने काम शुरु हुने प्रवक्ता उपाध्यायले बताउनुभयो। 
    यता तेस्रोचरणमा काम सम्पन्न गरिने भनिएको भंगाहाको विजलपूरा (स्टेसन रहने ठाउँ) बाट बर्दिवासम्मको १८ किमी दुरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ। यो दुरीभित्र जग्गाको मुआब्जा वितरणसम्म पनि नभएकाले काम निर्धारित समयमै सम्पन्न हुने कुरामा सर्वसाधारण ढुक्क हुन सकेका छैनन्। 
    खासगरी बर्दिवास नपाको १, २ र १४ नं वार्डमा मुआब्जा विवाद कायमै रहेकाले काम अघि बढ्न नसकको विभाग स्रोतले जनाएको छ। यो विवाद चाँडै नटुङ्गिए समयमै कामसक्न अप्ठ्यारो हुने विभागका प्राविधिकले पनि स्वीकार गरेका छन्। 
    भारत सरकारको  सात अर्ब २० करोड रुपैयाँको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुरु गरिएको हो। विसं १९९४ शुरु भएको विजलपुरा (भंगाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो। यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]