उपभोक्ता भन्छन्, व्यापारीको नाटक भयो?

|

उदयपुर : प्रशासनले बजार अनुगमन गर्‍यो भन्दै आन्दोलनमा उत्रेका व्यवसायीले मंगलबार दिउँसोबाट कटारी बजार खुल्ला गरेका छन्। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग राखेर बजार खुल्ला गरेका हुन्।

बजार अनुगमनका क्रममा व्यापारीहरूमाथि ज्यादती गरेको भन्दै सोमबारदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजार बन्द थियो। व्यापारीहरूले ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेल र ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठको सरुवाको माग गरी बजार खुलला गरेका हुन्।

मंगलबार बिहान कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले सरुवाको माग राखी बन्द बजार खुल्ला गरेका हुन्। ‘व्यवसायीहरूले ज्ञापनपत्र बुझाएर सरुवाको माग राख्दै बन्द बजर खुल्ला गरेका छन्,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘सरुवाको कुराभन्दा पनि व्यापारी, इलाका प्रहरी कार्यालय कटारी प्रमुख, इलाका प्रशासन कार्यालयका प्रमुख बोलएर छलफल गरी बन्द बजार खुल्ला गरेका हौँ।’

अनुगमनका विरुद्धमा बजार बन्द गरी आन्दोलनमा उत्रेका उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष खण्डकाले सरुवाको माग राखी नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएर बजार खुल्ला गरेको बताए। ‘हामीले सरुवाको माग राख्यौँ,’ उनले भने, ‘नगरप्रमुख त्यो कुरामा सहमत हुनु भयो, बजार खुल्ला भयो।’

व्यापारीहरूले कालोबजारी, म्याद गुज्रेका सामग्री बिक्री वितरण गरेको पाइए पनि राज्यको अधिकारमा रहेर कारबाही गर्न, अनुगमन गर्न संघले सक्दो सहयोग गर्ने भए पनि सिमित स्वर्थका कारण प्रशासनले ज्यादती गरेको ज्ञापनपत्रमा उल्लेख छ।

उपभोक्ता भन्छन्, व्यापारीको नाटक भयो?

कटारीका व्यवसायीको बन्दलाई कटारी बजारमा किनमेल गर्न आउने उपभोक्ताले नाटकको संज्ञा दिएका छन्। ‘कालोबजार गर्ने, सरकारी प्रक्रिया नपुर्‍याइ अनि म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गर्ने केही व्यपारीलाई प्रशासनले नियमन गर्न नपाउने,’ छिमेकी जिल्ला सिन्धुलीको दुधौली नगरपालिका बाँसबोटेबाट आएका कृष्ण सुनुवारले भने, ‘इलाका प्रशासनको हाकिम र प्रहरी प्रमुखको सरुवाको माग नगर प्रमुखसँग राखे रे? हामीलाई सुन्दा कुरीकुरी लाग्यो? सदरमुकाम गएर प्रमुख जिल्ला अधिकारीसमक्ष राखेको भए हुने थियो? जिल्ला प्रहरी प्रमुखभएको ठाँउमा किन नगएका होलान्?’

इलाका प्रशासन कार्यालय कटारीका सुनिल पौडेलले गृहमन्त्रालय गएर सरुवमा मागेको राम्रो हुने भन्दै कुनै गल्ती नगरेको बताए। ‘हामीले जुन काम गर्नुपर्ने थियो, त्यही काम गरेका थियौँ,’ उनले भने, ‘मेरो सरुवमा माग्न गृह मन्त्रालय गएको भए धेरै राम्रो हुने थियो।’

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी श्रेष्ठले व्यापारीले नजानेर त्यस्तो गरेको बताएका छन्। ‘हामीले कुनै पनि नहुने काम गरेका छैनौँ,’ उनले भने, ‘बजार अनुगमन भयो भनेर व्यापारीहरूले घुर्की लगाएका हुन्।’ जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तीव्रता दिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.