मुख्य उपलब्धि नाम र राजधानीको छिनोफानो

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बर्षे अधिवेशन मंगलबार अन्त्य भएको छ। जेठ २ बाट सुरु भएको अधिवेशन मंगलबार सकिएको हो। पहिलो अधिवेशन गत माघ २१ देखि बैशाख २० सम्म चलेको थियो। पहिलो अधिवेशनले तीन वटा विधेयक र एउटा प्रदेशसभा निवमावली पारित गरेको थियो।

दोस्रो अधिवेशनबाट १४ वटा विधेयक पारित भएका छन्। दोस्रो अधिवेशन अन्त्य हुनुपूर्व मंगलबार दुई वटा विधेयक पारित भएका छन्। प्रदेशसभा सचिवालयमा दर्ता भएको ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ बाहेकका विधेयक पारित भएको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। 

यस अधिवेशको अर्को मुख्य प्रगति प्रदेशको स्थायी राजधानी र नाम तोकेको छ। झण्डै छ महिनाको अवधिमा ४७ दिन प्रदेशसभाको बैठक बसेको छ। ४७ दिनमा ५३ वटा बैठक आह्वान गरिएको छ। दोस्रो अधिवेशनमा ६२ घण्टा ३२ मिनेट प्रदेशसभा बैठक भएको थियो। 

पारित भएका विधेयकहरु

सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश सभा नियमावली २०७४’, ‘प्रदेश सरकारको आर्थिक कार्याविधि नियमिति तथा व्यवस्थित गर्ने सम्बन्धमा बनेको विधेयक २०७४’, ‘सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा बनेको विधेयक २०७५, विनियोजन विधेयक २०७५ (अल्पकालीन)’, ‘स्थानीय तहको कानुन निमार्ण प्रकृया सम्बन्धमा बनेको विधेयक २०७५’,‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था बनेको विधेयक २०७५’ पारित भएका छन्।

यस्तै, ‘गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७५’,‘ आ.व. ०७५÷०७६ सेवा र कार्यहरुका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित भएका छन्।

‘प्रदेश आकस्मिक कोष व्यवस्था गर्न बनेको विधेयक २०७५’, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘मुख्य न्याधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘स्थानीय तहलाई वित्तीय हस्तन्तरण व्यवस्थापन गर्न बनेको विधेयक २०७५’, ‘प्रदेश कर तथा गैरकर राजस्व लगानी लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित भएका छन्।

यस्तै, ‘मुख्यमन्त्री र मन्त्रीको परिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘प्रदेश सरकारको प्रशासनिक कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन)२०७५’ पारित भएका छन्। प्रदेशसभा सचिवालयमा दर्ता भएको ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५’ बाहेक अन्य सबै बिधेयक पारित भएको सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। 

मुख्य उपलब्धि : नाम र राजधानी

दोस्रो अधिवेशनको मुख्य उपलब्धिको रुपमा प्रदेशको नाम र स्थायी रजधानी तोक्नु रहेको प्रदेशसभा सदस्यहरुले बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक तारालामा तामाङले भने, ‘प्रदेशको नाम र राजधानी तोक्ने विषयमा तेस्रो भयौं।’ उनले नाम र राजधानी तोक्ने कार्य दोस्रो अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण रहेको बताए।  सुदूरपश्चिम प्रदेशले भन्दा अघि गाण्डकी र कर्णाली प्रदेशले नाम र राजधानी टुंग्याएका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने दोस्रो अधिवेशनलाई असंवौधानिक कामको सुरुवात गरेको आरोप लगाएका छन्। ‘प्रतिपक्षी संसदको गहना हुन्छ,’ प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘नाम र राजधानी प्रतिपक्षीबिनै पारित गरियो यो बिडम्बना हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.