|

ओखलढुंगा : रुम्जाटर विमानस्थलको नियमित उडान पुन: अनिश्चित बनेको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल २३ असोजदेखि सुरु हुने भनिएको थियो। नेपाल एअरलायन्सले रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडानको तयारी गरेको थियो।

केहीदन अघि मात्रै हवाई सुरक्षा निर्देशनालयबाट उडान तालीका आएको भए पनि  उडान नभएको नेपाल उड्यन प्राधिकरण ओखलढुंगा रुम्जाटरका कार्यालय प्रमुख प्रकाश शर्माले बताए। शर्माका अनुसार ओखलढुंगाको रुम्जाटार विमानस्थलमा यतिबेला सोलुको लुक्लामा मौसम खराबी भएको बेला आकस्मिक अवतरण र उडानबाहेक केही हुने गरेको छैन।

शर्माले नेपालवायुसेवा निगमको मंगलबार काठमाण्डौ रुम्जाटार, रुम्जाटार विराटनगर, विराटनगर रुम्जाटार र रुम्जाटार काठमाडौंको उडान तालिका आएको भए पनि उडान भने नभएको बताए। त्यस्तैगरी, सोमबार तारा एअरको काठमाडौं रुम्जाटार र शुक्रबार सीता एअरको काठमाडौं रुम्जाटारको उडान तालिका भए पनि अहिलेसम्म कुनै पनि उडान भने भएको छैन। विमानस्थलमा अहिले विभिन्न एअरलाइन्स कम्पनीहरूले फ्युल भण्डारण गरेर राखेको र सोलुका विमानस्थलमा मौसम खराब हुँदा आपतकालीन अवतरण गर्ने गरेको शर्माले बताए।

सांसदको आपत्ति

मंगलबारदेखि रुम्जाटारमा नियमित उडान हुने समाचार विभिन्न राष्ट्रिय संचार माध्यममा आफ्नो नाम जोडेर आएको भए पनि यो कुरा आफूले कसैलाई नबताएको प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले बताए। सुनुवारले आफूले पहल भने गरेको भए पनि मंगलबारदेखि नै नियमित उडानको विषयमा कहीँ कतै नबोलेको बताउँदै यस्ता निराधार समाचारप्रति आपत्ति जनाउदै दशैं अघिदेखि नै नियमित उडान गर्नका लागि आफू लागिपरेको बताए।

ओखलढुंगाको रुम्जाटारमा रहेको विमानस्थलमा विगत दुई वर्षदेखि उडान बन्द हुँदा विमानस्थल बन्द जस्तै थियो। स्थानीय तहको निर्वाचनका बेला बन्द रहेको रुम्जाटार विमानस्थल खुलाउने दलका नेताहरुले सार्वजनिक कार्यक्रममा नै बाचा गरेका थिए। विमानस्थल बन्द हुँदा जिल्ला अस्पताल रुम्जाटारबाट काठमाडौं रिफर गरिएका बिरामीहरुले १ लाख ५० हजार सम्म खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। रुम्जाटारमा नियमित उडान भएमा यात्रुहरुले नेपाल वायुसेवा निगमको जहाजमा ३ हजार ६ सय ८० मा रुम्जाटार–काठमाण्डौं एकतर्फी यात्रा गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.