|

सुर्खेत : जनार्दन शर्माले पार्टीका अध्यक्ष र सरकार अन्तर्राष्ट्रिय काममा व्यस्त भएकाले नेकपाको पार्टी एकता प्रक्रियाले गति लिन नसकेको बताएका छन्। बिहीबार सुर्खेतमा नेकपाले आयोजना गरेको दशैं-तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रममा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले भने,‘मैले अध्यक्षहरूलाई कुनै आरोप लगाएको र आलोचना गरेको कुरा होइन। यथार्थ कुरा गरेको हुँ। दुवै पार्टीका अध्यक्षले सरकार र अन्तर्राष्ट्रिय कामलाई प्राथमिकता दिँदा पार्टी एकता अघि बढ्न नसकेको सबैलाई थाहा छ। प्रदेशले गर्ने काम हामीले गरिसकेका छौं। नेतृत्वले चाहेमा तीन घण्टामा पार्टी एकीकरण हुन्छ।’

यस्तै शर्माले पार्टी नेतृत्वलाई इंगित गर्दै अघि भने ‘खै किन उहाँहरू अल्झिरहनु भएको छ। हामीलाई पनि थाहा छैन। मैले छिटा गर्नु पर्‍याे भनेर नेतृत्वलाई भनेको छु।’ पार्टीमा यो पद चाहियो ऊ पद चाहियो म यो पदमा बस्दिन उ पदमा बस्छु भनेर भन्नु बेकारको कुरा भएको भन्दै शर्माले भने, ‘के यो लोकसेवा आयोग हो र? सधै उही पदमा बसिराख्ने? अनि फलानो पद, फलानो मान्छे भनेर किन विवाद गर्ने? हामीले पार्टी बनाउन खोजेको हो की पद मिलाउन खोजेको हो?’

शर्माले अघि थपे, ‘अहिले हामीले पद भन्दा पनि पार्टीका कमिटीहरू बनाउन जरुरी छ। त्यसपछि पदको कुरा गरौँला, पदमा बसेकोले राम्रो काम गर्न नसके २३ महिनामा नै फेरबदल गर्न सकिन्छ। कसैले गुट बनाएर तल तल आफ्ना मान्छे सेट गर्ला भनेर गुट बनाउने सपना देखेको छ भने त्यसो हुँदैन। पार्टी विधि र पद्धति बनाएर चलाउने हो। पद्धति बाहिर कोही जान सक्दैन।’

यस्तै सुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने,‘अहिले पार्टीले जुन ठोसोलाई ठड्याउछ उसैलाई नेता मान्ने हो। अरु कुरापछि मिलाउँदै जाने हो। केही विवाद गर्न जरुरी छैन।’ पार्टीका राम्रो काम सुचारु गर्दा अन्यथा नहुने बताउदै शर्माले जिल्लामा सहमति सम्भव भए पार्टी कमिटी घोषणा गर्न सुझाव दिए। कर्णाली प्रदेशको तर्फबाट हामीले गर्नु पर्ने काम सम्पन्न गरिसकेको र पार्टीको सचिवालयले टुंग्याउन बाँकी रहेकोले कार्यकर्तादेखि नेतासम्म निरासा छाएको बताए।

पार्टी एकीरण नहुँदा स्थानीय स्तर र प्रदेशका सरकारलाई आवश्यक निर्देशन र नियन्त्रण गर्ने पार्टी कमिटी नहुँदा समस्या भएको र जन अपेक्षा अनुसार काम गर्न नसकिएको उनको भनाई छ। नेकपाका कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले पार्टी एकतामा ढिलाई हुँदा राम्रा काम गर्न नसकिएको बताए। उनले भने, ‘पार्टी एकतामा ढिलाई हुँदा स्थानीय सरकारका काम कारवाही राम्रोसँग हुन सकिरहेका छैनन्। पार्टी कमिटीले गरेको निर्णय र फैसला जनप्रतिनिधिले कार्यान्वयन गर्ने हो। तर त्यसो हुन सकिरहेको छैन।’

यस्तै नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीले पार्टी एकताका लागि कर्णाली प्रदेशले आफ्नो काम गरीकेको तर अन्य प्रदेशका कारण कर्णाली प्रदेशको पार्टी एकतामा ढिलाई भएको बताए। जिल्लाका नेता कार्याकर्ताले पार्टी एकतामा ढिलाई भएका कारण वेथिति उत्पन्न भएको गुनासो गरेका छन्। नेकपाका सुर्खेत जिल्लाका नेता कृष्ण जिसीले पार्टी एकता समयमा नहुँदा पार्टी पार्टी जस्तो नदेखिएको र कार्यकर्तामा निराशा र कुण्ठाले घर जमाएको बताए।

पार्टी कमिटी गठन नहुँदा पार्टी पंक्ति क्रियाशील हुन नसकेको  उनको भनाई छ। दशैँको लगत्तै पार्टी एकताले मूर्त रुप लिने र पार्टी र तिनै तहका सरकारका काममा सहजता हुने विश्वास नेकपाका कर्णालीका नेताहरूको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.