|

सोलुखुम्बु :  उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोलुखुम्बुमा निर्माणाधीन सब–स्टेसन र प्रसारण लाइनको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लामा निर्माणाधीन १३२, ३३ र ११ केभी सब–स्टेसन र प्रसारण लाइन शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री पुनले काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार तथा सरोकारवालालाई तदारुकताका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। 

प्रसारण लाइन तथा सब स्टेसन तोकिएको समयमा बनाउन नसके विद्युत खेर जाने भन्दै प्राधिकरणले निजीक्षेत्रका आयोजनालाई पेनाल्टी तिर्नुपर्ने वातावरण सृजना नगर्न उनले सबैलाई आग्रह गरे। आगामी पाँच वर्षमा सबै क्षेत्रमा विद्युत पुर्‍याउने गरी नेपाल सरकारले काम गरिरहेको प्रष्ट पारे। 

निरीक्षणका क्रममा जिल्लामा निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर २३.५ मेगावाट, तल्लो सोलु हाइड्रो पावर ८२ मेगावाटको काम तथा प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराइएको थियो। माथिल्लो सोलु हाइड्रो पावर प्रोजक्टका प्रमुख शशिसागर राजभण्डारीले आयोजनाको काम ९० प्रतिशत सकिएको जानकारी गराए। 

थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असीम राईले ग्रामीण विद्युतीकरणलाई पहिलो प्राथमीकतामा राख्न आग्रह गरे। यस्तै सोलुखुम्बुका प्रतिनिधि सभा सांसद हेमकुमार राई शुरबीरले सोलुखुम्बुमा वितरण केन्द्र स्थापना गरि ग्रामीण विद्युतीकरणमा जोड दिन आग्रह गरे। 

भारतीय एक्जिम बैकको सहुलियत ऋण लगानीमा नेपाल सरकार तथा विद्युत प्राधिकरणले निर्माण गरिरहेको यो आयोजना आगामी (सन् २०१९ को) मार्चमा सक्ने लक्ष्य राखिएको छ। तिङ्लाबाट ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) सम्मको ९० किलोमिटर प्रसारण लाइन आयोजनामा ३०३ टावर निर्माण गर्ने लक्ष्य छ । ठेकेदार कम्पनी मोहन इनर्जीले २०१८  डिसेम्बरभित्र सब–स्टेसन बनाइसक्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.