|

जनकपुरधाम : बडादशैँका बेला अनादिकालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ। महोत्तरीको औरही नगरपालिका ७ मा अवस्थित सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेकोले षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थी मेला हेर्न आउने गरेका हुन्।

प्रत्येक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेलामा भूतप्रेत, बोक्सा–बोक्सी र मृत दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष मेलामा आउने र सोनामाईको कृपाले मानिसहरू निको भएर जाने गरेको जनविश्वास रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए।

सोनामाई मन्दिरमा भूत, पिशाच, कालो जादुटुना र बोक्सा–बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै–पड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको अर्का पूजारी झगरू झाको भनाइ छ।

मेलामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सालगायत सुनसरी, मोरङ र काठमाडौंदेखि सीमावर्ती क्षेत्र भारतको सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ मृत दुष्टआत्मबाट सताइएका पीडित महिला तथा पुरुषहरू आफ्नो दुःख निवारणका लागि आउने गरेको रामगोपालपुरकी अम्बिका कुमारी यादव बताउँछिन्।

सोनामाई शक्तिपिठमा धामी झाँक्री रात दिन भजन किर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरूको पीडा हरण गर्ने गरेको पूजारी झगरु झा बताउँछन्। सोनामाईमा ’भूत मेला’ मा आत्माले सताइएका आउँछन र निको भएर जाने जनविश्वको आधारमा परापूर्वकालदेखि नै लाग्दै आएको मान्यता रहेको छ।

सोनामाई स्थानबाट प्रख्यात रहेको उक्त मेलामा एक दिनमा करीब हजारौँको संख्यामा बोकाको बलि चढाईन छन् भने, केहि संख्यामा रागाको बलि समेत चढाइछ। सोनामाई मन्दिरमा ३६५ दिन नै बोकाको बलि चढाइन्छ। सामान्य दिनको तुलनामा सप्तमी तिथिदेखि बिजयादशमीको दिनसम्म बढी बोकाको बलि सोनामाई स्थान चढाउने गरिएको अर्का सहायक पुजारी अरुण झा बताउँछन्।

सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीका किरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोकाको बलि चढाउन यस वर्ष पनि आएको बताइन्। माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ।

अर्को बोका बली चढाउन आएका सर्लाही बवरगञ्जका सियाराम यादवले आफूहरूले गरेको मनोकामना पूरा भएका कारण प्रत्येक वर्ष सोनामाईको दर्शनका लागि दशैंमा आउने गरेको बताउँछन्। उनले भने, ‘हामीले गरेको भाकल पूरा भएपछि बाचाअनुसार कबोल गरेकोलाई पुर्‍याउनै पर्‍यो, हामीलाई सोनामाई प्रति ठूलो आस्था छ, त्यसैले हामी प्रत्येक वर्ष यहाँ आउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.