११ वर्षीया विपनाको गायिका बन्ने सपना
११ वर्षीया विपनाको गायिका बन्ने सपना
प्युठान : बर्खाको समयमा पानी पनि नछेक्ने छानो। भत्किनै लागेकको घर। सुत्नलाई चिसो भुँई। जहाँ बिहान र साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दीक्षा, आफ्ना ईच्छा बाल अधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्छ।
८० वर्षीय वृद्ध हजुरबुबाको स्याहारदेखि घरको दैनिक आवश्यकता ११ वर्षीया बालिका आफैँले टार्नुपरकाे हुन्छ। उनलाई के थाहा बाल अधिकारका कुरा? आर्थिक अवस्था कमजोर भएका कारण कतिपय मनका ईच्छालाई मनमै मारेर बस्न बाध्य छिन् प्युठन नगरपालिका-१ की विपना नेपाली।
‘एक्लै छु भनौँ भने ८० वर्षीय हजुरबुबा साथमा हुनुहुन्छ’, ७ कक्षामा पढ्दै गरेकी विपना भन्छिन्, ‘आर्थिक स्रोत भनेकै हजुरबाको वृद्ध भत्ता मात्रै हो। तीन महिनामा एकपटक दिन्छन् मासिक दुई हजारको दरले। त्यो पैसाले खानामा खर्च गर्नु कि, मलाई स्कुलमा आवश्यक पर्ने कापी, किताब किन्नु?’
दुई जनको परिवार त्यही दुई हजार वृद्ध भत्ताले धान्नुपर्ने अवस्था छ। त्यो पनि महिनैपिच्छे आए त हुन्थ्यो नि! उनलाई पनि साथीको जस्तै नयाँ लुगा लगाउन रहर हुन्छ रे। तर यो पैसाले उनलाई दैनिक गर्जो टार्नै मुस्किल हुन्छ। कसरी नयाँ लुगा लगाउने?
उनी पाँच वर्षको हुँदा आमाले दोस्रो विवाह गरिन्। बुबा मदनबहादुर पनि केही वर्षदेखि वेपत्ता छन्। अहिले उनी डाँडापारिको घाँम जस्तै भएका ८० वर्षीय हजुरबुबा आइतबहादुरसँग बस्दै आएको विपनाको छिमेकी पवित्रा नेपालीले सुनाइन्। उनलाई बुबा आमाले मात्र छाडेर गएनन्, उनले सबैभन्द नजिक मानेर धेरै नजिक मानेका भाई पनि उनलाई छाडेर संसारबाटै अस्ताए।
सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो उनको। जब बुबाआमाले साथ छाडेर गए तब उनको सपनाका लागि बाधक बन्यो गरिबी। ‘मेरो सानैदेखि सपना थियो गायिका बन्ने’, विपनाले भनिन्, ‘मलाई लगानी लाउने कोही छैन, मेरो पढाई लेखाइमा खर्च गर्ने बाजेसँग पैसा पनि छैन, कुनै दिन म ठूलो मान्छे बने भने म जस्ता टुहुरा बालबालिकाको रहर अनि चाहना पूरा गर्ने लक्ष्य छ।’
थाहाखबरलाई आफ्ना कथा सुनाउँदै गर्दा उनी निकै भावुक भइन्। घरिघरि उनका गहभरि आँशु हुन्थे। घरिघरि अनुहारमा आशाका भाव पनि झल्कन्थे। ‘म्युजिक सिकेर बाल गीत गाउने कति रहर छ’, भावुक हुँदै उनले भनिन्, ‘ तर गरिब परिवारमा जन्मनु र अभिभावकविहीन हुनु जस्तो गाह्रो त केही नहुने रहेछ।’ माण्डवी माध्यमिक विद्यालय नयाँ गाउँमा पढ्दै आउकी उनले कक्षा ३\४ मा पढ्दा देखिनै विद्यालयको अतिरिक्त कार्यक्रम सहभागी हुने उनलाई शिक्षाहरूले राम्रो गीत गाउने भन्दै हौसला दिन्थे रे।
‘सरहरूले हरेक कार्यक्रममा मलाई गीत गाउन लगाउनुहुन्छ’, उनले भनिन्, ‘मेरो गीत सुनेर स्कुलमा सबै जनाले राम्रो गाउन सक्छेस् भन्नुहुन्छ।’ गरिब परिवारमा जन्मेकी विपना निकै चलाख छिन्। व्यवहारमा फसेपछि मान्छे परिपक्क हुन्छ भन्ने एउटा उदाहरण पनि हुन्। हामीसँग कुरा गर्ने क्रममा उनी राज्यलाई धेरै प्रश्न गरिरहन्थिन्। ‘जुन बालबालिकामा नाँगो शरीर ढाक्ने कपडा किन्ने पैसा हुँदैन, भोके पेट भर्ने र ओभानो ठाउँमा सुत्ने चिन्दाले दिनरात पिरोल्छ त्यो बालिकाको ईच्छा, चाहाना र सपनाहरू कसरी पूरा हुन्छ’, ११ वर्षीया विपनाले भनिन्।
उनले पनि बाल अधिकारका कुरा धेरै सुनेकी र पढेकी छन् रे। तर त्यी अधिकारका कुराले आफूलाई नछोएको उनी बताउँछिन्। अधिकारका कुरा सुन्दा आफूलाई कथा जस्तो लाग्ने उनी बताउँछिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।