रामचन्द्रका कारण बैठक बस्न नसकेको होइन : महामन्त्री कोइराला

|

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाका कारण कांग्रेस केन्द्रीय समितिको बैठक बस्न नसकेको आरोप लगाएका छन्। कांग्रेसकै महामन्त्री शशांक कोइरालाले भने रामचन्द्र पौडेलका कारण बैठक सरेको भन्न नहुने बताए। सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै निधि र कोइरालाले यस्तो बताएका हुन्।

निधिले मुख्यगरी रामचन्द्र पौडेल कहिले युरोप जाने, कहिले भारत जाने गरेका कारण बैठक बस्न नसकेको दाबी गरे। ‘रामचन्द्र पौडेल र सिटौलाजीको कारणले केन्द्रीय समितिको बैठक नबसेको हो’, निधिले भने, ‘कहिले युरोप जानुहुन्छ कहिले भारत जानुहुन्छ।’ 

उनीहरूकै कारण बैठक बस्न नसकेको हो भने पार्टी त अनिर्णयको बन्दी हुनुहुँदैन होला नि भन्ने पत्रकारहरूको प्रश्नमा निधिले केन्द्रीय समितिको बैठक पौडेलबिनै बसायो भने फेरि शेरबहादुरजीले एकलौटी गर्‍यो भनेर भन्ने गरेको बताए। ‘बैठक नै बस्न नसक्ने त होइन। तर, एकलौटी गर्‍यो भनेर फेरि उहाँहरू नै भन्न थाल्नुहुन्छ,’ निधिले भने, ‘रामचन्द्रजी त नेता मात्रै होइन शीर्ष नेता पनि हो। सकेसम्म उहाँको उपस्थितिमै बैठक राख्दा राम्रो हुन्छ भन्ने हाम्रो पनि चाहना हो।’ 

यता, कांग्रेसकै महामन्त्री कोइरालाले भने पौडेलको विदेश भ्रमणको सेड्युल अनुसार भएको कारण त्यही कारण बैठक रोकिएको भन्न नहुने बताए। ‘उहाँको पहिलेदेखिकै भ्रमणको सेड्युल थियो होला। त्यसरी भन्नुहुँदैन। निधिजीले कुन सन्दर्भमा भन्नुभएको हो मलाई थाहा भएन,’ कोइरालाको भनाइ थियो। पार्टीमा गुटबन्दी रहेको विषयमा पनि दुई नेताले फरक/फरक अभिव्यक्ति दिए। ‘कांग्रेमा काहाँ गुटबन्दी छ?,’ निधिले भने, ‘गुट उपगुट म त देख्दिनँ।’ यता कोइरालाले भने पार्टीमा गुटबन्दी भएकै कारण पार्टीले निर्वाचनमा पराजय व्याेहोर्नु परेको बताए।

कांग्रेसको गुटबन्दी समाप्त गरेर संगठन निर्माणमा लागे मात्रै आउँदो ४ वर्षपछि पार्टीले जित हासिल गर्ने महामन्त्री कोइरालाको दाबी थियो। ‘पार्टीमा गुट छँदै छ नि तपाईंहरूलाई थाहा छ नि। गुटकै कारण नै पार्टीले पराजय भोगेको हो नि,’ कोइरालाले भन्नुभयो, ‘विमलेन्द्रजीले कुन हिसाबले भन्नुभएको हो। कांग्रेस त गुटबन्दीले नै बिगारेको हो नि। त्यही कारण मैले भनेको छु अहिले कांग्रेसको गुटबन्दी समाप्त गरौँ, त्यसपछि आउँदो ४ वर्षपछि पार्टीले जित हासिल गर्न सक्छ।’

कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिमा आफ्नो दाबी रहेको सार्वजनिक भएको विषयमा उपसभापति मीनेन्द्र रिजालले भने सभापतिको दौड अहिले असान्दर्भिक रहेको बताए। ‘पार्टी सभापति हुने सबै नेताको चाहना हुन्छ। तर, महासमिति बैठकले विधान संशोधन गर्छ र विधान संशोधनपछि नै थाहा हुन्छ। कुन निर्वाचन क्षेत्रबाट कति मतदाता आउँछन्,’ निधिको भनाइ थियो, ‘अहिले मतदाता नै टुंगो लागेको छैन भने म सभापति हुन्छु वा को हुन्छ भन्ने कुराको बहस गर्नु सान्दर्भिक हुँदैन।’

सरकार असफलतको बाटोमा हिँड्यो : गच्छदार

महामन्त्री कोइराला, पार्टीका उपसभापति निधि र संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पार्टीका केन्द्रीय नेता रिजालका छोरा पर्जन्य रिजालको विवाह भोजमा सहभागी हुन विराटनगर आएका थिए। संचारकर्मीसँग कुरा गर्दै संसदीय दलका उपनेता गच्छदारले भने सरकार असफलतको बाटोमा हिंडेको बताए।८ महिनाको दौरानमा सरकारले केही गर्न नसकेको बताउँदै गच्छदारले अबका केही दिनमा चमत्कार नभए सरकार असफल हुने दाबी गरे। 

दुईतिहाइ बहुमतको सरकारले साधारण बहुमतको सरकारले भन्दा राम्रो गर्न सक्ने भए पनि केही गर्न नसक्दा ४ वर्षपछि कांग्रेस ठूलो पार्टी बन्ने पनि उनले दाबी गरे। दुईतिहाइ बहुमतको सरकार असफल भयो भने धेरै कुरामा प्रतिकूल असर पर्ने भन्दै गच्छदारले संविधान र तीनै तहको सरकारप्रतिको मान्यता र विश्वासमा संकट आउन सक्नेतर्फ ध्यान दिनुपर्ने पनि बताए। संसदीय प्रजातन्त्र र संविधान कमजोर हुने तरिकाले अहिलेको सरकारले गतिविधि गरे कांग्रेसलाई अमान्य हुने पनि गच्छदारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.