|

पाँचथर : झापादेखि पाँचथरको फिदिम आउँदै गरेको मे १ ज २६५७ नम्बरको जीप इलामको देउमाई नगरपालिका–१, देउमीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँचथरको राँके बजारका अन्दाजी ३५ वर्षीय चन्द्रवहादुर बाग्दास छन्।

दिउँसो करिव साढे तीन बजे दुर्घटना हुँदा बाग्दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बाग्दास जीपको पछाडिपट्टि झुन्डिएका थिए। मृतकका श्रीमती मनकुमारी नेपालीले चालकले पछाडि झुन्डिन लगाएकाले दुर्घटनामा श्रीमानको मृत्यु भएको बताएकी छिन्।

जीपमा दश जना यात्रु सवार रहेको र अन्य यात्रु घाइते भएका छन्। उनीहरूलाई थप उपचारको लागि इलाम लगिएको बताइएको छ। चालक इलाम घर भएका बिपिन भुजेलले मोबाइलमा कुरा गर्दै सवारी चलाएकोले जीप दुर्घटनामा परेको घाइतेहरूले बताएका छन्। चालक भुजेलले दुर्घटना हुनुलाग्दा आफूलाई केही थाहा नभएको बताएका छन्।

जीपमा सवार अन्य ११ जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा झापा सतासीधाम नगरपालिका–१ का ५३ वर्षीय लक्ष्मीप्रसाद चेम्जोङ, विर्तामोड नगरपालिका–६ की ३६ वर्षीया रिया राजवंशी, विर्तामोड–१ कै १३ वर्षीय आवाज धिमाल, १४ वर्षीय अपिसय धिमाल, विर्तामोड–४ की ४१ वर्षीया आशा राजवंशी, १३ वर्षीय आयुष धिमाल, रहेका छन्। 

अन्य घाइतेहरूमा भद्रपुर नगरपालिका–६ की १८ वर्षीया निर्मला आर्चाय, अर्जुनधारा नगरपालिका– ११ का २४ वर्षीय युवराज पुरी, पाँचथर राँकेबजारका ३३ वर्षीय मनकुमार नेपाली र नाम वर्तन नखुलेका एक जना पुरुष घाइते भएका छन्।

उनीहरूलाई उपचारको लागी इलाम अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय  इलामका हवलदार विजय राईले जानकारी दिए। सवारी चालक प्रहरी चौकी रक्सेको नियन्त्रणमा रहेका छन्। घटनास्थल रक्से चौकीबाट तीन किलोमिटर उत्तरमा रहको छ।

पाँचथर र इलाम समाचारदाताको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.